• १६ चैत २०८२, सोमबार

भीरकोटमा ‘विद्यार्थीका लागि बिमा’

blog

विद्यार्थीका लागि बिीमा कार्यक्रममा विद्यार्थी, शिक्षक र जनप्रतिनिधि । तस्बिर : अर्जुन काफ्ले

अर्जुन काफ्ले
स्याङ्जा, चैत १६ गते ।
स्याङ्जाको पहिलो बालमैत्री स्थानीय तह भीरकोट नगरपालिकाले विद्यार्थीका लागि बिमा कार्यक्रम लागू गर्ने भएको छ । विद्यार्थीलाई बिमा कार्यक्रम पहिलो पटक वडा नं –८ बाट सुरू हुन लागेको हो ।

वडा अध्यक्ष नन्दलाल खनालले आगामी शैक्षिकसत्र २०८३ देखि वडा भित्रका सम्पूर्ण विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य बिमा गर्न लागेको बताउनुभयो ।

वडा नं –८ का सबै विद्यालयका विद्यार्थी र वडामा स्थायी ठेगाना भएका सबै विद्यार्थीहरूले  बिमा सुविधा प्राप्त गर्ने छन् ।

वडामा बालमैत्री वातावरण सिर्जना गर्न हामीले ‘विद्यार्थीका लागि बिमा’ कार्यक्रम सुरू गर्न लागेका खनालले बताउनुभयो । दुर्घटना वा बिरामी हुँदा बालबालिकाहरूले सहज रूपमा उपचार सेवा प्राप्त गरून् भन्ने उद्देश्यले कार्यक्रम अगाडि सारेका उहाँको भनाइ थियो ।

वडा अध्यक्ष खनालले शैक्षिक गुणस्तर वृद्धि र बालमैत्री वातावरण सृजना गर्न चालु आर्थिक वर्ष २०८२/८३ मा वडाले पाँच लाख रुपियाँ विनियोजन गरेको बताउनुभयो ।

शिखर इन्स्योरेन्ससँगको सहकार्यमा वडाले बिमा कार्यक्रम सम्झौता गरेको हो । बिमा सुविधा प्राप्त गरेका विद्यार्थीहरूले शिखर इन्स्योरेन्सले तोकेको स्वास्थ्य संस्थामा एक लाख सम्मको उपचार खर्च प्राप्त गर्ने छन् ।

यस्तै तोकिएको स्वास्थ्य संस्थामा उपचार नगरी अन्य अस्पतालमा गरेमा बिलमार्फत रक भुक्तानी इन्स्योरेन्स कम्पनीले गर्ने खनालले बताउनुभयो ।

नगर प्रमुख गोविन्दकुमार कर्माचार्यले विद्यार्थीको बिमा कार्यक्रम पश्चात विद्यार्थीको  स्वास्थ्यसम्बन्धी हक सुनिश्चित गर्ने बताउनुभयो ।

कार्यक्रम बालमैत्री भएकाले आगामी आर्थिक वर्षमा नगर भित्रका नौ वटै वडामा विस्तार गर्न प्रयास गरिने उहाँले बताउनुभयो । उहाँले विद्यार्थीहरूलाई आज्ञाकारी र अनुशासित भएर पढ्न र पढाइलाई पहिलो प्राथमिकतामा राख्न अनुरोध गर्नुभएको थियो । 

यहाँको यस वडाले २०८३ वैशाखदेखि छ सय विद्यार्थीको स्वास्थ्य बिमा गर्ने तयारी गरेको हो । विद्यार्थीको बिमाका लागि १५० रुपियाँ वडाले शिखर इन्स्योरेन्सलाई बुझाउने छ भने बीमित विद्यार्थीले एक लाख सम्मको उपचार पाउने छन् । यस्तै बीमित विद्यार्थी सम्झौता भएको समयबाट एक वर्षसम्म मृत्यु भएमा एक लाख पाउने छन् ।