• ६ चैत २०८२, शुक्रबार

रौतहटको गढिमाइ नगरपालिकामा करदाता सेवा सुरु

blog

व्यक्तिगत स्थायी लेखा नम्बर उपलब्ध गराएर करदाता सेवा प्रारम्भ गर्दै रौतहटको गढिमाइ नगरपालिका । तस्बिर सौजन्य : गढिमाइ नगरपालिका रौतहट

प्रवीण कुमार शर्मा 
रौतहट, चैत ६ गते ।
रौतहटको गढिमाइ नगरपालिकामा करदाता सेवा कार्यालय सञ्चालन भएको छ ।  करदाता सेवा स्थानीय तहमार्फत गर्ने नेपाल सरकारको निर्णय अनुसार बिहीबारदेखि यस पालिकामा करदाता कार्यालय सञ्चालन भएको हो ।

गढिमाइ  नगरपालिकामा करदाता सेवा कार्यालय सञ्चालन गर्न नगरपालिका र आन्तरिक राजस्व विभागबिच सम्झौता भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवले जानकारी दिनु भयो ।

नगरपालिकाबाट सेवा सञ्चालनमा आएपछि यस नगरपालिकाभित्रका व्यवसायी, उद्योगी तथा सरोकारवालाले करसम्बन्धी सेवा सहज र छिटो पाउने उहाँको भनाइ छ ।

यसअघि करसम्बन्धी  सेवाका लागि चन्द्रनिगाहपुरस्थित करदाता सेवा  कार्यालय पुग्नुपर्ने बाध्यता थियो । त्यस कारण समय र खर्च बढ्ने हुँदा व्यवसायी तथा सर्वसाधारणलाई समस्या हुने गरेको थियो । अब भने नगरपालिकाको कार्यालयबाट करदाता सेवा उपलब्ध हुने हुँदा समय र खर्चको बचत हुने प्रमुख प्रशासकीय अधिकृत यादवको भनाइ छ ।

उहाँले नागरिकलाई सेवा लिन टाढा जानुपर्ने बाध्यता हटाउने उद्देश्यले स्थानीय तहमा विभिन्न सरकारी सेवा विस्तार हुँदै आएको बताउनुभयो । बिहीबार सेवा प्रारम्भ भएसँगै गढिमाइ –९ का जङ्गली देवान फकिरले व्यक्तिगत स्थायी लेखा नम्बर लिनु भएको हो ।

करदाता सेवा कार्यालय चन्द्रनिगाहपुरले बिहीबार गढिमाइ नगरपालिकासँगै गरुडा नगरपालिका र कटहरिया नगरपालिकाबाट सेवा प्रारम्भ गरेको कार्यालयका सूचना अधिकारि सजिना श्रेष्ठले बताउनुभयो । यस कार्यालयको कार्यक्षेत्र भित्र पर्ने ७ वटा पालिका चन्द्रनिगाहपुर, गुजरा, गरुडा, गढिमाइ, कटहरिया, वृन्दावन र फतुवा विजयपुर नगरपालिका रहेकोमा वृन्दावन र फतुवा विजयपुर नगरपालिका बाहेक बाँकी पाँच वटै पालिकाबाट करदाता सेवा प्रारम्भ भएको सूचना अधिकारि श्रेष्ठले जानकारी दिनुभयो । वृन्दावन नगरपालिका र फतुवा विजयपुर नगरपालिकाबाट समेत छिट्टै सेवा प्रवाह हुने उहाँले बताउनुभयो ।