• १३ साउन २०८१, आइतबार

मधेसमा परिणाम आउने क्रम जारी

blog

जनकपुर, जेठ ८ गते । स्थानीय तह निर्वाचनको अन्तिम परिणाम आउने क्रम जारी रहेको छ । मधेस प्रदेशअन्तर्गत अधिकांश स्थानीय तहको अन्तिम परिणाम आइसकेको छ । अब केही स्थानीय तहको अन्तिम परिणाम आउन बाँकी छ ।  ढल्केबर समाचारदाताका अनुसार धनुषाको हंसपुर नगरपालिकाका प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । नगरप्रमुखमा प्रदीपकु मार यादव र उपप्रमुखमा काँग्रेसकै दुर्गादेवी निर्वाचित हुनुभएको हो । 

हंसपुर नगरपालिकाका नगरप्रमुखमा निर्वाचित यादवले चार हजार ४०१ मत पाउनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का सुनीलकुमार यादवले दुई हजार ९११ मत प्राप्त गर्नुभएको छ । नगरप्रमुखको प्रतिस्पर्धामा निवर्तमान नगरप्रमुख रामज्ञान मण्डल पनि हुनुहुन्थ्यो । उहाँले लोकतान्त्रिक समाजवादी पार्टीबाट नगरप्रमुखमा उम्मेदवारी दिनुभएको थियो । निवर्तमान नगरप्रमुखले दुई हजार ८१५ मत प्राप्त गर्दै मत परिणामको तेस्रो स्थानमा हुनुहुन्छ । 

यसैगरी उपप्रमुखमा निर्वाचित नेपाली काँग्रेसकी दुर्गादेवीले चार हजार ४६५ मत ल्याउँदा उहाँको निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादीका दीपिका क्षेत्रीले दुई हजार ९०३ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । 

यसैगरी धनुषाको गणेशमान चारनाथ नगरपालिकामा मतगणनाको अन्तिम नतिजाअनुसार प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । नगरप्रमुखमा जितनारायण यादव र उपप्रमुखमा तुलसाकुमारी पाण्डे निर्वाचित हुनुभएको छ । 

गणेशमान चारनाथ नगरपालिकाका नगरप्रमुखमा निर्वाचित यादवले तीन हजार १०८ मत पाउनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी नेपालका रामचलितर यादवले दुई हजार ७६० मत प्राप्त गर्नुभएको छ । उपप्रमुखमा नेपाली काँग्रे्रेसकी उम्मेदवार पाण्डेले तीन हजार २८३ मतसहित विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी, नेपालकी उम्मेदवार गणिताकुमारी महतोले दुई हजार ४२९ मत ल्याउनु भएको छ । 

त्यस्तै धनुषाको सबैला नगरपालिकामा प्रमुख र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् । शनिबार सम्पन्न मतगणनाको अन्तिम नतिजाअनुसार नगरप्रमुखमा कारीराम यादव र उपप्रमुखमा रहिमा खातुन निर्वाचित हुनुभएको छ । प्रमुखमा निर्वाचित यादवले चार हजार २१२ मत प्राप्त गर्नुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका जगतसुन्दर साहले चार हजार ७६ मत प्राप्त गर्नुभएको छ । उपप्रमुखमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार खातुनले चार हजार ६९९ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी किरणकुमारी कापरले तीन हजार ६०४ मत प्राप्त गर्नुभएको छ । 

जलेश्वर समाचारदाताका अनुसार महोत्तरीको पुरानो तथा चर्चित बजार गौशाला नगरपालिकामा प्रमुख र उपप्रमुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार निर्वाचित भएका छन् । प्रमुखमा जसपा नेपालका दीपेन्द्र महतो र उपप्रमुखमा जसपा नेपालकै रेणुकुमारी महतो निर्वाचित हुनुभएको छ । मतगणना परिणामअनुसार प्रमुखमा महतो आठ हजार ७९९ मत ल्याएर निर्वाचित हुनुभएको छ । निर्वाचित महतो स्त्री तथा प्रसूति रोग विशेषज्ञ चिकित्सक हुनुहुन्छ । उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका विष्णुबहादुर योञ्जनले पाँच हजार ६२७ मत प्राप्त गर्नुभएको छ । 

