गोरखापत्र समाचारदाता
काठमाडौँ, असार ३ गते । किसानले चैते धानको उचित मूल्य नपाएको गुनासो आएपछि यस विषयमा सम्बन्धित मन्त्रालयबिच छलफल भएको छ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीबिच सोमबार यस विषयमा छलफल भएको हो । बैठकमा चैते धानको हालको अवस्था, किसानले उचित मूल्य नपाउनुका कारण, भारतबाट हाल चामल आयातको अवस्था, खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा धान, चामलको मौज्दात अवस्था, खाद्यले किसानको चैते धान खरिद गर्न सक्ने अवस्था र भण्डारण क्षमतालगायतका विषयमा छलफल भएको कृषिमन्त्रीको सचिवालयले जनाएको छ ।
हाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग पर्याप्त भण्डारण क्षमता नभएकाले यसका लागि पहल गर्ने, चामल, चिउरा र भुजिया निर्यातका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने, खाद्यमार्फत धान खरिद गर्नका लागि अर्थ मन्त्रालयसँग बजेटलगायतका विषयमा पहल गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ । बैठकमा कृषिमन्त्री रामनाथ अधिकारीले किसानले चैते धानको उचित मूल्य पाउनका सम्बन्धित निकायसँग पहल गरिने बताउनुभयो ।
यस्तै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगसमेत बसेर समस्याको समाधान गरी यस विषयमा आगामी रणनीति तय गर्नुपर्ने बताउनुभयो ।
बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्मा, वाणिज्य तथा आपूर्ति सचिव डा. रामप्रसाद घिमिरे र खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले हालको अवस्थाबारे जानकारी गराउनुभएको थियो ।
सरकारले चैते धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल दुई हजार ८६९ पैसा तोकेको छ । झापालगायत पूर्व र पश्चिमका जिल्लामा किसानले प्रतिक्विन्टल एक हजार पाँच सयदेखि एक हजार छ सय रुपियाँमा बिक्री गर्नुपर्ने अवस्था आएको बताएका छन् । हाल डेढ लाख मेट्रिक टनको हाराहारीमा किसानसँग धान बिक्रीका लागि रहेको बताइएको छ ।