गोरखापत्र अनलाइन
झापा, फागुन २ गते । नेकपा (एमाले) ले अध्यक्ष केपी शर्मा ओलीलाई मत हाल्नुपर्ने ३० कारण अघि सारेको छ। पार्टीको झापा नं ५ क्षेत्रीय कमिटीले प्रकाशन गरेको अपिलमा राष्ट्रिय स्वाधिनताको रक्षादेखि शिक्षक दरवन्दी मिलानसम्मका विषयहरु समेटिएको छ।
अध्यक्ष ओलीलाई भोट किन भन्ने शिर्षकको अपिलमा खस्किएको नेपाली जनताको मनोबल उठाउन ओलीलाई जिताउनु पर्ने उल्लेख गरिएको छ । ‘देशमा छाएको त्रासको वातावरण अन्त्यगरी सबै नेपालीलाई शान्ति सुरक्षाको ग्यारेन्टी गर्नका लागि ओलीलाई मत दिनुपर्छ’ अपिलमा भनिएको छ, ‘झापा ५ मा सुरु गरिएको विकासका अधुरा योजनालाई सम्पन्न गर्न ओलीलाई मत दिन अपिल गरिन्छ ।’
एमालेको अपिलमा नवयुवालाई प्राविधिक शिक्षा उपलब्ध गराइ युवामा सीपमुलक विकास गर्दै स्वरोजगारको अभिवृद्धीका लागि ओलीलाई मतदान गर्न आह्वन गरिएको छ । ओलीलाई जिताएर सुस्ताएको अर्थतन्त्र चलायमान बनाउन र कृषि क्षेत्रको विकास गरी खाद्यान्नमा आत्मनिर्भर बनाउन केपी ओलीको आवश्यकता रहेकाले ओलीलाई मतदान गर्न अनुरोध गरिएको छ।
निर्माणाधीन एशियन हाइवे, मध्यपहाडी राजमार्ग, मदन भण्डारी राजमार्ग र हुलाकी सडकका अधुरो निर्माण सम्पन्न गर्न ओलीलाई मतदान गर्न आह्वान गरिएको छ । यसैगरी दमकको मुख्य आर्थिक र मानवीय स्रोतको रुपमा रहेको दमक –रवि सडक–चिसापानी सडक निर्माण सम्पन्न गरी जनताको जीवनस्तर उकास्न अध्यक्ष ओलीलाई निर्वाचित गर्न माग गर्दै एमालेले अपिल जारी गरेको छ।
‘नेपाल–चीनमैत्री औद्योगिक पार्क निर्माण कार्य सम्पन्न गर्न ओलीलाई यस क्षेत्रबाट निर्वाचित गर्नुपर्छ’ अपिलमा भनिएको छ, ‘दमक, गौरादह र गौरीगञ्ज बजारलाई आधुनिकिकरण गर्दै स्मार्टसिटीको रुपमा विकास गर्न ओलीलाई मतदान गर्नुपर्दछ ।’
एमालेले भूमिहिन, दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका समस्या समाधान गर्न ओलीलाई सहयोग गर्न अनुरोध गरेको छ । एमालेका केन्द्रीय सदस्य दिपक कार्कीका अनुसार रतुवा, मावा, कमल लगायतका खोलाको तटबन्धन कार्य पूरा गर्न ओलीलाई जिताउन आम मतदातासँग आह्वान गरिएको छ । यसैगरी दमक, गौरादह र गौरीगञ्जका सबै स्थानीय तहका अस्पतालमा सहज सेवा विस्तारका लागि ओलीलाई मत दिन आह्वान गरिएको कार्कीले बताउनुभयो । ‘केपी ओली र झापा ५ एकअर्काका परिपुरक हुन्’ कार्कीले भन्नुभयो, ‘उहाँले गरेका विकास निर्माणका काम, उहाँले प्रत्यक्ष रुपमा चिनेका मतदाता, भूमिगतकालमा बसेका सेल्टरदातासँगको सामिप्यताले उहाँले चुनाव सहजै जित्नुहुन्छ ।’
कार्कीका अनुसार पार्टीले मतदातालाई अध्यक्ष ओलीलाई स्मरण गराउनका लागि अपिल जारी गरिएको हो । ‘अपिलमा मुख्य विषयहरु समेटिएकोले घरदैलोमा गएका पार्टीका कार्यकर्तालाई पनि मतदातालाई कुरा बुझाउन सजिलो सामग्रीको रुपमा प्रयोग भएको छ’ कार्कीले भन्नुभयो, ‘यस्तो अपिल परिवार संख्याका आधारमा एउटा वडामा कम्तिमा १५ सय वटा बाडिन्छन् ।’