• ६ चैत २०८२, शुक्रबार

करारमै थलिएका हात्ती सुसारे : जोखिमपूर्ण काम, भविष्य अनिश्चित

blog

२४ वर्षदेखि करारमा रहेका हात्ती सुसारे लक्ष्मण चौधरी हात्ती घुमाउँदै। तस्बिर : वसन्त पराजुली

वसन्त पराजुली
नारायणगढ, फागुन २९ गते ।
लक्ष्मण चौधरी झण्डै साढे दुई दशकदेखि हात्ती प्रजनन तथा तालिम केन्द्र, खोरसोर–सौराहामा कार्यरत हुनुहुन्छ। बिहानै उठेर हात्तीको सरसफाइ गर्ने, पानी र कुडो खुवाउने, दिउँसो चरनका लागि जंगल लैजाने र फर्कँदा घाँस बोकेर ल्याउने उहाँको नियमित दिनचर्या हो।

चितवन राष्ट्रिय निकुञ्जद्वारा सञ्चालित उक्त केन्द्रमा कार्यरत हात्ती सुसारे चौधरी सरकारी निकायमै काम गरे पनि सरकारी कर्मचारी होइनन्। उहाँ २४ वर्षदेखि करारमै कार्यरत हुनुहुन्छ।

“स्थायी हुनै पाइएन। सुरुमा दस वर्षसम्म लोकसेवा आयोगले कर्मचारी मागेन। पछि माग्दा उमेर हदबन्दी नाघिसकेको थियो,” उहाँले भन्नुभयो। निजामती सेवा ऐनअनुसार लोकसेवा आयोगले लिने परीक्षामा पुरुषका लागि ३५ र महिलाका लागि ४० वर्ष उमेर हदबन्दी छ।

“सँगै स्थायी भएका साथीहरू बीस वर्ष काम गरेर घर फर्कँदा पेन्सन पाउँछन्, तर हामी भने रित्तो हात फर्कनुपर्ने अवस्था छ,” उहाँले गुनासो गर्नुभयो।

रौतहटको लक्ष्मीपुर स्थायी घर भई हाल रत्ननगर नगरपालिका–८, लौखानीमा बसोबास गर्दै आउनुभएका लक्ष्मण २०५९ सालदेखि केन्द्रमा कार्यरत हुनुहुन्छ। कामकै क्रममा उहाँको खुट्टा भाँचिएको अनुभव पनि छ।

“चार–पाँच वर्षअघि हात्ती चराउन जंगल जाँदै थिएँ। मेरो हात्तीलाई जंगली हात्ती ‘रोनाल्डो’ले लखेट्यो। म हात्तीबाट खसेँ, खुट्टा भाँचियो। धेरै वर्ष दुख दिइरह्यो,” उहाँले भन्नुभयो, “अब उमेर पनि ढल्कँदै गयो। अरू काम गर्न सकिँदैन, यो काम पनि छाड्नुपर्ने अवस्था छ। घरमा के गरेर खाने भन्ने चिन्ता छ।”

केन्द्रमा विगत १४ वर्षदेखि कार्यरत सरोजकुमार चौधरीको अवस्था पनि उस्तै छ। सर्लाही घर भएका उहाँ हात्ती चराउने क्रममा गम्भीर दुर्घटनामा पर्नुभएको थियो।

“हात्तीको माउ बच्चासहित जंगल लगेको थिएँ। बाघ देखेर बच्चा डरायो। बचाउन खोज्दा उफ्रिएर मेरैमाथि टेक्यो। मेरो पेट फुट्यो, आन्द्रा बाहिर निस्कियो,” उहाँले पाँच वर्षअघिको घटना सुनाउनुभयो। भरतपुर अस्पतालमा शल्यक्रियापछि उपचार गरिएको थियो। २०७८ सालको उक्त घटनामा करिब दुई लाख ५० हजार रुपियाँ खर्च भएकोमा दुई लाख सरकारले बेहोरेको उहाँले बताउनुभयो।

“अहिले हात्ती चराउन सक्दिनँ। सरसफाइ र घाँस–कुडोको काम गर्दैछु। अझै करारमै छु। अशक्त भएकाले बाहिर गएर पनि केही गर्न सक्दिनँ,” उहाँले भन्नुभयो।

वन्यजन्तु संरक्षण, उद्धार तथा पर्यटनका लागि नेपालमा हात्ती पालिने गरिन्छ। निकुञ्ज तथा संरक्षण केन्द्रहरूमा एक सयभन्दा बढी हात्ती छन्, जसका लागि तीन सयभन्दा बढी सुसारे कार्यरत छन्।

केन्द्रका प्रमुख मणिपुरन चौधरीका अनुसार स्थायी कर्मचारी अभावमा करारकै भर पर्नुपर्ने बाध्यता छ।

“एउटा हात्तीका लागि माउत, फानेत र पछुवा गरी तीन जना आवश्यक पर्छन्। तर अहिले स्थायी कर्मचारी मात्रै राख्ने हो भने एक जनासमेत पुग्दैन,” उहाँले भन्नुभयो।

उहाँका अनुसार नेपालभर यी तीनै पदमा करिब ५०–५० जनाको दरबन्दी भए पनि आधाभन्दा बढी पद खाली छन्।

“स्थायी नहुने भएपछि अघिल्लो महिनामात्रै चितवनबाट ११ जनाले राजीनामा दिए। दरबन्दी पूरा हुँदा पनि पुग्दैन, करारका पनि नहुँदा झन् समस्या हुन्छ,” उहाँले भन्नुभयो।

हाल १५० भन्दा बढी हात्ती सुसारे करारमा कार्यरत छन्, जसको व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको उहाँको भनाइ छ।

“वर्षौंदेखि करारमा छन्। स्थायी गर्न सकिँदैन। छाड्दा केही ‘गोल्डेन ह्यान्डसेक’ रकम दिन सके राहत हुन्थ्यो,” उहाँले सुझाव दिनुभयो।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिस्ट तथा सूचना अधिकारी हरिभद्र खनालका अनुसार हात्ती सुसारे विशेष सीप भएका जनशक्ति भए पनि कानुनी व्यवस्था स्पष्ट छैन।

“हात्ती सुसारे श्रेणीविहीन कर्मचारी हुन्। लोकसेवा मार्फत नियुक्ति गर्नुपर्ने कानुनी व्यवस्था छ। तर विशेष सीप आवश्यक हुने भएकाले अनुभवका आधारमा नियुक्ति गर्न मिल्ने गरी ऐन संशोधन गर्न सकिए समस्या समाधान हुन सक्छ,” उहाँले भन्नुभयो।

उहाँले हात्ती सुसारेलाई विशेष जनशक्तिका रूपमा हेर्नुपर्नेमा जोड दिनुभयो। “अनुभव नै छनोटको आधार बन्नुपर्छ। आवश्यक ठाउँमा ऐन संशोधन गरेर अघि बढ्नुपर्छ,” उहाँले भन्नुभयो।