• १० माघ २०८१, बिहिबार

समृद्धिको यात्रामा चीनको साथ

blog

प्रधानमन्त्री केपी शर्मा ओली मङ्गलबार बेइजिङस्थित देउताई स्टेट गेस्ट हाउसमा चीनका राष्ट्रपति सी चिनफिङसँग भेट गर्नुहुँदै । तस्बिर : सिन्ह्वा

काठमाडौँ, मङ्सिर १९ गते । नेपालसँग चीनले रणनीतिक विकास साझेदारका रूपमा साथै अघि बढ्न चाहेको प्रस्ट पारेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङबिच मङ्गलबार भएको उच्चस्तरीय भेटवार्तामा चीनका राष्ट्रपति सीले चीनको समृद्धिसँगै नेपाललाई अघि बढाउन चाहेको प्रस्ट पार्नु भएको हो ।

चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री ओली र चीनका राष्ट्रपति सीबिच बेइजिङस्थित देउताई स्टेट गेस्ट हाउसमा उच्चस्तरीय भेटवार्ता भएको हो । राष्ट्रपति सीले भेटवार्तामा समृद्ध नेपालको निर्माणमा चीन सदैव नेपालको साथ रहने प्रतिबद्धता जनाउनुभयो । प्रधानमन्त्री ओलीको नेतृत्वमा रहेको नेपाली प्रतिनिधिमण्डलसँग राष्ट्रपति सीसहितको चिनियाँ प्रतिनिधिमण्डलसहित वार्ता भएको थियो । उहाँहरूबिच दुई देशको छिमेकी सम्बन्ध, आपसी हित तथा विकास साझेदारीका विषयमा छलफल भयो ।

राष्ट्रपति सीले लामो समयदेखि दुई देशबिचको मित्रताको प्रवर्धन गर्न प्रधानमन्त्री ओलीको दृढ प्रतिबद्धताको प्रशंसा गर्नुभयो । राष्ट्रपति सीले भन्नुभयो, “एउटै हिमाल र नदीले जोडिएका चीन र नेपाल असल छिमेकी, असल मित्र र असल साझेदार भएकाले द्विपक्षीय सम्बन्ध स्थिर विकासका साथ सुमधुर रहेको छ ।” चीनको राष्ट्रिय सञ्चार माध्यमले दुई नेतृत्वको भेटबारे सार्वजनिक गरे अनुसार दुई छिमेकीबिच आगामी वर्ष कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वार्षिकोत्सव मनाउने क्रममा रहेको औँल्याउँदै चीनका राष्ट्रपति सीले चीनले नेपाललाई आफ्नो छिमेकी कूटनीतिमा महत्वपूर्ण स्थानमा राखेको प्रस्ट पार्नुभयो । उहाँले परम्परागत मित्रतालाई सुदृढ गर्दै चीनसँगै समृद्धिको यात्रामा नेपाललाई अगाडि बढाउन रणनीतिक साझेदारीका साथ अघि बढ्न चीन इच्छुक रहेको प्रधानमन्त्री ओलीसमक्ष धारणा राख्नुभयो । 

नवीन प्रगतिको पथमा नेपालको विकास र समृद्धिका लागि चिरस्थायी मित्रतासहितको सहयोगको रणनीतिक साझेदारीमा काम गर्न पनि उहाँले इच्छा व्यक्त गर्नुभयो । 

सौहार्दपूर्ण रूपमा सम्पन्न भेटवार्तामा नेपाल चीनबिचको द्विपक्षीय सम्बन्ध र हितका विषयमा विविध छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति सीले नेपाल र चीन पुराना तथा असल छिमेकी मित्रराष्ट्र भएको बताउनुभयो । उहाँले दुई देशबिचको सम्बन्ध आपसी सद्भाव, सम्मान र सहयोगमा आधारित रहेको पनि औँल्याउनुभयो । नेपालको विकास र समृद्धिमा चीनको दरिलो साथ र सहयोग रहने विश्वास दिलाउनुभयो । सोही भेटवार्ताका क्रममा राष्ट्रपति सीले पाँच सय मिलियन आरएमबी अर्थात् करिब नौ अर्ब नेपाली रुपियाँ अनुदान दिने घोषणा गर्नुभयो । साथै उहाँले नेपाली वस्तुहरू चिनियाँ बजारमा निर्यात गर्न थप सहजीकरण गर्ने आश्वासन दिनुभयो । चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न प्रोत्साहन गर्ने प्रतिबद्धता सीले व्यक्त गर्नुभयो ।  

