• १० मंसिर २०८१, सोमबार

अनियन्त्रित डोपिङ

blog

प्रतिस्पर्धाका लागि खेल भावना र प्रतिभाको मृत्यु हुने गरी मेहनत, सामथ्र्य र लगनशीलतामा विश्वास नगरी अनेक हत्कण्डा अपनाउँदा त्यो कदम कहिलेकाहीँ आत्मघाती पनि हुन सक्छ । खेलमा छलकपट र कृत्रिम उपाय अपनाउनुका विविध कारण हुन सक्लान् तर मुख्यतः जित्नै पर्ने उच्च दबाब, प्रबल चाहना र महìवाकाङ्क्षाले देखाउने अनुचित मार्गले कहाँसम्म पुर्‍याउन सक्छ, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका पूर्वमहासचिव पियरे बाइस्चको शब्दमा, “डोपिङमा लाग्ने खेलाडीले आफ्ना प्रतिस्पर्धीलाई मात्र ढाँट्दैनन् आफ्नो स्वास्थ्यलाई समेत जोखिममा पार्छन् । आफ्नो ज्यान जाने अवस्थासमेत ल्याउँछन् ।”

काठमाडौँको सिनामङ्गलमा रहेको एक व्यायामशालाका प्रशिक्षक (जिम मास्टर) को जीवनमा आइपरेको विपत्ति बाइस्चको भनाइसँग मेल खान्छ । ती जिम मास्टरले सुडौल शरीर बनाउने धुनमा कुनै समय लहडमा लागेर ‘एनाबोलिक स्टोरोइड’ औषधि आफूखुसी प्रयोग गरेका थिए । नतिजा उनी बेहोर्दै छन्– ३८ वर्षको कलकलाउँदो उमेरमै उनलाई यौन उत्तेजना हुन छाडेको छ । उनका लागि त्यो तिकडम अभिशाप नै भएको भन्न सकिन्छ । 

जितको उत्कण्ठाले अग्रसर गराउने सरल मार्गले दिने नतिजामा जितसँगै मृत्युसमेत मिल्न सक्छ । काठमाडौँ हालसालै एक जना शारीरिक सुगठनका खेलाडीको मृत्यु विजेता बनेको दुई दिनमै भयो । उनको मृत्युमा पनि कथित रूपमा प्रतिबन्धित औषधिको प्रयोग र असीमित शारीरिक तनावलाई मानिएको छ । तथापि पोस्टमार्टम रिपोर्टले हृदयाघातलाई कारण बतायो र यसमा थप अनुसन्धान भएन । युवा उमेरमै र नियमित व्यायामशाला जानेलाई हृदयाघात हुनु असामान्य नै मान्न सकिन्छ । 

यस्ता दृष्टान्त धेरै छन् । नेपाली खेल क्षेत्रमा राजेन्द्र भण्डारी काण्डसँगै प्रतिबन्धित औषधिको प्रयोग प्रकाशमा आएको हो । सन् २००६ मा भण्डारी डोपिङमा पर्दा एक खालको तरङ्ग नै आएको थियो । यस्ता तिकडमलाई निरुत्साहित गर्न अनेक खालका विचार व्यक्त गरिए र पहलकदमीसमेत देखाइयो तर नेपाल ओलम्पिक कमिटीले दिएको जानकारी अनुसार एक वर्ष मात्र भयो पाँच जना नेपाली भारोत्तोलक डोपिङमा परेर दुई वर्षका लागि प्रतिबन्धित भएको । 

खेलाडीले आफ्नो क्षमता कृत्रिम रूपमा बढाउन प्रयोग गर्ने खेल क्षेत्रमा प्रतिबिन्धत औषधिको नियमन र नियन्त्रण नेपालमा छैन भनेसरह नै छ । यसको प्रयोगमा कुनै रोकटोक देखिँदैन । खेलाडीको विवेक, प्रशिक्षकको सल्लाहले काम गरे हो, होइन भने प्रतिबिन्धत औषधिको प्रयोग नियन्त्रणबाहिर देखिन्छ । उदेकलाग्दो कुरा के छ भने खेलमा प्रतिबन्धित औषधिको प्रयोग नियन्त्रण प्रहरीको क्षेत्रमै पर्दैन रहेछ । 

