• २ फागुन २०८२, शनिबार

चन्द्रगढी बिमानस्थल सेनाको सुरक्षामा

blog

सुरक्षार्थ खटिएका सुरक्षाकर्मी ।

बिष्णुप्रसाद पोखरेल

दमक, फागुन २ गते । झापामा निर्वाचन नजिकिँदै जाँदा थप सुरक्षा ब्यवस्था कडा पारिएको छ । यसैक्रममा झापामा शीर्ष नेताहरूको आवत–जावत बढेपछि चन्द्रगढी विमानस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भद्रपुर –८ स्थित विमानस्थलको पेरिमिटर बाहिर नेपाली सेना परिचालन भएको छ । भित्रको सुरक्षा विमानस्थल सुरक्षा गार्ड र प्रहरीले गर्दैआएको छ ।

चन्द्रगढी नागरिक उड्डयन कार्यालयका प्रमुख किशोरकुमार खत्रीका अनुसार दूई दिन अघिदेखि नेपाली सेना बिमानस्थल सुरक्षामा खटिएको छ । बिमानस्थल आवत–जावत गर्नेहरुलाई कडा जाँच हुन थालेको छ ।

झापाको क्षेत्र नं. ५ का उम्मेदवार नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, रास्वपाका नेता बालेन्द्र साह लगायत विभिन्न दलका नेताहरू हवाई मार्ग हुँदै झापा आउजाउ गर्नेगरेका छन् । 

फागुन २१ को निर्वाचनलाई लक्षित गरी थप सुरक्षा सतर्कता बढाइएको विमानस्थल कार्यालयका पदाधिकारीहरुले  जनाएका छन् । पछिल्लो समय झापामा नेपाली सेनासहितको संयुक्त सुरक्षा गस्ती परिचालित रहेको झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताउनुभयो ।