गोरखापत्र समाचारदाता
ललितपुर, जेठ ३ गते । पुरुष कालो कोट, खाँडी, अल्लोको धागोबाट बुनिएका कपडाबाट निर्मित दौरासुरुवाल, टोपी, कम्बरमा पटुकामा सजिएका थिए, कसैको चमार र सिर्लिङ त कसैको हातमा सेउली थियो । भर्खरैका बालबालिकादेखि उमेरले सात दशक कटिसकेका वृद्धसमेत ढोलझ्याम्टाको तालमा ताल मिलाएर एक साथ भनिरहेका थिए, ‘सै ढोले सै ! अर्को ढोले खै !’
ललितपुरस्थित सुनाकोठीमा सोमबार दिउँसो निकै चहलपलहका साथ किरात समुदायले उँभौली पर्व मनाएका छन् । राई, लिम्बू, याक्खा, सुनुवारलगायतका जातिले आफ्नो महान् चाडका रूपमा किराती रीति र परम्पराअनुसार भूमिको पूजा गरी नाचगानका साथ उक्त चाड मनाउन सुरु गरिएको छ । उँभौली र उँधौली गरी प्रत्येक वर्ष दुई पटक मनाइने परम्पराअनुसार अहिले उँभौलीको याम हो ।
यो समयअनुसार किरात समुदायले वैशाख शुक्ल पूर्णिमाका दिनदेखि आगमी एक महिनासम्म पितृपूजा गर्नुका साथै धूमधामका साथ नाच्दै उँभौली मनाउने गर्छन् । नाच्ने क्रममा हातखुट्टाको चाल र हाउभाउको माध्यमबाट ढोल, झ्याम्टाको तालमा विभिन्न जीव, जनावर, पशुपन्छी, चराचुरुङ्गीको नक्कल, खोरिया फाँडेको, अन्नबाली लगाएको, गोडमेल गरेको, अन्नबाली काटेको, उठाएको जस्ता कृषि कार्य प्रदर्शन गर्ने गर्छन् ।
किरात राई यायोक्खा ललितपुरका पूर्वअध्यक्ष ऋषिश्वर दुमी राईका अनुसार यो बेला लगाइएको अन्नबाली सप्रियोस्, राम्रो दाना लागोस् र खाद्यान्नको अभाव नहोस् भन्ने कामना गर्दै पूर्खाहरूलाई सम्झने गरिन्छ । उभौलीका दिन प्रकृति, देवीदेवता र भूमिको पूजा गरिने पनि उहाँले जानकारी दिनुभयो । नाच्ने क्रममा कपासबाट धागो कातेको, कपडा बुनेको, सिँगारपटार गरेको जस्ता कार्यलाई पनि अभिनयको माध्यमबाट नाचमा उतारिने गरिन्छ । जसलाई ‘शिली’ भनिन्छ ।
यस अवसरमा किरातीहरूबीच आफ्ना आफन्तहरूबीच खुसी साटासाट गर्ने, भेटघाट तथा मिष्ठान्न खाने प्रचलन पनि छ भने परम्पराअनुसार आफ्ना पितापुर्खाले मानेको तीन चुलो ढुङ्गाको विधिपूर्वक पूजा गरिन्छ । आफ्नो मूलथलो रहेका खोटाङ, भोजपुर, ओखलढुङ्गा, सोलुखुम्बु, उदयपुर, सङ्खुवासभालगायतका जिल्लाका किराती बस्तीहरूमा पहिलेदेखि नै स्थापना गरी राखिएको साकेला थान, भुमेथान र त्यो नभएको ठाउँमा कटुसको हाँगा गाडी थान स्थापना गरेर भूमि र नागनागिनीको पूजा गरिने गरेको दुमी राई बताउनुहुन्छ ।
“पूजा सम्पन्न गर्न कुखुरा, सुँगुरको साथमा जाँड, रक्सी, अदुवा, केराको पात, धूप, अक्षता, पाती, सेउली, ढोल, झ्याम्टा, धनुकाँड लगायत सामग्री आवश्यक पर्छ,” उहाँले भन्नुभयो । पूजापछि थानकै वरिपरि सामूहिक रूपमा विभिन्न परम्परागत बाजा बजाएर नाच्ने गरिन्छ । पहिलो दिन पूजा स्थलमा नाची पछिका दिनमा फरक स्थानमा जम्मा भई नाचेर १५ दिनसम्म यो चाड मनाइन्छ ।
तराईतिर गर्मी बढेर माछा, पशुपन्छी, चराचुरुङ्गी, कीरा फट्याङ्ग्रासमेत उँभो चिसो लेकतिर बसाइँ सर्छ भन्ने विश्वासले वैशाख पूर्णिमालाई उँभौली र हिउँदमा जाडो बढेपछि सबै जीव जन्तु उँधो झर्छन् भन्ने मान्यताअनुसार मङ्सिरे पूर्णिमालाई उँधौलीका रूपमा मनाइने साकेला नाचिरहनुभएको सुनीता राईले जानकारी दिनुभयो ।