शरीरमा दुष्प्रभाव

नेपालमा विशेषगरी एनाबोलिक स्टेरोइड प्रयोग हुने गरेको छ । शरीरको क्षमता वृद्धि गर्न तथा मांसपेशी बढाउन प्रयोग हुने एनाबोलिक स्टेरोइडले शरीरमा अनेक खालका दुष्प्रभाव पार्दछ । आफ्नो यौन क्षमता शून्यमा झारेको गुनासो स्वयम् प्रशिक्षकले नै गरेका छन् । त्यही भएर कसैको देखासिकी वा साथीको आग्रहमा यस्ता शक्तिवद्र्धक औषधि प्रयोग नगर्न उनको सल्लाह छ । लगातारको एनाबोलिक स्टोरोइड प्रयोगले उनको यौन शक्ति नष्ट गरिदिएको छ । बजारमा छ्यापछ्याप्ती पाइने यस्ता औषधि आफूखुसी प्रयोग गर्दा शरीरमा घातक असर पर्न सक्छ । 

शहरी क्षेत्रमा सुडौल जिउ बनाउन व्यायाम गर्ने युवाको सङ्ख्या बढ्दो छ । त्यसका लागि प्रशिक्षकले जे अह्रायो त्यही गर्न पनि तयार हुन्छन् । यस्तै बाध्यताको शिकार बनेका ती प्रशिक्षक अविवाहित हुन् । उनी प्रायःलाई आफ्नो पीडा सुनाउँदै ज्यान बनाउने नाममा प्रतिबिन्धत औषधि प्रयोग नगर्न सल्लाह दिन्छन् । यस्ता औषधि प्रयोगकर्ता कतिपयमा एलर्जी र मुटु रोगको समस्या देखिएको छ ।

खेलकुद क्षेत्रमा शक्तिवद्र्धक औषधिको प्रयोग नाम, दाम र सम्मानमा केन्द्रित रहेको बुझिन्छ । काठमाडौँलगायत विभिन्न शहरमा सञ्चालित व्यायामशालामा प्रशिक्षक र प्रशिक्षार्थीले औषधि प्रयोग गरी क्षणिक लाभ त लिन्छन् तर कालान्तरमा त्यही अभिशाप भइदिन्छ । 

प्राकृतिकभन्दा तिकडमबाजी

तिकडमबाजी गरेर नाम र दाम कमाउने होडबाजीका कारण खेलाडीमा प्रतिबन्धित औषधिको प्रयोग बढ्दो छ । यस्ता औषधि मेडिकल पसलमा सहजै पाइने भएकाले मुख्य समस्या देखिएको हो । 

नेपाल व्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधानका अनुसार खेलकुदमा स्वस्थ र स्वच्छ प्रतिस्पर्धा नभई ड्रग (औषधि) हाबी हुने भएको छ । कुनै पनि प्रतिस्पर्धामा प्राकृतिक शक्ति होइन, क्षणिक र बनावटी शक्ति विजयीको आधार बन्ने अवस्था निम्तिएको उनको भनाइ छ ।  

नियामक निकायको कमजोरीसँगै स्वयम् खेलाडी सचेत नभइदिँदा मानव स्वास्थ्यलाई यी औषधिको अनियन्त्रित प्रयोगले दीर्घकालसम्म असर पर्ने देखिन्छ । जस्तै नपुंशकता, यौन उत्तेजना घट्ने, शक्तिमा ह्रास आउने, एलर्जी, दम, स्वर धोत्रो हुने, मुटु रोग (हृदयाघात) को जोखिम उच्च हुन्छ ।

