• ७ मंसिर २०८१, शुक्रबार

ग्रामीण परिवेशका कथा

blog

लव गाउँले

 विश्व कुइकेल नेपाली कथा साहित्यमा नयाँ नाम हुन् । नाम नयाँ हुन् या पुराना तिनले गरेका कामले सबैलाई प्रभावित पार्न सक्नुपर्छ, सबैलाई मोहित बनाइरहनुपर्छ र सबैको मानसपटलमा रहिरहन सक्नुपर्छ । यति भयो भने मात्र कथा सिर्जना अब्बल भयो भन्न सकिन्छ र सर्वत्र प्रशंसनीय पनि हुन्छ । 

कथा रहरले या अरूले लेखेको जस्तो देखासिकी गर्ने र जबरजस्त लेखिने विषय हुँदै होइन । कथाको विषय छनोट, कथाको बान्की, प्रस्तुतीकरण, भाषाशैली बलियो बन्न सक्यो भने मात्र एउटा राम्रो कथा बुन्न सकिन्छ । नेपाली कथा साहित्यमा विषयवस्तुको बुनोटभन्दा कुइकेलको प्रस्तुतीकरण, भाषाशैली प्रभावशाली देखिएका छन् । विश्व कुइकेल आधिकारिक रूपमा विश्वामित्र कुइकेल हुनुहुन्छ । उहाँका अधिकांश कथा मौलिक तथा ग्रामीण परिवेशमा लेखिएका छन् । कथाहरू रोचक हुँदाहुँदै पनि केही कथ्य, केही शब्द कमजोर देखापरेका छन् । उहाँको आफ्नै भूमिका ‘कथाको कथामा’ उहाँले ‘भौति निको’ लेख्नुभएको छ । पाठकले यसलाई के भनेर बुझ्ने ? 

उहाँको ‘सुगन्धपुर’ कथासङ्ग्रमा ‘थाहा’, ‘त्यो रात’, ‘काकाको रेडियो’, ‘थोपा’, ‘भुलिएकी दिदी’, ‘दोधार’, ‘पाटन चुल्हो’, ‘नाता’, ‘मेजर सा’ब’, ‘थोप्पल खोला’, ‘विक्रम’, ‘रणधीर दाइ’, ‘रामसुमरिन’, ‘सेतो घोडा’, ‘कमरेड परशु’, ‘तिर्खा’, ‘सुगन्धपुर’, ‘डी कलिङ’ र ‘अनि पर्दा खस्यो’ गरी उन्नाइस वटा कथा सङ्ग्रहित छन् । कथाहरू विभिन्न पृष्ठभूमि र स्थानपरक छन् ।

उहाँको ‘थाहा’ कथा सङ्ग्रहकै उत्कृष्ट कथा मान्न सकिन्छ । वीरसिँह धामी उर्फ वीरेलाई म पात्र देखिसहँदैन । उसको बाबु रामदत्तले वीरेलाई दिने गरेको लिफ्ट पटक्कै मनपर्दैन । कथा रहस्यमयी छ । रामदत्त उसको निमित्त बाबु र आमाको निमित्त लोग्ने हो भन्ने पछि थाहा हुन्छ । जसले वीरेलाई कहिल्यै मन पराएन अन्ततः ऊ नै उसको बाउ थियो । रामदत्त जन्मजात नपुङ्सक थिए । रामदत्तको मृत्युको कारण डाक्टरले ‘डेथ ड्यू टु हार्ट स्ट्रोक’ भनेर कथाकारले लेख्नुभएको छ । साधारणतया डाक्टरले यसलाई ‘ड्यू टु कार्डियाक एरेस्ट’ लेख्ने गरेको पाइन्छ । 

‘त्यो रात’ कथा धेरै प्रयास गरेर प्रेम गर्ने तर विवाहेत्तर जीवन असन्तुष्ट रहेको एक युवा जोडीको कथा हो । कथामा लेखकले ‘कलाकन एक पाउ लेराऊ है’ भनेका छन् । यो कलाकन के हो पाठकले कसरी बुझ्ने ?

‘मेजर सा’ब’ उहाँको अर्को राम्रो कथा हो । कथामा मेजर हुँदाको फुर्तिफार्ती, केटाहरूले बुट बजार्दै गर्ने सलामको शान, ब्यारेकभित्रको हाईफाई खानपिन, गाडी, बाहिर हिँड्दा अरूले गर्ने मर्यादा र प्रशंसा, श्रीमती भएरै पनि आपूmभन्दा आधा उमेर कम युवतीसँगको रस रङ्ग कुनै उपन्यास पढ्दै सम्झँदै गर्दा जागिर छुटेपछि हवल्दारले पनि नटेर्ने पीडा र माओवादीको गोलीबाट श्रीमतीको इहलिला समाप्त भएको झट्कापछि उनी विगतबाट झसङ्ग हुन्छन् र उनी नातिलाई स्कुलबाट ल्याउनुपर्ने कुराले हत्तारिँदै उठ्छन् । 

