• १६ चैत २०८२, सोमबार

पूर्वमन्त्री खड्का सात दिन हिरासतमा

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, चैत १६ गते । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले आइतबार पक्राउ गरेका पूर्वऊर्जामन्त्री तथा नेपाली कांग्रेसका नेता दीपक खड्काविरुद्ध सम्पत्ति शुद्धीकरण अभियोगमा अनुसन्धान सुरु भएको छ । 

गत भदौ २३ र २४ को जेनजी आन्दोलनका क्रममा काठमाडौँको बुढानीलकण्ठस्थित खड्का निवासमा ठुलो मात्रामा रकम फेला परेको थियो । उक्त घटनाबारे सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान गरिरहेको थियो । 

सिआइबीका प्रवक्ता शिवकुमार श्रेष्ठले खड्कालाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको आग्रहमा पक्राउ गरी बुझाइएको बताउनुभयो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका प्रवक्ता जितेन्द्र अधिकारीले खड्काबारे सम्पत्ति शुद्धीकरण निवारण ऐन अन्तर्गत आवश्यक अनुसन्धान भइरहेको बताउनुभयो ।

सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ मा गैरकानुनी रूपमा प्राप्त सम्पत्तिलाई शुद्धीकरण गर्ने कार्यलाई रोक्ने, आतङ्ककारी क्रियाकलापमा हुने वित्तीय लगानीलाई नियन्त्रण गर्ने, अपराधबाट प्राप्त सम्पत्ति जफत गर्ने र अपराधीलाई सजाय दिने व्यवस्था छ ।

उक्त कसुर गर्ने व्यक्तिलाई बिगो जफत गरी बिगोको दोब्बरसम्म जरिबाना र कसुरको प्रकृति अनुसार कैद सजाय हुने व्यवस्था छ ।