उपप्रमुखमा महतो आठ हजार ४५५ मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का जनकदुलारी साहले पाँच हजार ४९० मत प्राप्त गरेको निर्वाचन अधिकृत मदनप्रसाद जयसवालले जानकारी दिनुभयो । १२ वटा वडा रहेको गौशाला नगरपालिकाको वडामा मिश्रित परिणाम आएको छ । वडा नम्बर १ मा जसपा नेपालका नविनकुमार साह, वडा नम्बर २ मा जसपा नेपालका श्यामसुन्दर मण्डल, वडा नम्बर ३ मा नेपाली काँग्रेसका विरेन्द्र चौधरी, वडा नम्बर ४ मा नेपाली काँग्रेसका रामनारायण महासेठ, वडा नम्बर ५ मा जसपा नेपालका ओमप्रकाश गुप्ता, वडा नम्बर ६ मा नेपाली काँग्रेसका रामस्वार्थ यादव, वडा नम्बर ७ मा जसपा नेपालका मनोज चौधरी, वडा नम्बर ८ मा नेपाल कम्युनिस्ट पार्टीका भोजबहादुर दर्लामी, वडा नम्बर ९ मा जसपा नेपालका बद्रीप्रसाद दनुवार, वडा नम्बर १० मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका विष्णुकुमार महतो, वडा नम्बर ११ मा जसपा नेपालका रामपृति महतो कोइरी, र वडा नम्बर १२ मा जसपा नेपालका कुशेश्वर सिंह विजयी हुनुभएको छ । 

लहान समाचारदाताका अनुसार सिरहाका १७ वटा स्थानीय तहमध्ये १६ वटाको परिणाम बाहिर आउँदा नेकपा (एमाले) आठवटा स्थानीय तहमा जित हासिल गरेको छ । २०७४ सालको निर्वाचनमा १७ मध्ये छवटा पालिका जितेर सबैभन्दा ठूलो दल नेकपा (माओवादी केन्द्र) बनेको थियो । माओवादी केन्द्रले जितेको कर्जन्हा, धनगडीमाई नेकपा (एमाले)ले जित हासिल गरिसकेको छ । अर्नमा गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) लाई पराजित गरेर जनता समाजवादी पार्टीले जित हासिल गरेको छ । मिर्चैया नगरपालिकामा नेकपा (माओवादी केन्द्र)ले फेरि जितेको छ । गोलबजार नगरपालिकामा मतगणना जारी छ । त्यहाँ नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच कडा प्रतिस्पर्धा भइरहेको छ । 

यसअघि नेपाली काँग्रेसले जितेको कल्याणपुर नगरपालिका र नवराजपुर नगरपालिका यस पटक गुमाएको छ । लहान नगरपालिका र लक्ष्मीपुरपतारी गाउँपालिका जितेर नेपाली काँग्रेस दुई पालिका मात्र सीमित भएको छ । जनता समाजवादी पार्टीले २०७४ सालमा जितेका पाँच पालिकामध्ये यस पटक चार गाउँपालिका जितेको छ भने सदरमुकाम रहेको सिरहा नगरपालिका नेकपा (एमाले)ले जितेको छ । नेकपा (एमाले)को तर्फबाट कर्जन्हा, कल्याणपुर, सुखीपुर, सिरहा, धनगडीमाई नगरपालिका प्रमुखमा क्रमशः भोलाप्रसाद पोखरेल, रामपुकार साह, रामऔतार यादव, नविनकुमार यादव र भगवान्पुर, नरहा र विष्णुपुर गाउँपालिकमा क्रमशः अध्यक्षमा उग्रनारायण यादव, रामप्रमोद यादव र सत्यनारायण यादवले जितेको छ । सखुवानन्कारकटी गाउँपालिकामा नेकपा (एकीकृत समाजवादी)का तर्फबाट अध्यक्षमा केदारनाथ यादव दोस्रो कार्यकालको लागि विजयी हुनुभएको छ । 

