• ३ फागुन २०८२, आइतबार

मिर्गौला पीडितलाई आर्थिक सहयोग हस्तान्तरण

blog

मिर्गौला पीडितलाई सहयोग रकम हस्तान्तरण गर्नुहुँदै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य ।

रमेश पौडेल

पोखरा, फागुन ३ गते । पोख्रेली व्यावसायिक घराना कर्माचार्य ग्रुपद्वारा स्थापित स्व. लक्ष्मीसुन्दरी कर्माचार्यको स्मृतिमा ‘स्व. लक्ष्मीसुन्दरी कर्माचार्य मिर्गौला पीडित सहयोग कोष’ ले शनिबार मिर्गौला रोगीलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ । कास्कीको सार्दीखोला बस्ने ४९ वर्षीया मिर्गौला पीडित बुद्धिशोभा गुरुङलाई एक लाख रुपियाँ हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले मिर्गौला रोगबाट पीडित परिवारलाई यो सहयोगले केही राहत दिनुका साथै जीवनप्रति सकारात्मक हौसला बढाउने बताउनुभयो । यस प्रकारको सहयोग समाजका लागि मार्गदर्शक बन्ने उहाँको भनाइ थियो । प्रमुख आचार्यले गत वर्ष आफू आफैँ अग्नि दुर्घटनामा परेको स्मरण गर्दै पोखरामा जलन अस्पताल यसै हप्तादेखि सञ्चालनमा आउन लागेको जानकारी दिनुभयो ।

कार्यक्रममा भिरकोट नगरपालिकाका प्रमुख गोविन्द कर्माचार्यले मिर्गौला रोगीको सङ्ख्या बढ्दै जाँदा पालिकास्तरका अस्पतालमा डायलासिस मेसिनको आवश्यकता महसुस भएको बताउनुभयो । त्यस्तै मणिपाल अस्पतालका न्युरोसर्जन डा. बालगोपाल कर्माचार्यले नसर्ने रोगका कारण मृत्यु हुनेको सङ्ख्या बढ्दै गएकाले नियमित रूपमा स्वास्थ्य जाँच गर्न आग्रह गर्नुभयो ।

सोही अवसरमा उद्योगपति चन्द्रकृष्ण कर्माचार्यद्वारा लिखित ‘संसार आफ्नै : एक उद्यमीले बाँचेको समय’ नामक पुस्तकको नगरप्रमुख आचार्यलगायतले लोकार्पण गर्नुभयो । पुस्तकको समीक्षा गर्दै लेखनाथ उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष चतुराखर अधिकारीले यसले उद्योग र व्यवसायका क्षेत्रमा लाग्न प्रेरणा दिनुका साथै समाजप्रतिको जिम्मेवारी र पारिवारिक एकताको चित्रण गरेको बताउनुभयो ।

उद्योगपति एवं स्व. लक्ष्मीसुन्दरीका पति कर्माचार्यले आफ्नो सफलताको श्रेय श्रीमतीलाई दिनुहुँदै पुस्तकका बारेमा प्रकाश पार्नुभयो । स्व. लक्ष्मीसुन्दरीकी छोरी रेखा कर्माचार्यले हरेक वर्ष एक जना बिरामीलाई आर्थिक सहयोग गर्ने प्रतिबद्धता निरन्तर रहने बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वकेन्द्रीय अध्यक्ष आनन्दराज मुल्मीले राज्यले जनताको स्वास्थ्यको जिम्मेवारी लिनुपर्ने भन्दै नसर्ने रोगबारे व्यापक जनचेतना फैलाउन आवश्यक रहेको उल्लेख गर्नुभयो ।

कर्माचार्य समाज कास्कीको पाँचौँ स्थापना दिवसका अवसरमा आयोजित सो कार्यक्रममा केन्द्रीय अध्यक्ष चन्द्रेश्वर कर्माचार्य, छनोट समितिका सदस्य कल्याण कर्माचार्य, ईश्वर कर्माचार्य, पोखरा–११ का वडाध्यक्ष प्रेम कर्माचार्यलगायतले रोग लाग्नुभन्दा लाग्नै नदिनु उत्तम हुने बताउनुभयो । कर्माचार्य परिवारले ३० लाख रुपियाँको अक्षय कोष स्थापना गरी बर्सेनि सहयोग रकम हस्तान्तरण गर्दै आएको छ ।