• १३ साउन २०८१, आइतबार

काभ्रेका दश वटै स्थानीय तहको प्रमुखमा गठबन्धनका उम्मेदवार विजयी

blog

केदार तिमल्सिना
बनेपा, जेठ ६ गते ।
स्थानीय तह निर्वाचनअन्तर्गत १३ वटा स्थानीय तह रहेको काभ्रेपलाञ्चोकमा हालसम्म दश वटा स्थानीय तहको मतगणनाको अन्तिम नतिजा सार्वजनिक भएको छ ।

जिल्लाको दश वटै स्थानीय तहको प्रमुख पदमा गठबन्धनमा रहेका दल र दुई वटा नगरपालिकामा एमालेका उम्मेदवार उपप्रमुखमा सीमित भएका छन् ।

हालसम्म जिल्लाको बनेपा नगरपालिका, पनौती नगरपालिका, नमोबुद्ध नगरपालिका, मण्डनदेउपुर नगरपालिका, भुम्लु गाउँपालिका, चौरीदेउराली गाउँपालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ ।

यसैगरी, जिल्लाको तेमाल, रोशी, खानीखोला र बेथानचोक गाउँपालिकाको मतगणनको नतिजा सार्वजनिक भएको हो । नतिजा अनुसार दश वटै प्रमुख÷अध्यक्ष पदमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् भने आठ वटा स्थानीय तहमा उपप्रमुख÷उपाध्यक्ष पदमा विजयी भएका छन् । जिल्लाको बनेपा नगरपालिका र पनौती नगरपालिकामा एमालेका उपप्रमुखका उम्मेदवार विजयी भएका हुन् ।

नतिजा अनुसार जिल्लाको पनौती नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका रामशरण भण्डारी विजयी हुनुभएको छ ।

यसैगरी उपप्रमुखमा एमालेकी गीता बञ्जारा विजयी हुनुभएको छ । उहाँ दोस्रो कार्यकालका लागि पुनः निर्वाचित हुनुभएको हो ।

जिल्लाको बेथानचोक गाउँपालिकाको अध्यक्षमा काँग्रेसका भगवान अधिकारी, उपाध्यक्षमा तारा राना तिमल्सिना, रोशी गाउँपालिकाको अध्यक्षमा काँग्रेसका दिनेश लामा, उपाध्यक्षमा माओवादी केन्द्रका मिमबहादुर वाइबा विजयी हुनुभएको छ ।

जिल्लाको बनेपा नगरपालिकाको नगरप्रमुख पदमा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका शान्तिरत्न शाक्य निर्वाचित हुनुभएको छ । बनेपाको उपप्रमुखमा एमालेकी विमला दाहाल सापकोटा विजयी हुनुभएको हो ।

यसैगरी, जिल्लाको नमोबुद्ध नगरपालिकाको नगर प्रमुखमा नेपाली काँग्रेसका कुन्साङ लामा विजयी हुनुभएको छ । नमोबुद्धको उपप्रमुख पदमा माओवादी केन्द्रका रत्नबहादुर लामा विजयी हुनुभएको छ । त्यस्तै, जिल्लाको चौंरीदेउराली गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रकी रेणुका चौलागाँई विजयी हुनुभएको हो ।

गाउँपालिकाको उपाध्यक्षमा नेपाली काँग्रेसका शेरबहादुर लामा विजयी हुनुभएको छ । जिल्लाको मण्डनदेउपुर नगरपालिकाको नगर प्रमुखमा नेकपा एकीकृत समाजवादीका टोकबहादुर वाइवा निर्वाचित हुनुभएको छ । उहाँ दोस्रो कार्यकालका लागि पुनः निर्वाचित हुनुभएको हो ।

नगरपालिकाको उपप्रमुख पदमा काँग्रेसका विष्णुमणी नेपाल विजयी हुनुभएको छ । जिल्लाको तेमाल गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका चन्द्रबहादुर लामा विजयी हुनुभएको छ । गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रका दलमान थोक्कर विजयी हुनुभएको छ ।

यसैगरी, जिल्लाको खानीखोला गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका इन्द्रबहादुर थिङ, उपाध्यक्षमा नेपाली काँग्रेसका दोर्जेमान जिम्बा, भुम्लु गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका प्रेमबहादुर भुजेल तथा उपाध्यक्षमा कांग्रेसका जितेन्द्रमान तामाङ विजयी हुनुभएको छ ।

जिल्लाको महाभारत गाउँपालिका, धुलिखेल नगरपालिकाको एउटा वडाको नतिजा आउन बाँकी  छ भने पाँचखाल नगरपालिकाको हालसम्म पाँच वटा वडाको नतिजा सार्वजनिक भएको छ ।