“कुन औषधि कस्तो अवस्थामा खान योग्य हो वा होइन, त्यसको ‘साइड इफेक्ट’ केही मतलब छैन ।” अध्यक्ष प्रधानको भनाइमा जसरी हुन्छ प्रतिस्पर्धामा विजयी बन्नु पर्छ तथा नाम र दाम कमाउनमै सबैको ध्येय हुन्छ । 

प्रधानका अनुसार खेलाडीहरूले सहकर्मीको देखासिकी र आफूखुसी पाखुरामा सुई घोपेर, घोलेर वा चक्कीका रूपमा प्रयोग गर्दै आएका छन् । जुन खेल भावना, नियम र अन्तर्राष्ट्रिय एन्टी डोपिङ एजेन्सीको मान्यताविपरीत तथा स्वास्थ्यका लागि घातक कार्य हो । जसलाई खेल क्षेत्रले डोपिङका रूपमा बुझ्दछ । 

खेलाडीले प्रयोग गर्ने स्टेरोइड्स औषधि औषधि पसलमा सहजै पाइने गरेको छ । चिकित्सकको सिफारिसबिना पनि यस खालका औषधि गुपचुप बिक्री वितरण हुने गरेको भनाइ एक शारीरिक सुगठन खेलाडीको छ ।  

प्रहरीको क्षेत्राधिकार बाहिर

एन्टी डोपिङविज्ञ तथा वीर अस्पतालका चिकित्सकका अनुसार खेल क्षेत्रमा प्रतिबन्धित औषधिको प्रयोग लागूऔषध प्रयोग गरेसरह नै हो । सामान्य मानिसले समेत यस वर्गका औषधि चिकित्सकको सल्लाहबिना प्रयोग गर्न निषेध छ । सरकारले यस्ता औषधिमा प्रतिबन्ध लगाएको देखिँदैन । यी औषधिलाई चिकित्सकको सल्लाह अनुसार प्रयोग गरे वैध, आफूखुसी गरेमा अवैध मानिएको छ । 

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार खेलकुद क्षेत्रमा एन्टी डोपिङ कार्य प्रहरीको क्षेत्राधिकारभित्र पर्दैन । अन्तर्राष्ट्रियस्तरमा हेर्दा पनि डोपिङ कार्य प्रहरीको क्षेत्रमा पर्दैन । यसका लागि वल्र्ड एन्टी डोपिङ एजेन्सी (वाडा) जस्ता संस्था सक्रिय छन् । डोपिङमा दोषी खेलाडी जेल नजाने तर अवधि तोकेर प्रतिबन्धित चाहिँ गरिन्छन्, जितेका पदक खोसिने, आर्थिक जरिबाना गरिने कार्य पनि हुन्छ । चिकित्सकका अनुसार औषधि पसलेले चिकित्सकको सिफारिसबिना यस खालका औषधि बिक्री वितरण गर्न पाइँदैन । 

चौतर्फी मौनता

खेलाडीले प्रयोग गर्ने शक्तिवर्धक औषधि सम्बन्धमा न त औषधि व्यवस्था विभागले नियमित नियमन गरेको देखिन्छ न त नेपाल प्रहरीको अनुसन्धानभित्र नै यो विषय पर्छ । यस बारेमा सम्बन्धित खेल सङ्घ, राष्ट्रिय खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटी सबै मूकदर्शक झैँ देखिन्छन् । एक राष्ट्रिय एन्टी डोपिङ एजेन्सी (नाडा) गठन गरिएको तर यसले वाडाबाट मान्यता पाएको छैन । साथै डोपिङ नियन्त्रणका लागि कानुनी र पूर्वाधारको समस्या रहेको छ ।   

