• ४ असार २०८२, बुधबार

आरोही कल्याणकारी कोष स्थापना गर्दैछाैं : मन्त्री पाण्डे

blog

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे सगरमाथा दिवसको सफल आयोजना गर्न सहयोगीहरुलाई सम्मानित गर्नुहुँदै ।

काठमाडौँ, असार ३ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सरकारले आरोही कल्याणकारी कोष स्थापना गर्ने तयारी गरिरहेको जानकारी दिनुभएको छ।

७२औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस–२०८२ को सफल पार्न सहयोग गर्ने संस्थाहरूलाई सम्मान गर्न आयोजित कार्यक्रममा मन्त्री पाण्डेले उक्त कुरा बताउनुभयो । उहाँले पर्यटनसम्बन्धी नयाँ ऐन राष्ट्रिय सभामा दर्ता भइसकेको जानकारी दिनुभयो। उक्त ऐनमा हिमाल आरोहीहरूले लामो समयदेखि उठाउँदै आएको आरोही कल्याणकारी कोषको व्यवस्था गरिएको उहाँले बताउनुभयो।

मन्त्री पाण्डेले सगरमाथाको अन्तर्राष्ट्रिय पहिचान माउन्ट एभरेष्टको रूपमा भए पनि नेपालको सन्दर्भमा सगरमाथा भन्ने नाममै यसको मार्केटिङ गर्नुपर्ने धारणा राख्नुभयो।

उहाँले भारत र चीनबाट मात्र उल्लेख्य सङ्ख्यामा पर्यटक भित्र्याउन सकिने सम्भावनालाई दृष्टिगत गर्दै सरकार यस दिशामा योजनाबद्ध रूपमा अघि बढिरहेको जानकारी दिनुभयो।

कार्यक्रममा सगरमाथा दिवसको सफल आयोजना गर्न सहयोग गर्ने नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोहण सङ्घ, ठमेल पर्यटन विकास परिषद्, सगरमाथा आरोही सङ्घ र हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिलाई सम्मान गरिएको थियो।