काठमाडौँ, मङ्सिर २७ गते । उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंह बञ्चरेडाँडा ल्याण्डफिल साइट पुग्नुभएको छ । उहाँले बिहीबार स्थलगत अवलोकन गरी बञ्चरेडाँडामा देखिएको समस्याबारे जानकारी लिनुभएको छ ।
उपप्रधानमन्त्री सिंहले फोहोरमैला व्यवस्थापनमा बञ्चरेडाँडामा देखिएको समस्याबारे धेरै छलफल भएको भन्दै अब समाधानमा केन्द्रित हुनुपर्नेमा जोड दिँदै आउनुभएको छ ।
उपप्रधानमन्त्री सिंहले बारम्बार फोहोरको बारेमा प्रश्न उठेपछि स्थानीयस्तरमा फोहोरको व्यवस्थापन कसरी भइरहेको छ ? जुन मापदण्डअनुसार हुनुपर्ने हो त्यहीअनुरूप भइरहेको छ की छैन ? भन्नेबारे जानकारी लिनुभएको उपप्रधानमन्त्री सिंहको सचिवालयले जनाएको छ ।
स्थानीयले उठाएका विषयहरू के हुन् ? कसरी समाधान गर्न सकिन्छ ? त्यसबारे समन्वय गरी तदारुकताका साथ काम गर्न उहाँले आग्रह गर्नुभयो ।
त्यस्तै, उपप्रधानमन्त्री सिंहले ल्याण्डफिल साइटको आयुबारे चासो राख्नुभएको थियो । सहरी विकास मन्त्रालयका अधिकारीहरूका अनुसार वर्गीकरण नगरी फोहोर फाल्ने हो भने बञ्चरेडाँडा ल्याण्डफिल साइट २० वर्षमै भरिनसक्छ । तर फोहोर वर्गीकरण गरेर मात्रै फाल्ने हो भने ल्याण्डफिल साइटको आयु ४० वर्षसम्म बनाउन सकिन्छ । फोहोर व्यवस्थापन वैज्ञानिक नभएको, जनस्वास्थ्यमा प्रतिकुल असर पर्ने गरी दुर्गन्ध फैलाइएको भन्दै बञ्चरेडाँडाका स्थानीयहरूले ध्यानाकर्षण गराउँदै आएका छन् ।
फोहोर मैला व्यवस्थापन उच्चस्तरीय समितिको संयोजनको जिम्मेवारी सहरी विकास मन्त्रालयअन्तर्गत रहेकाले सहरी विकास मन्त्रीका रूपमा सिंहले बञ्चरेडाँडामा देखिएको समस्या समाधान र स्थानीयले उठाएको विषयलाई चासो दिइरहनुभएको छ ।
गत मङ्सिर ९ गते बसेको समितिको बैठकमा स्थानीय सरोकारवालाले उठाएका विषयहरू समाधान गरी फोहोरमैला व्यवस्थापन सहज बनाउनुपर्नेमा उहाँले जोड दिनुभएको थियो । उपप्रधानमन्त्री सिंहसहित विज्ञ र बञ्चरेडाँडासँग सरोकार राख्ने मन्त्रालयको टोली सहभागी थियो ।