• १३ साउन २०८१, आइतबार

निर्वाचन परिणाम अन्तिम चरणमा : गठबन्धनका उम्मेदवारको अग्रता

blog

नुवाकोटमा स्थानीय तहमा निर्वाचित अध्यक्षलाई शपथ गराइँदै ।

हेटौँडा, जेठ ६ गते । गत वैशाख ३० गते भएको स्थानीय तह सदस्य निर्वाचनको मत परिणाम सार्वजनिक हुने क्रम अन्तिम चरणमा पुगेको छ । बागमती प्रदेशका स्थानीय तहको सार्वजनिक भएको मत परिणामअनुसार सत्ता गठबन्धनका उम्मेदवारले निर्वाचन परिणाममा अग्रता लिएका छन् । मत परिणाम सार्वजनिक भएसँगै कतिपय स्थानीय तहका प्रमुखलाई जिल्ला न्यायाधीशबाट शपथ ग्रहण गराउने क्रम सुरु भएको छ । पालिकाका अध्यक्ष वा प्रमुखले शपथ लिएपछि पालिकाका अध्यक्ष वा प्रमुखले उपाध्यक्ष वा उपप्रमुख, वडाध्यक्ष र सदस्यलाई शपथ ग्रहण गराउने व्यवस्था रहेको छ ।

सात स्थानीय तहको मत परिणाम सार्वजनिक 

रामेछाप समाचारदाता नवराज श्रेष्ठका अनुसार जिल्लाको आठ स्थानीय तहमध्ये सात स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ । अहिलेसम्मको नतिजाअनुसार एक नगरपालिकाको प्रमुख र उपप्रमुखसहित दुई गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र एक गाउँपालिका अध्यक्ष र दुई पालिकाको उपाध्यक्षमा नेपाली काँग्रेसले जितेको छ । त्यसैगरी नेकपा एमालेले एक पालिकाको प्रमुख र उपप्रमुख, एक गाउँपालिका अध्यक्ष र दुई गाउँपालिकाको उपाध्यक्ष जितेको छ । नेकपा माओवादी केन्द्रले एक गाउँपालिका अध्यक्ष र उपाध्यक्ष जित्दा एउटा गाउँपालिका प्रमुख पनि जितेको छ ।  

यसैबीच मन्थली नगरपालिकाको प्रमुखमा एमालेका लब श्रेष्ठ विजयी हुनुभएको छ । काँग्रेसका विनोद कार्कीलाई पराजित गर्दै विजयी श्रेष्ठले नौ हजार ७१८ मत ल्याउँदा कार्कीले नौ हजार १२२ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी नगरपालिकाको उपप्रमुखमा एमालेकी ईश्वरी बस्नेत विजयी हुनुभएको छ । बस्नेतले काँग्रेसकी यशोदा श्रेष्ठलाई पराजित गर्दा नौ हजार १६१ मत ल्याउनुभएको छ भने काँग्रेसकी उम्मेदवार श्रेष्ठले नौ हजार ५४ मत प्राप्त गर्नुभएको छ । १४ वटा वडा रहेको मन्थली नगरपालिकाको छ/छ वडाको अध्यक्ष एमाले र काँग्रेसले जितेको छ भने एक/एक वडाको अध्यक्ष माओवादी केन्द्र र एकीकृत समाजवादीले जितेको छ ।

यसैगरी दोरम्बा सैलुङ गाउँपालिका अध्यक्षमा सत्तारूढ गठबन्धनका उम्मेदवार मैनकुमार मोक्तान झिनो मतान्तरले विजयी हुनुभएको छ । मोक्तानले छ हजार २७० मत प्राप्त गर्दा प्रतिस्पर्धी एमालेका टङ्कप्रसाद चौलागाईले छ हजार १५० मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा गठबन्धनकी उम्मेदवार खमला थापामगरले छ हजार ७८१ मत प्राप्त गरी निर्वाचित हुँदा उहाँको प्रतिस्पर्धी एमालेकी मुना कँडेल (थापा)ले पाँच हजार ३१० मत प्राप्त गर्नुभएको छ । सात वडा रहेको दोरम्बासैलुङ गाउँपालिकाको दुई वडाको अध्यक्षमा एमाले, दुई वडाको अध्यक्षमा काँग्रेसले र माओवादी केन्द्रले तीन वडामा विजयी भएको छ ।

