• ४ असार २०८२, बुधबार

गुरिल्ला दौडमा मनकुमार र प्रिया च्याम्पियन

blog

छैटौँ संयुक्त गुरिल्ला दौडमा प्रथम स्थान हासिल गर्ने पुरुषतर्फ मनकुमार ।

जयमान बुढामगर

रुकुमपूर्व, असार ४ गते । प्रकृति पूजक मगर समुदायको मुख्य पर्व ‘भूमे’को अवसर पारी रोल्पाको थबाङ गाउँपालिका र रुकुमपूर्वको भूमे गाउँपालिकाले संयुक्त रूपले आयोजना गरिएको छ । छैटौँ गुरिल्ला ट्रेल म्याराथन दौड प्रतियोगिताको पुरुष तर्फ थबाङ-१ का मनकुमार रोका मगर च्याम्पियन अर्थात प्रथम स्थान हासिल गर्नुभएको हो । 

मङ्गलबार दौड गरिएकोमा स्थान हासिल गर्नेलाई बुधबार पुरस्कार वितरण गरिएको हो । भूमे–६ महतबाट सुरु गरिएको ५५ किलोमिटर गुरिल्ला दौड प्रतियोगिताको पुरुषतर्फ रोकामगरले ७ घण्टा ५९ मिनेटमा उक्त दूरी पार गर्दै च्याम्पियन हुनुभएको हो । 

यसैगरी सोलुखुम्बुका किरण कुलुङ राईले निर्धारित गरिएको दूरीलाई ८ घण्टा २२ मिनेटमा पार गरी दोस्रो हुनु भएको छ । भने भूमे–३ क्याङ्सीका शक्तिराम रोकामगरले ८ घण्टा २२ मिनेट १५ सेकेन्डमा दूरी पार गर्दै तेस्रो हुनुभएको छ । चौथोमा थबाङ–२ का शिरिस रोका, पाँचौँमा भूमे–६ महतका रामकुमार बुढामगर, छैँटौँमा सिस्ने–४ का पञ्चराम बुढा, सातौँमा रुकुम पश्चिमका दुर्गाराज बुढा, आठौँमा भूमे–१ लुगुमका हिकामन पुन, नऔँमा भूमे–१ कै जानकुमार पुन र सोही वडाकै माइकल पुन दसौँ स्थान हासिल गर्नु भएको छ । 

यसैगरी महिला तर्फ भूमे गाउँपालिका–२ का प्रिया पुनमगर प्रथम हुनु भएको छ । पुनले निर्धारित गरिएको दूरीलाई १३ घण्टा २४ मिनेट पार गरी प्रथम हुनु भएको हो । यस्तै बाग्लुङका यमुना घर्तीमगरले १३ घण्टा ५७ मिनेटमा निर्धारित दूरी पार गरी दोस्रो हुँदा कमला बुढामगरले १४ घण्टा ५२ मिनेटमा दूरी पार गरी तेस्रो स्थान हासिल गर्नुभएको छ भने सृष्टि रोकामगरले १५ घण्टा २३ मिनेटमा निर्धारित दूरीलाई पारी चौथो हुनुभएको छ । 

५५ किलोमिटर दूरीको दौड प्रतियोगितमा पुरुष २४ र महिला ४ गरी २८ जनाको प्रतिस्पर्धी रहेको थियो । ५५ किलोमिटर दूरीमा भएको दौड भूमे–६ महत–नइमाक्याङ–लाबा–हुलबाङ–थोरबाङ–गलचोल–घमचिन–चिल्गा–जलजला–सालबछिडा–थरपु–तेलखोलापुल–जन्तरे–गुराँसे–धाप्का–पोरपोछिडा–झुरबाख हुँदै थबाङ सम्मको दूरी निर्धारित गरिएको थियो । 

पुरुष र महिलाको एउटै रुढ, उही दूरी र समान पुरस्कार राशी रहेको दौडमा स्थान हासिल गर्ने खेडालीलाई प्रथम, दोस्रो, तेस्रो र सान्त्वना हुनेलाई समान क्रमशः नगद ७० हजार, ४५ हजार, २५ हजार, १५ हजार र ५ हजार रुपियाँ सहित कप, मेडल, प्रमाण पत्र प्रदान गरिएको भूमे गाउँपालिकामा कार्यरत नायब सुब्बा चेतन बुढामगरले जानकारी दिनुभयो । भने छैटौँ देखि दशौँ स्थान सम्म हासिल गर्ने महिला-पुरुषलाई नै नगद ५-५ हजारको साथमा मेडल, प्रमाण पत्र प्रदान गरिएको बुढामगरले बताउनुभयो । रुकुमपूर्व र रोल्पा जिल्लालाई समेटेर जनयुद्धका गुरिल्ला हिँडेको बाटोमा धावकलाई दौडाइएको हो ।