• १३ साउन २०८१, आइतबार

बझाङका स्थानीय तहका प्रमुख तथा अध्यक्षले लिए पद तथा गोपनीयताको शपथ

blog

जिल्लाको १२ वटा स्थानीय तहका प्रमुख तथा अध्यक्षलाई पद तथा गोपनीयताको शपथ खुवाइँदै ।

शैलेन्द्र रोकाया
बझाङ, जेठ ४ गते ।
बझाङ जिल्लाको १२ वटा स्थानीय तहका नवनिर्वाचित प्रमुख तथा अध्यक्षहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराइएको छ । शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालय बझाङमा जिल्ला न्यायाधीश विष्णुप्रसाद अवस्थीले नवनिर्वाचित पालिकाका प्रमुख तथा अध्यक्षहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को  दफा ९ अनुसूची २ अनुसार पालिकाका प्रमुख तथा अध्यक्षहरुलाई शपथ गराउनुभएको हो । वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा निर्वाचित भएको जिल्लाको दुईवटा नगरपालिका र १० वटा गाउँपालिका प्रमुखहरुले जिल्लामा शपथ लिएपछि स्थानीय तहमा वडा अध्यक्ष तथा सदस्यहरुलाई शपथ सुनाउनुपर्ने हुन्छ । आजैदेखि नवनिर्वाचित स्थानीय तहका पदाधिकारीको कार्य सुरु भएको छ ।

जिल्लाको १२ वटा पालिकामध्ये दुई वटा नगरपालिका र ४ वटा गाउँपालिकामा नेपाली काँग्रेस र ३ वटा गाउँपालिकामा नेकपा एमालेले विजय हासिल गरेको थियो । त्यस्तै, दुईवटा गाउँपालिकामा नेकपा माओवादी केन्द्र र एउटा गाउँपालिकामा समाजवादी पार्टीले विजय हासिल गरेको थियो ।

जिल्लामा ३ दलीय गठबन्धन गरी निर्वाचनमा होमिएका भए पनि साईपाल गाउँपालिका, थलारा गाउँपालिका र तल्कोट गाउँपालिकामा भने नेकपा एमालेले जितेको छ । गठबन्धनभित्र भएको आन्तरिक विवादको फाइदा निर्वाचनमा भने नेकपा एमालेले लिएको बताइएको छ । गठबन्धन बनाई निर्वाचनमा होमिएको नेपाली काँग्रेससहित नेकपा माओवादी केन्द्र र  नेकपा एकीकृत समाजवादी पार्टीले जिल्लाभरि गठबन्धन बनाएर निर्वाचनमा होमिएका थिए ।