राष्ट्रपति सीसँगको भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले नेपाल र चीनको सम्बन्ध पञ्चशीलको सिद्धान्तमा आधारित रहेको उल्लेख गर्नुभयो ।  उहाँले नेपाल र चीनको सम्बन्धको मूल आधार सार्वभौमिक समानता, राजनीतिक स्वतन्त्रता, आपसी समझदारी र विश्वास रहेको प्रस्ट पार्नुभयो । नेपाल चीनबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षको अवसरमा सन् २०२५ मा नेपाल भ्रमण गर्न राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सीलाई नेपाल भ्रमणका लागि आमन्त्रण गर्नुभएको मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले जानकारी दिनुभयो ।

राष्ट्रपति सीले नेपाल भ्रमणको आमन्त्रणका लागि प्रधानमन्त्री ओलीलाई धन्यवाद व्यक्त गर्दै उपयुक्त समयमा नेपाल भ्रमण गर्ने जानकारी गराउनुभयो । प्रधानमन्त्री ओलीले छोटो अवधिमा चीनले गरेको विकास र गरिबी निवारणको क्षेत्रमा हासिल गरेको सफलताको प्रशंसा 

गर्नुभयो । साथै वर्तमान सरकार समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षासहित आर्थिक विकासको रूपान्तरणमाकेन्द्रित रहेको बताउँदै प्रधानमन्त्री ओलीले आर्थिक विकासका क्षेत्रमा मित्रराष्ट्र चीनसँग थप सहयोग र साझेदारी गर्न चाहेको बताउनुभयो । 

आपसी साझेदारीमा जोड

यसै गरी प्रधानमन्त्री केपी शर्मा ओली र चीनका प्रधानमन्त्री ली छ्याङबिच दुई देशबिचको सम्बन्धलाई अझ उचाइमा लैजान आपसी सहकार्यलाई बलियो बनाउने सहमति भएको छ । प्रधानमन्त्री ओली र चीनका प्रधानमन्त्री लीबिच भएको द्विपक्षीय वार्तामा अबको सम्बन्ध विकास साझेदारीमार्फत प्रगाढ बनाउन जोड दिने सहमति भएको हो ।

द्विपक्षीय वार्ताअघि चीनका प्रधानमन्त्री लीले प्रधानमन्त्री ओलीलाई न्यानो स्वागत गर्नुभयो । ग्रेट हल अफ पिपलमा भएको दुईपक्षीय सो वार्तामा दुईपक्षीय हितका विविध विषयम घनीभूत छलफल भयो । परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालका अनुसार खास गरी सम्पर्क सञ्जाल, औद्योगिक विकास, पूर्वाधार विकास, चिकित्सकीय साझेदारी, कृषि, व्यापार, पर्यटन, लगानी प्रवर्धन, विज्ञान तथा प्रविधि, खेलकुद, विपत् व्यवस्थापन, जनसम्बन्ध, गरिबी न्यूनीकरणलगायतका क्षेत्रमा थप सहयोग आदानप्रदान गर्ने विषयमा दुई प्रधानमन्त्रीको वार्तामा गहन छलफल भएको छ । प्रधानमन्त्री ओलीले चीनका प्रधानमन्त्री लीलाई नेपाल भ्रमणका लागि निमन्त्रणा दिनुभयो । लीले अनुकूल समयमा नेपाल भ्रमण गर्ने जवाफ दिनुभयो । वार्ताअघि प्रधानमन्त्री ओलीलाई चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ सहितको सम्मान प्रदान गरेको थियो । त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले र बेइजिङको तियानमेनस्क्वायरस्थित चिनियाँ जनक्रान्तिका सहिदहरूको स्मारकमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जली प्रकट गर्नुभएको थियो । 

