काठमाडौँ, कात्तिक २४ गते । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्स र कुमारी जबबिच प्रायोजन सम्झौता भएको छ ।
करिअर पार्टनरको रूपमा सुदूरपश्चिम रोयल्स र कुमारी जबबिच सम्झौता भएको हो । सम्झौता पत्रमा रोयल्सका तर्फबाट अध्यक्ष स्वतन्त्र प्रताप शाह र कुमारी जबकातर्फबाट प्रबन्ध निर्देशक सन्देश भण्डारीले हस्ताक्षर गर्नुभयो ।
मानव संसाधन व्यवस्थापन (रोजगारी, विकास र प्रवर्द्धन) मा नेपालको अग्रणी संस्थाको पहिचान बनाएको कुमारी जब पछिल्लो एक दशकदेखि आम जनमानसमा आफ्नो सेवा पुर्याउँदै आएको छ ।
नेपाली क्रिकेटले नयाँ फड्को लिएको समयमा कुमारी जबले सुदूरपश्चिम टोलीमार्फत आफ्नो उपस्थितिका साथ सहकार्य गर्न लागेको हो । रोयल्सका सिइओ प्रकाश खड्काले यस कदमको स्वागत गर्दै नेपाली क्रिकेटमा लामो समयदेखि साझेदारी गर्दै आएको कुमारी जबसँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गर्नुभयो ।
कुमारी जबका प्रबन्ध निर्देशक भण्डारीले सुदूरपश्चिमसँग सहकार्य गर्न पाउँदा अत्यन्त खुसी लागेको र नेपालमै पहिलो पटक हुन लागेको एनपीएलमा करिअर पार्टनरको रूपमा सहमति गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।
रोयल्सले विदेशी खेलाडीमा न्युजिल्याण्डका स्कट कुगेलेइन, युएईका रोहन मुस्तफा, स्कटल्यान्डका ब्रान्डन मक्मलेन र इंग्लिस क्रिकेटर सेफ अलि जेबलाई अनुबन्ध गरिसकेको छ । त्यस्तै अस्ट्रेलियाका विश्वकप विजेता पूर्व क्रिकेटर ब्राड हजलाई प्रमुख मेन्टरमा हुनहुन्छ । दीपेन्द्र सिंह ऐरी मार्की खेलाडी रहनुभएको सुदूरपश्चिम रोयल्सको मुख्य प्रशिक्षकमा जगत टमाटा हुनुहुन्छ ।