• ४ असार २०८२, बुधबार

स्थानीय सरकारसँग नागरिकका आशा र गुनासा धेरै

blog

गुल्मीदरवार गाउँपालिकाले आगामी नीति तथा कार्यक्रमको लागि सुझाव सङ्कलन गर्दै । तस्बिर : टोपलाल अर्याल

टोपलाल अर्याल
रेसुङ्गा, असार ४ गते ।
स्थानीय सरकार जनताको नजिक छ । नागरिकले सरकार र सरकारले नागरिक बुझ्न सजिलो पनि पर्छ । त्यसैले गाउँको सिँहदरवार भनिएको हो, स्थानीय सरकारलाई । नजिककै सिंहदरवार भएकाले नागरिकका स्थानीय सरकारप्रति आशा धेरै छन् । तर सरकारसँग साधन र स्रोत कम छ । कम स्रोत र साधनले आशा पूरा नभएपछि गुनासा पनि स्थानीय सरकारसँग नागरिकले धेरै गर्ने गरेका छन् ।

गुल्मीदरवार गाउँपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रमको सन्दर्भमा आयोजना गरेको सुझाव सङ्कलनमा विभिन्न क्षेत्रमा सरोकार राख्न व्यक्ति र दलका प्रतिनिधिहरुले सुझाव राखेका छन् । शिक्षक सङ्गठन गुल्मीदरवारका अध्यक्ष डिलबहादुर थापाले विद्यार्थी र शिक्षकको अनुपात हेर्न, प्रतिभा पहिचान, सम्मान र पुरस्कार कार्यक्रम नीतिमा समावेश गर्न सुझाव दिनुभयो ।

दरबन्दी मिलान र समायोजन गर्दै यातायात व्यवस्थापन, स्थानीय पाठ्यक्रम समयमै वितरण गर्नुपर्ने लगायतका सुझाव पनि थापाले राख्नुभयो । त्यस्तै शिक्षक महासंघ गुल्मी दरवारका अध्यक्ष हरिबहादुर कार्कीले शिक्षक र शिक्षा क्षेत्रमा गरिएको लगानी बेरुजु आउनु दुःखद विषय भएकाले बेरुजुलाई भ्रष्टाचार भनेर हेर्ने प्रवृतिलाई गाउँपालिकाले निरुत्साहित गर्नुपर्ने बताउनुभयो ।

सहकारी अगुवा बिस्नु खत्रीले गाउँ खाली हुँदै गएकाले घर फर्क अभियान सञ्चालन हुनुपर्ने, स्थानीय उत्पादन बिक्रीका लागि हाट बजार, ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र स्थापना लगायतका विषयमा सुझाव राख्नु भएको थियो । जनमोर्चाका थम्मनबहादुर बस्नेतले भूमि कर घटाउन, लोडसेडिङ मुक्त गर्न, पालिकाभित्रको भाडादर कायम गर्न, सामाजिक सुरक्षा भत्ताको सदुपयोग गर्न मापासेमा र विद्यालयहरुको अनुगमन गर्न सुझाव दिनुभयो ।

गंगा आधारभूत विद्यालयका प्रध्यानाध्यापक इन्द्रबहादुर थापाले मानवविहीन विकासको औचित्य नभएकाले बसाइँसराइँका कारक शिक्षा र स्वास्थ्यमा लगानी बढाउन सुझाव दिनुभयो । आदीवासी समुदायका अगुवा शेरबहादुर सर्तुङ्गीले सामाजिक सद्भावसहितको समतामूलक समाजका लागि अभियान र सचेतना चलाउन गाउँपालिकालाई सुझाव दिनुभयो । उहाँले जनजातिको धर्मसँग जोडिएको स्थानीय मदिरा प्रतिबन्ध नगरेर प्रवर्धन गर्नुपर्नेमा जोड दिनुभयो । शिक्षक संघ गुल्मी दरवारका अध्यक्ष तेजेन्द्र खड्काले विद्यालय डिजिटल युगको महसुस गराउनुपर्नेमा सुझाव पेश गर्नुभयो । उहाँले चन्दा मागेर कार्यालय चलाउन निकै मुस्किल परेकाले कार्यक्षेत्रका उच्च मनोवल बनाएर छिर्न सक्ने वातावरणका लागि आग्रह गर्नुभयो ।

व्यवसायीक अगुजा कृष्ण खनालले टुक्रे बजेटको अन्त्य गर्न आग्रह गर्दै कर र चन्दाको मारमा परेका व्यापारीलाई घरघरमा पुग्ने झोले व्यापारले मर्का पारिरहेकाले नियन्त्रणको माग गर्नुभयो । युवा कृषक इन्द्र पुनले बाझो जग्गा राख्नेलाई कारबाही गरेर बादर र बँदेलले सताएका ठाउँमा वैकल्पिक खेती गर्न सुझाव दिनुभयो । साथै उहाँले युवा र स्थानीयलाई ठेक्कापट्टाका कामले निरुत्साहित गरेकाले स्थानीयहरु बढिभन्दा बढि सहभागी हुने गरेर योजना सञ्चालन गर्न सुझाव दिनुभयो ।

कार्यक्रममा मुख्य क्रियाशिल पार्टीका नेताहरुले पनि सुझाव दिएका थिए । गुल्मीदरवार गाउँपालिका अध्यक्ष सरोज कुमार थापाले कार्यक्रममा आएका सबै सकरात्मक सुझावलाई मनन गर्दै नीति तथा कार्यक्रम र बजेटमा समेट्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले नागरिकका चाहाना अनुसारका सबै काम गर्न साधन स्रोतको अभाव भएकाले क्षेत्रगत रुपमा सवैका आकाङ्क्षा पूरा गर्न खोजिएको बताउनुभयो ।

गाउँपालिका उपाध्यक्ष तारा थापाले सबै क्षेत्रको प्रतिनिधित्व गरेर सुझाव आएकाले आवश्यक सम्बोधन हुने बताउनुभयो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भेषराज घिमिरेले पूर्वाधार मात्रै विकास नभएकाले आर्थिक सामाजिक क्षेत्रमा नीति तथा कार्यक्रमको ध्यान पुग्ने बताउनुभयो । उहाँले सबैको सुझाव रचनात्मक भएकाले बजेटको सिमाभित्र रहेर समावेश गर्ने बताउनुभयो ।