पालिका प्रमुखले लिए शपथ 

नुवाकोट समाचारदाता नमराज सुवेदीका अनुसार जिल्लाको १० वटा पालिकामा नवनिर्वाचित प्रमुख तथा अध्यक्षले पद तथा गोपनीयताको शपथ ग्रहण लिएका छन् । बिहीबार पद तथा गोपनीयताको शपथ ग्रहण गराइएको हो । जिल्लाको तारकेश्वर गाउँपालिकामा काँग्रेसका शिवप्रसाद अधिकारी, तादी गाउँपालिकामा काँग्रेसका सन्तमान तामाङ, किस्पाङ गाउँपालिकामा एमालेका वीरबल तामाङ र ककनी गाउँपालिकामा माओवादी केन्द्रका सुमन तामाङ अध्यक्षमा निर्वाचित हुनुभएको छ ।

यस्तै म्यागङ गाउँपालिकामा काँग्रेसका आशा तामाङ, दुप्चेश्वर गाउँपालिकामा माओवादी केन्द्रका शङ्करबहादुर थापा, सूर्यगढी गाउँपालिकामा काँग्रेसका सन्तबहादुर घले, शिवपुरी गाउँपालिकामा काँग्रेसकै गोविन्द थपलिया र पञ्चकन्या गाउँपालिकामा माओवादी केन्द्रका तेजबहादुर तामाङ (रमेश) अध्यक्षमा विजयी बन्नुभएको छ ।

नवनिर्वाचित अध्यक्षलाई जिल्ला अदालत नुवाकोटका न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत उमेशराज लुइँटेलले शपथ ग्रहण गराउनुभएको हो । शपथग्रहणसँगै नवनिर्वाचित अध्यक्षले कार्यभार सम्हाल्नु हुनेछ । नुवाकोटमा दुई नगरपालिका र १० गाउँपालिका गरी १२ स्थानीय तह रहेकोमा बेलकोटगढी र बिदुर नगरपालिकामा मतगणना जारी रहेको छ । दुवै नगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवार अगाडि रहेका छन् ।

मनहरीमा गठबन्धनका निर्वाचित

मकवानपुर समाचारदाता राममणि दाहालका अनुसार  मकवानपुरको मनहरी गाउँपालिकामा सत्तारूढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । मत परिणामअनुसार अध्यक्षमा नेपाली काँग्रेसका रञ्जन कालाखेती र उपाध्यक्षमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी सीता पुलामी मगर निर्वाचित हुनुभएको हो । अध्यक्षमा निर्वाचित कालाखेतीले नौ हजार ४१२ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका एकराज उप्रेतीले चार हजार ९५८ मत प्राप्त गर्नुभएको छ ।

बोलखे यसअघि २०७४ मा एमालेबाटै पालिकाको अध्यक्षमा निर्वाचित हुनुभएको थियो । उपाध्यक्षमा निर्वाचित मगरले छ हजार ५३२ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी एमालेका सुजिता थिङले पाँच हजार ४३५ मत प्राप्त गर्नुभएको छ । नौवटा वडा रहेको पालिकामा काँग्रेसले वडा नम्बर १, ३, ६, ७, ८ र ९ तथा माओवादी केन्द्रले वडा नम्बर २, ४ र ५ नम्बर वडाको वडाध्यक्ष जितेको छ ।

यसअघि थाहा नगरपालिका, बकैया, मकवानपुरगढी, राक्सिराङ र कैलाश गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । इन्द्रसरोवर गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । यस्तै भीमफेदी गाउँपालिकाको अध्यक्षमा एमालेका र उपाध्यक्षमा काँग्रेसका उम्मेदवार विजयी बन्नुभएको छ । मतगणना जारी रहेको हेटौँडा उपमहानगरपालिका र बागमती गाउँपालिकामा गठबन्धनका उम्मेदवार अगाडि रहेका छन् ।

पाँच स्थानीय तहको परिणाम सार्वजनिक 

बनेपा समाचारदाता केदार तिमल्सिनाका अनुसार काभ्रेपलाञ्चोक जिल्लाको थप पाँचवटा स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भएको छ । बिहीबार साँझसम्म बनेपा नगरपालिका, मण्डनदेउपुर नगरपालिका, नमोबुद्ध नगरपालिका, चौँरीदेउराली र तेमाल गाउँपालिकाको नतिजा सार्वजनिक भएको हो । हालसम्म जिल्लाको सात स्थानीय तहको अन्तिम परिणाम आएको छ । 