‘अनि पर्दा खस्यो’ कथामा स्टेज कलाकारको राम्रो अभिनय देखाउने हुटहुटीमै समकक्षी कलाकारको मृत्यु पीडामा उत्तम पात्र आत्महत्या गर्न पुग्छ । उहाँका प्रायः कथामा पुरुष, पुरुषजस्तो नभएर हतोत्साही, निरीह र कमजोर पात्रको रूपमा देखापरेका छन् । यो कथामा लेखकले बिरुवामा लाग्ने कीरा मार्ने औषधिलाई ‘बिरुवा मार्ने औषधि’ लेख्नुभएको छ । कथामा बेप्रसङ्गका उपकथाहरू आइरहन्छन् ।

घान्द्रुक यात्राको ‘तीर्खा’ कथामा घान्द्रुकको प्राकृतिक सौन्दर्यभन्दा तीन पात्रको विवरण लामो लेखिएको छ । सामान्यतया अरू कथाहरूमा पात्र परिचय अनावश्यक रूपमा तन्किएको पाइन्छ । काकाको सम्पन्नताको प्रतीक पानासोनिक रेडियो हो ‘काकाको रेडियो’ कथा । रेडियोमा समाचार सुन्न गाउँलेहरू काकाको घरमा झुम्मिथे । धागोले बाँधेको चस्मा फुकालेर रेडियोमा पुरानो बेट्री हालेपछि स्याईं स्याईं गर्दै समाचार टिप्छ । करिब पचास वर्षअघिको समयमा रेडियोले हालसालैको समाचार दिनु अलि अस्वाभाविक लाग्छ । जग्गा जमिन प्रशस्त भएर पनि छोरानातिले सबै सम्पत्ति सखाप बनाइदिएपछि काकाको असोचनीय मृत्यु हुन पुग्छ । ‘थोपा’ कथामा भान्छामा पहिले पहिले प्रयोगमा ल्याउने सामान र आधुनिक सामानहरूको संयोजनलाई उहाँले रिग्सको प्रिजम्याटिक सिद्धान्तसँग तुलना गर्नुभएको छ । फ्रेड डब्लु रिग्सको यो सिद्धान्त समाजको सन्दर्भमा पूरातन र नूतन मूल्य तथा व्यवहार एउटै सङ्गठनमा सहअस्तित्वको रूपमा रहिरहन्छ भन्ने हो । यसको विशेषता भनेको विषमता, औपचारिकता र अतिव्यापित अर्थात् मिल्दाजुल्दा हुन्छन् भन्ने हो । भान्छाकै विवरणमा लेखकले भित्तामा पिर्का झुन्डिएको लेख्नुभएको छ जुन पढ्दा आश्चर्य लाग्छ । 

गौँथली गाउँलाई ‘सुगन्धपुर’ नाम दिइएको कथामा चतुरे र धनजिते अश्लील सिनेमा हेर्न पुग्छन् । सिनेमाबाट फर्केपछि चतुरेको मनमा छिटै धन कमाउने बाटो यही हो जस्तो लाग्छ । दुवैजना मिलेर यस्तो सिनेमा गाउँ भित्र्याएपछि उनीहरूको आफ्नै परिवार, सम्पूूर्ण गाउँ र चेलिबेटीहरूमा विकृति देखापर्छ । सम्पूर्ण गाउँलेवासीहरू आफ्ना श्रीसम्पत्ति बेचेर पालुबारी गाउँ पलायन हुन्छन् । 

कथा प्रस्तुतीकरण, भाषाशैली, कथा बुनोटको दृष्टिकोणले कथाकारको कथा भविष्य उज्ज्वल देखिन्छ । उहाँका सबै कथाले गाउँ, स्थानीय भाषा, प्राकृतिक सौन्दर्य बोलेका छन् । नारी पीडा, उत्पीडन, नारी यौन भोक मुख्य रूपमा अगाडि आएका छन् । उहाँका अधिकांश कथामा कतै लुकेर कतै छर्लङ्ग भएर यौन पोखिएका छन् । प्रकाशक फिनिक्स बुकले नेपाली आख्यानमा पाठकहरूका लागि अब्बल कथाकृति हो भनेर दावा गरेजस्तो छैन ‘सुगन्धपुर’ । कथानकमा श्रव्य र दृश्य सँगै मिलेर आउँछन् तर उहाँको प्रायः कथामा त्यस्तो छैन । धेरै ठाउँमा दुवैलाई एकैपल्ट बुझ्न दोहो¥याएर पढ्नुपर्ने देखिन्छ । कथाकारको यो पहिलो सङग्रहलाई माया गर्न सकिन्छ र पठनीय छ पनि भन्न सकिन्छ ।