नेपाली काँग्रेसका तर्फबाट लहान नगरपालिकामा महेशप्रसाद चौधरीले फराकिलो मतले नेकपा (एमाले)का उम्मेदवार मुनि साह सुडीलाई पराजित गर्नुभएको छ । जनता समाजवादी पार्टीको तर्फबाट नवराजपुर, औरही, अर्नमा गाउँपालिकामा अध्यक्षमा क्रमशः शिवउदगार यादव, शिवपूजन यादव र अशोककुमार यादव निर्वाचित हुनुभएको छ । सिरहाको गोलबजार नगरपालिका र बरियारपट्टी गाउँपालिकाको मतगणना जारी रहेको जिल्ला निर्वाचन अधिकृत इन्दिरा यादवले जानकारी दिनुभयो । 

सप्तरी समाचारदाताका अनुसार सप्तरीको अग्निसाइर कृष्णासवरन, तिलाठी कोइलाडी, महादेवा, विष्णुपुर गाउँपालिकाका अध्यक्ष–उपाध्यक्षद्वारा पदभार ग्रहण गर्नुभएको  छ । अग्निसाइर कृष्णासवरन गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष दिनानाथ चौधरी, उपाध्यक्ष कल्पनाकुमारी चौधरीसहितका जनप्रतिनिधिले पदभार ग्रहण गर्नुभएको हो । 

धनुषाको सबैला नगरपालिकाको प्रमुख र उपप्रमुखमा क्रमशः नेकपा माओवादी केन्द्रका उम्मेदवार कारीराम यादव र रहिमा खातुन निर्वाचित

यसैगरी सप्तरीको विष्णुपुर गाउँपालिका अध्यक्ष उमेशप्रसाद यादव, उपाध्यक्ष रेणुकुमारी यादवले पद तथा गोपनीयताको शपथग्रहण तथा पदबहाली गर्नुभएको छ । यसैबीच तिलाठी कोइलाडी गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई एक कार्यक्रमबीच प्रमाणपत्र प्रदान गरिएको छ ।

निर्वाचन अधिकृतको कार्यालय तिलाठी कोइलाडी गाउँपालिकाद्वारा आयोजित समारोहमा निर्वाचन अधिकृत स्वतन्त्र न्यौपानेले नवनिर्वाचित अध्यक्ष अरुणकुमार मण्डल, उपाध्यक्ष फूलकुमारी साहलगायत वडाध्यक्षलाई प्रमाणपत्र प्रदान गर्नुभएको छ । त्यसैगरी महादेवा गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई एक कार्यक्रमबीच प्रमाणपत्र प्रदान गरिएको छ । निर्वाचन अधिकृतको कार्यालय महादेवा गाउँपालिकाद्वारा एक समारोहबीच निर्वाचन अधिकृत शालीराम काफ्लेले नवनिर्वाचित अध्यक्ष सुनिलकुमार मण्डल, उपाध्यक्ष अर्चनाकुमारी यादवलगायत वडाध्यक्षलाई प्रमाणपत्र प्रदान गर्नुभएको छ ।

सर्लाही समाचारदाताका अनुसार जिल्लामा ११ जना निवर्तमान पालिका प्रमुख यस पटकको निर्वाचनमा पराजित हुनुभएको छ । दोस्रो कार्यकालका लागि पुनः चुनावीमा प्रतिस्पर्धामा उत्रिनुभएका छ जना निवर्तमान नगरप्रमुख र पाँच जना निवर्तमान गाउँपालिका अध्यक्ष यस पटक पराजित हुनुभएको हो । 

सदरमुकाम मलङ्गवा नगरपालिकाका निवर्तमान नगरप्रमुख निरसल साह २०७४ सालको निर्वाचनमा जसलाई हराएर नगरप्रमुख बन्नुभएको थियो अहिले उहाँसँग पराजित हुनुभएको छ । तत्कालीन समयमा नेपाली काँग्रेसका उम्मेदवार साह स्वतन्त्र उम्मेदवार नागेन्द्रप्रसाद यादवलाई हराएर नगरप्रमुख बन्नुभएको थियो । यो पटक यादवले काँग्रेसमा प्रवेश गरेर साहलाई दोब्बरभन्दा बढी मतले पराजित गर्नुभएको छ । 

