• ६ कात्तिक २०८२, बिहिबार

विद्युतको तार सर्ट भएर आगलागी हुँदा घर जलेर नष्ट

blog

सांकेतिक तस्बिर

अनिल पराजुली

हेटौँडा, कात्तिक ६ गते। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२, सुकौरामा विद्युतको तार सर्ट भएर आगलागी हुँदा घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। स्थानीय सोमलाल गोलेको ढुङ्गा माटो र ढुङ्गाको पाताले छाएको दुई तले कच्ची घरमा मङ्गलवार विद्युत सर्ट भएर आगलागी भएको हो। 

आगलागी हुँदा घर पूर्णरुपमा जलेर नष्ट भएको बागमती प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ। आगलागी हुँदा नगद दुई लाख रुपियाँ, अन्नपात, सुन दुई तोला, चाँदी चार तोला, भाँडाकुँडा, लत्ता कपडा, खाट, टेबल, कुर्सी, टि.भि., मिटर बक्स, कागजातसहित तेह्र लाख बराबरको क्षति भएको छ। 

घर पूर्ण रूपमा जलेपछि सोमलालको परिवार आफ्नै भाइको घरमा गएर बसेका छन्। आगलागीबाट मानवीय तथा चौपाया क्षति भने भएको छैन। आगो स्थानीयको सहयोगमा नियन्त्रणमा आएको प्रहरी चौकी खानिखेत मकवानपुरले जनाएको छ।