• ३ असार २०८२, मङ्गलबार

प्रिमियर गल्फको दोस्रो दिन एमेच्योर राहुल र प्रो सुवासको अग्रता

blog

सट प्रहार गर्दै सुवास तामाङ ।

काठमाडौँ, असार ३ गते । सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको दोस्रो दिन एमेच्योर राहुल विश्वकर्मा र प्रो सुवास तामाङले संयुक्त अग्रता लिनुभएको छ ।

 पार ७२ को गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा जारी सूर्य नेपाल गल्फ टुरअन्तर्गत सिजनको अन्तिम स्पर्धामा मङ्गलबार समग्रमा दुवै जनाले १० अन्डर एक सय ३४ स्कोर राख्नुभएको छ ।

दुवैले सद्भाव आचार्यमाथि दुई स्ट्रोकको अग्रता लिनुभएको हो । राहुलले दोस्रो दिन सात अन्डर ६५ र सुवासले ६ अन्डर ६६ खेल्नुभयो । 

यस्तै नम्बर एक एमेच्योर सद्भावले आठ अन्डर ६४ खल्नुभयो । उहाँको समग्रमा आठ अन्डर एक सय ३६ स्कोर छ । सात अन्डर एक सय ३७ स्कोरसहित  निरज तामाङ चौथो स्थानमा हुनुहुन्छ ।

३६ होलको समाप्तिसँगै समग्रमा ६ ओभर एक सय ५० स्कोर कार्ड बनाउने २२ प्रो र ६ एमेच्योर थप ३६ होलको फाइनल राउन्डमा प्रवेश गरेका छन् ।

१६ लाख रुपियाँ पुरस्कार राशीको रहेको च्याम्पियनसिपको विजेताले तीन लाख, उपविजेताले एक लाख ८५ हजार र तेस्रो हुनेले एक लाख २५ हजार रुपियाँ पुरस्कार पाउने छ ।

यस्तै चौथोदेखि २२औँ स्थानमा रहने प्रोले पनि आकर्षक नगद हात पार्ने छन् । एमेच्योरको हातमा ट्रफी पर्नेछ ।