बनेपा नगरपालिकाको नगरप्रमुखमा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका शान्तिरत्न शाक्य निर्वाचित हुनुभएको छ । उपप्रमुखमा एमालेकी विमला दाहाल सापकोटा विजयी हुनुभएको हो । यसैगरी जिल्लाको नमोबुद्ध नगरपालिकाको नगरप्रमुखमा काँग्रेसका कुन्साङ लामा र उपप्रमुख पदमा माओवादी केन्द्रका रत्नबहादुर लामा विजयी हुनुभएको छ ।

यस्तै चौरीदेउराली गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रकी रेणुका चौलागाई र उपाध्यक्षमा काँग्रेसका शेरबहादुर लामा विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मण्डनदेउपुर नगरपालिकाको नगरप्रमुखमा नेकपा एकीकृत समाजवादीका टोकबहादुर वाइवा र उपप्रमुख पदमा काँग्रेसका विष्णुमणि नेपाल विजयी हुनुभएको छ । जिल्लाको तेमाल गाउँपालिकाको अध्यक्षमा काँग्रेसका चन्द्रबहादुर लामा र उपाध्यक्षमा माओवादी केन्द्रका दलमान थोक्कर निर्वाचित हुनुभएको छ । 

तीन गाउँपालिकामा गठबन्धन विजयी  

दोलखा समाचारदाता बाबुराम शर्माका अनुसार स्थानीय तह निर्वाचनको पछिल्लो मत परिणामअनुसार दोलखाका तीन गाउँपालिकामा गठबन्धनले विजय हासिल गरेको छ । नेकपा एमालेसँगको कडा प्रतिस्पर्धामा यहाँका गौरीशङ्कर गाउँपालिका, कालिञ्चोक गाउँपालिका र शैलुङ गाउँपालिकामा गठबन्धनले विजय हासिल गरेको हो ।

कालिञ्चोक गाउँपालिकामा काँग्रेसका अर्जुनप्रसाद शिवाकोटी पाँच हजार ७८६ मतका साथ अध्यक्षमा विजयी हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी नेकपा एमालेका गणेश शिवाकोटीले चार हजार ६७३ मत पाउनुभएको छ । उपाध्यक्षमा माओवादी केन्द्रका कुलबहादुर बुढाथोकीले पाँच हजार ७१८ मत ल्याउनुभयो भने प्रतिद्वन्द्वी कविता थामीले चार हजार ९७१ मत पाउनुभएको छ । 

गौरीशङ्कर गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका विश्वास कार्की चार हजार ७५१ मतका साथ विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी एमालेका जङ्ग गुरुङले तीन हजार ७५७ मत पाउनुभएको छ । उपाध्यक्षमा नेपाली काँग्रेसका श्यामसुन्दर तामाङ चार हजार ७४१ मतले विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी मुना शिवाकोटीले तीन हजार २८१ मत पाउनुभएको छ ।

त्यसैगरी सैलुङ गाउँपालिकाको अध्यक्षमा चार हजार ९१८ मतले रिमालबाबु श्रेष्ठ विजयी हुँदा उहाँका प्रतिद्वन्द्वी धनबहादुर तामाङले चार हजार ८३० मत पाउनुभएको छ । उपाध्यक्षमा एमालेकी पार्वती कार्कीले पाँच हजार १३५ मतका साथ विजयी हुँदा उहाँका प्रतिद्वन्द्वी काँग्रेसका दावादोर्जे लामाले चार हजार ७४१ मत प्राप्त गर्नुभएको छ । 

भीमेश्वर नगरपालिका र बिगु गाउँपालिकाको चारवटा वडाको मत गणना जारी रहेको छ । अहिलेसम्म काँग्रेसले दुई प्रमुख, तीन उपप्रमुख, माओवादी केन्द्रले दुई प्रमुख र एक उपप्रमुख, एमालेले दुई प्रमुख र तीन उपप्रमुख र नेकपा एकीकृत समाजवादीले एक प्रमुख पद हात पारेका छन् । 


Author

बागमती प्रदेश ब्युरो