जित्नैपर्ने दबाब   

विशेष गरी एथलेटिक्स, भारोत्तोलन, शारीरिक सुगठन, मिस्टर नेपाल, बक्सिङ र कराँतेलगायतका खेलमा आबद्ध खेलाडीले प्रतिबन्धित शक्तिवद्र्धक औषधि प्रयोग गरेको पाइन्छ । बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई सिटामोल खुवाउन पनि सम्बद्ध निकायको अनुमति लिनैपर्ने हुन्छ तर नेपालमा त्यसो गरिएको पाइँदैन । खेलाडीले आफूखुसी औषधि प्रयोग गरिदिने र प्रशिक्षकलाई जानकारीसमेत नदिने देखिएको छ । उदाहरणका लागि राजेन्द्र भण्डारीले प्रतिबन्धित औषधि खाएको जानकारी आफ्ना प्रशिक्षकलाई समेत दिएनन् र डोपिङमा पर्दा उनीसँगै प्रशिक्षकसमेत कारबाहीमा परे । 

शारीरिक सुगठन प्रतियोगिता (मिस्टर काठमाडौँ) का पाँचौँ विजेताको गत असोजमा हृदयाघातका कारण मृत्यु भएको थियो । ७५ केजी तौल समूहका ती खेलाडीले कथित रूपमा प्रतिस्पर्धामा सहभागी हुनुपूर्व विभिन्न औषधि प्रयोग गर्नुका साथै मुख बार्ने गरेको भनाइ मिस्टर काठमाडौँ आयोजक पक्षको छ । 

राष्ट्रिय खेलकुद परिषद्ले एन्टी डोपिङ शाखा नै स्थापना गरेको छ तर यसको सक्रियता र प्रभावकारिता प्रश्नको घेरामै छ । साथै नेपाल ओलम्पिक कमिटीले चिकित्सक नविसमानसिंह प्रधानको नेतृत्वमा एन्टी डोपिङ ‘सबकमिसन’ समेत गठन छ । विश्व एन्टी डोपिङ एजेन्सीका अनुसार शक्तिवद्र्धक औषधि प्रयोगविरुद्ध विज्ञसहितको स्वतन्त्र कमिटी गठन गर्नुपर्ने हुन्छ तर नेपालमा भने त्यस्तो प्रयास हुन सकेको छैन ।

नेपाल ओलम्पिक कमिटीका महासचिव नीलेन्द्रराज श्रेष्ठका अनुसार नेपाली खेल क्षेत्रमा प्रतिबन्धित औषधिको प्रयोग भयावह अवस्थामा छ । यसको नियन्त्रण, निगरानी र कारबाही अत्यावश्यक भएको छ । 

सचेतनाको अभाव

वाडाले पाउडर (धुलो), चक्की,  सिरिन्ज (सुई) बाट प्रयोग हुने र सुँघ्ने तथा सेवन गर्ने करिब सयभन्दा बढी औषधिलाई डोपिङको सूचीमा राखेको छ । यस्ता औषधि प्रयोग गरे/नगरेको बारेमा जाँच गर्न पिसाब र रगत जाँच गरेर डोपिङ नेगेटिभ र पोजेटिभ रहेको पत्ता लगाइन्छ । वाडाबाट स्वीकृत संसारभर डोपिङका २३ वटा प्रयोगशाला रहेका छन् । 

यदि खेल प्रतिस्पर्धामा जानुअघि खेलाडी बिरामी भएमा ‘थेरापेटिक युज एक्जेम्सन’ (टियुई) भन्ने अनुमति लिनुपर्ने हुन्छ । सम्बन्धित निकायमा जाँचको कागज पेश गर्नु पर्छ । वाडाको नियम अनुसार कागज पेश गर्न नसकेमा पनि खेलाडी डोपिङमा पर्छन् । खेलाडीको खल्तीमा, कोठामा प्रतिबन्धित औषधि भेटिएमा समेत ‘एन्टी डोपिङ रुल भोइलेसन’ गरेको मानिन्छ । 

अन्तर्राष्ट्रिय खेलमा सहभागी हुने खेलाडीले आफू कहाँ–कहाँ जान्छु भनेर तीन महिनासम्मको जानकारी दिनु पर्छ । जाँच गर्दा भनेको ठाउँमा नभेटिए त्यसलाई समेत ‘एन्टी डोपिङ रुल भोइलेसन’ मानिएको छ ।  


–युवामञ्च