• ९ मंसिर २०८१, आइतबार

प्रहरी हवलदारलाई हातपात गर्ने पाँच जना पक्राउ

blog

पुष्कर भण्डारी 

डडेलधुरा, कात्तिक २२ गते । जिल्ला सदरमुकामको बागबजार स्थित प्रहरी पोस्टमा ड्युटीमा खटिएका प्रहरी सहायक हवलदारलाई हातपात गरी शक्त घाइते बनाउने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । अमरगढी नगरपालिका–५ बागबजारको बसपार्कमा रहको प्रहरी पोस्टको ड्युटीमा खटिएका प्रहरी सहायक हवलदार थानेश्वर प्रकाश पन्तलाई ढुङ्गाले हानेर पाँच जना युवाको समूहले शक्त घाइते बनाएको थियो ।

मङ्गलबार बेलुकी करिब साढे ६ बजेको समयमा प्रहरी सहायक हवलदार पन्तले धनगढीबाट डडेलधुरातर्फ आइरहेको जीजे ०५ आरभी ८८४८ भारतीय नम्बर प्लेटको कार रोकेर चेकजाँच गर्न रोकेका थिए । सोही क्रममा कारमा सवार अजय मेरु गाउँपालिका–४ बस्ने २८ वर्षीय विनोद बैजलगायत पाँच जनाले हातपात गरे । प्रहरी सहायक हवलदार पन्तको टाउको पछाडि भागमा ढुङ्गाले हानी शक्त घाइते बनाएको जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रमुख प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।

प्रहरीले कार चालक कञ्चनपुरको भीमदत्त नगरपालिका–४ बस्ने २२ वर्षीय रोहित सार्की र विनोद बैजलाई घटनास्थलबाटै पक्राउ गरेको थियो । उक्त घटनामा संलग्न अन्य तीन जनालाई पनि प्रहरीले पक्राउ गरेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार अजय मेरु–४ चिपुर बस्ने २६ वर्षीय पदम चटौत, २३ वर्षीय सुवास बोहरा र जित ऐरलाई पक्राउ गरिएको छ । प्रहरी नायव उपरीक्षक श्रेष्ठले भन्नुभयो, ‘चटौतलाई हामीले उहाँकै घर ठेगानाबाट नियन्त्रणमा लिएका हौँ । बोहरा र ऐरलाई बागबजारबाट पक्राउ गरेका थियौँ ।’

पक्राउ परेकाहरूलाई सार्वजनिक सुरक्षा हित, स्वास्थ्य र नैतिक विरुद्धको अपराधमा सात दिनको म्याद थप गरी अनुसन्धान कार्य भइरहेको उहाँले बताउनुभयो । ढुङ्गा प्रहारबाट घाइते पन्तको धनगढीमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो ।