• ७ कात्तिक २०८२, शुक्रबार

गौरीघाट-गुह्येश्वरी बाग्मती किनारमा छठघाट निर्माण सुरु

blog

फाइल तस्बिर ।

काठमाडौँ, कात्तिक ७ गते । पशुपति क्षेत्रस्थित गौरीघाटबाट गु्ह्येश्वरीसम्मको बाग्मती किनारमा छठ पर्वको तयारी सुरु भएको छ । 

कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने पर्वका लागि यस क्षेत्रमा छठीघाट निर्माण सुरु गरिएको हो । गुह्येश्वरी छठ समितिले यस क्षेत्रमा करिब २०० वटा घाट निर्माण गर्न लागेको छ । 

बाँस ल्याएर छठघाट निर्माणका लागि काम धमाधम भइरहेको छ । समितिले यस क्षेत्रको नदीलाई सफा बनाउन थालेको छ । यस वर्ष कात्तिक १० गते सोमबार छठ पर्वको मुख्य दिन हो । त्यस दिन अस्ताउँदो सूर्यलाई पूजा अराधनासहित अघ्र्यदान गरिन्छ । कात्तिक ११ गते मङ्गलबार  बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ अन्त्य हुन्छ । 

गुह्येश्वरी मन्दिर अघिको बाग्मतीबाट गौरीघाटसम्मको नदी किनारमा सिँगारेर छठ घाट बनाइँदै छ । छठपर्वमा उखुको लाँक्रा र केराको घरीसहित पूजा सामग्री लिएर भक्तजन नदी किनारमा बस्छन् । रातभर नदी किनारमा हालिएको पालमुनि जाग्राम बसेर बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिइने समिति सदस्य चन्द्रकान्त यादवले बताउनुभयो । 

सोमबार बिहान स्नान गरी चोखोनितो गरेर बस्ने वर्तालुले मङ्गलबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिई छठ मनाएमा मनोकाङ्क्षा पूरा हुने, छाला एवं आँखाका रोग नलाग्ने धार्मिक विश्वास छ । रासस