काँग्रेसले यादवलाई टिकट दिएपछि निवर्तमान नगरप्रमुख साहले जनता समाजवादी पार्टी (जसपा)मा प्रवेश गरेर सोही पार्टीबाट उम्मेदवारी दिनुभएको थियो । काँग्रेसका यादवले नौ हजार ७८ मत पाउँदा साहले चार हजार ६३९ मत पाउनुभएको छ । हरिवन नगरपालिकामा निवर्तमान नगरप्रमुख गणेशप्रसाद प्रसाईंलाई यसअघि पराजित हुनुभएका रमेश बुढाथोकी (कमल)ले हराउनु भएको छ । माओवादीबाट नगरप्रमुखमा निर्वाचित बुढाथोकीले सात हजार दुई मत ल्याउँदा एमालेका प्रसाईंले छ हजार ८४९ मत प्राप्त गर्नुभयो । 

ब्रह्मपुरी गाउँपालिकामा २०७४ सालमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)का उम्मेदवार निवर्तमान गाउँपालिका अध्यक्ष विनोदकुमार साहसँग पराजित हुनुभएका तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टी (हाल नेपाली काँग्रेस)का रामपदारथ साहले यस पटक जित हासिल गर्नुभएको छ । ८० वर्षीय रामपदारथले चार हजार ६६८ मत पाएर अध्यक्षमा निर्वाचित हुँदा निवर्तमान अध्यक्ष एवं लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का विनोदकुमारले तीन हजार २७१ मत पाउनुभएको छ । 

जिल्लाको अन्य आठ पालिकाका प्रमुख नयाँ प्रतिस्पर्धीसँग पराजित हुनुभएको छ । इश्वरपुर नगरपालिकाका निवर्तमान नगरप्रमुख एमालेका मनोजकुमार देवकोटालाई काँग्रेसका मनोजकुमार आचार्यले, हरिपुर नगरपालिकाका निवर्तमान नगरप्रमुख नेकपा (एकीकृत समाजवादी)का जमिरुदिन मन्सुरलाई काँग्रेसका गोपाल पञ्जियारले, चन्द्रनगर गाउँपालिकाका निवर्तमान अध्यक्ष लोसपाका महेन्द्र महतोलाई काँग्रेसकै राजकुमार महतोले, बलरा नगरपालिकाका निवर्तमान नगरप्रमुख लोसपाका अभयकुमार सिंहलाई माओवादी केन्द्रका रामाशङ्करप्रसाद कुशवाहा र बसबरिया गाउँपालिकाका निवर्तमान अध्यक्ष काँग्रेसका रामअयोध्या यादवलाई जनता समाजवादी पार्टी (जसपा)का रामसिंहासन रायले पराजित गर्नुभएको छ । 

यस्तै कौडेना गाउँपालिकाका निवर्तमान अध्यक्ष लोसपाका रामप्रसाद राय यादव काँग्रेसका रूपेशकुमारसँग, चक्रघट्टा गाउँपालिकाका निवर्तमान अध्यक्ष माओवादी केन्द्रका विक्रम यादव जसपाका कृष्णकुमार यादवसँग र कविलासी नगरपालिकाका निवर्तमान नगरप्रमुख तत्कालीन राजपा (हाल एमालेका) कौशलकिशोर यादव नेपाली काँग्रेसका ब्रह्मदेव रायसँग पराजित हुनुभएको छ । सर्लाहीमा दोस्रो कार्यकालका लागि उम्मेदवारी दिनुभएका १६ जना पालिका प्रमुखमध्ये गोडैता नगरपालिकाका निवर्तमान नगरप्रमुख लोसपाका देवेन्द्रकुमार यादव, बागमती नगरपालिकाका निवर्तमान नगरप्रमुख माओवादीका भरतकुमार थापा, धनकौल गाउँपालिकाका निवर्तमान अध्यक्ष काँग्रेसका रामआश्रय साह र विष्णु गाउँपालिकाका निवर्तमान नगरप्रमुख काँग्रेसका जवाहारलाल यादवसहित चार जना पालिका प्रमुख भने पुनः निर्वाचित हुनुभएको छ ।  

Author

मधेस प्रदेश ब्युरो