त्यसै गरी प्रधानमन्त्री ओलीको चिनियाँ कम्युनिस्ट पार्टीका स्थायी कमिटी अध्यक्ष झाव लेजीसँग पनि राजनीतिक भेटवार्ता भएको छ । ग्रेट हल अफ पिपल्समा भएको भेटवार्तामा दुई नेतृत्वबिच छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

कम्युनिस्ट पार्टीका नेताहरूको भ्रमण आदानप्रदानसँगै कम्युनिस्ट विचारधारालाई थप प्रबलीकरणका लागि भविष्यमा साझेदारी गर्ने विषयमा पनि उहाँहरूबिच छलफल भएको थियो । मङ्गलबार भएको सबै भेटवार्ता सौहार्दपूर्ण रहेको जानकारी दिँदै परराष्ट्र मन्त्रालयले दुई देशबिचको सम्बन्धलाई थप घनीभूत बनाउन मद्दत पुगेको प्रस्ट पारेको छ । चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली सोमबार बेइजिङ पुग्नुभएको हो । प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल यही मङ्सिर २० गते स्वदेश फर्कनुहुने छ ।

नौ सहमति र समझदारी 

नेपाल र चीनबिच द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउँदै विकास साझेदारीमा अग्रसर हुने गरी विभिन्न नौ वटा सहमतिपत्र एवं समझदारीपत्रमा हस्ताक्षर भएको छ । जसमा नगद अनुदान, विभिन्न विकास साझेदारीसहित नेपालको प्राथमिकताका क्षेत्रमा चीन सरकारले सघाउने गरी हस्ताक्षर भएको हो । 

प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक चीन भ्रमणको अवसर पारेर चीनका प्रधानमन्त्री ली छ्याङसँगको औपचारिक वार्तालगत्तै चीनको राजधानी बेइजिङमा हस्ताक्षर समारोहको आयोजना भयो । दुई प्रधानमन्त्रीको समुपस्थितिमा दुई देशबिचको आपसी सहयोग र सहकार्यमा सघाउने सहयोग आदानप्रदानपत्र (लेटर अफ एक्सचेन्ज) सहित विभिन्न नौ वटा सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । यीमध्ये सन् २०२५ देखि २०२९ सम्मको विकास योजना साझेदारीसम्बन्धी सम्झौता महत्वपूर्ण मानिएको छ । दीर्घकालीन विकासमा छिमेकीसँगको सहकार्यलाई महत्व दिँदै दुई देश अगाडि बढेका हुन् ।

नेपाल सन् २०२६ मा अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुँदै गर्दा बाह्य सहयोगका धेरै बाटा बन्द हुने अवस्था रहन्छ । त्यस्तोमा नेपालको विकास निर्माणलाई निरन्तरता दिन यस सम्झौता अन्तर्गत हुने साझेदारीले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ । त्यस्तै मुलुकलाई आर्थिक तथा प्राविधिक सहयोग अन्तर्गत नेपालले चीनसँग आवश्यक विषयमा साझेदारी गर्ने बाटो अर्को समझदारीपत्रको हस्ताक्षरले खुला पारेको छ । 

देशका नागरिकको टाउकोबाट ऋणको भार हटाउँदै अनुदानमैत्री विकासका लागि भएको नगद अनुदान सहायतासम्बन्धी समझदारी अर्को महìवपूर्ण मानिन्छ । कोभिड महामारीपछि तल झरेको आर्थिक सूचकाङ्कलाई माथि उकास्न ऋणभन्दा अनुदानमा अगाडि बढ्ने जनसुझावलाई चीनले पनि स्वीकार गरेको देखिन्छ । जस अनुसार चीन सरकारले करिब २ अर्ब ७० करोड  रुपियाँ अनुदान सहायता प्रदान गर्ने छ ।