• ८ पुस २०८१, सोमबार

योजना अलपत्र पारेर बिदेसिँदै जनप्रतिनिधि

blog

काठमाडौँ, कात्तिक २२ गते । जनतालाई अनेक सपना देखाएर पाँच वर्षको कार्य प्रतिबद्धतासहित निर्वाचित स्थानीय तहका जनप्रतिनिधि विदेश पलायन हुन थालेका छन् । पालिका र वडाको नेतृत्व गरेर समृद्धि, विकास र नागरिकको कामकाज सहज गराइदिने बाचा थाँती राखेर आर्थिकोपार्जनकै लागि जनप्रतिनिधि वैदेशिक रोजगारीमा गएका हुन् । 

केही जनप्रतिनिधि पदबाट राजीनामा दिएर बिदेसिएका छन् । कतिपय राजीनामा नदिई ‘सम्पर्कविहीन’ भएका छन् । केही स्थानीय तहका जनप्रतिनिधिको सेवासुविधा न्यून भएकाले दैनिकी धान्नै नसकेर विदेश पलायन भएका हुन् । कतिपय जनप्रतिनिधि निर्वाचनका समयमा भएको खर्चको ऋण तिर्न नसक्ने भएपछि विदेश पलायन भएको सम्बन्धित गाउँपालिकाको नेतृत्वको दाबी छ । 

नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घका अनुसार २०७४ र २०७९ को स्थानीय तहको निर्वाचनबाट केही जनप्रतिनिधि आफ्नो कार्यकाल नै नसकी विदेश पलायन भएका हुन् । 

निर्वाचनपछि आर्थिक बोझ 

विसं २०७९ को स्थानीय तह निर्वाचनमा ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–३, सिकैचाका वडाध्यक्ष निर्वाचित दिलविक्रम बोखिम र दाङको राप्ती गाउँपालिका–८ का वडाध्यक्ष चन्द्रबहादुर गुरुङ बिदेसिनुभएको छ । बोखिम सिङ्गापुर र गुरुङ बेलायत गएको सम्बन्धित गाउँपालिकाले जनाएका छन् । 

सिरिजङ्घा गाउँपालिकाका अध्यक्ष लालकृष्ण चौहानले वडा नं. ३ का अध्यक्ष दिलविक्रम बोखिम सिङ्गापुर गएकाले अहिले वडासदस्य अम्बी साउदेनले कार्यवाहक वडाध्यक्ष भएर काम गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “छ महिनाअघि विदेश गएका बोखिमले उतैबाटै राजीनामापत्र पठाएकाले राजीना स्वीकृत गरी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र निर्वाचन आयोगमा जानकारी गराएका छौँ ।” 

नेपाली कांग्रेसका स्थानीय नेता बोखिम आर्थिक रूपमा सबल भए पनि निर्वाचनमा भएको खर्चले पिरोलेपछि बिदेसिनुभएको हो । उहाँले भन्नुभयो, “वडाको नेता, आर्थिक रूपमा पनि सम्पन्न निर्वाचन जित्न सजिलो हुन्छ भनेर उठायौँ । जितेपछि काम गरिरहेकै बखत बोखिम विदेश हिँड्नुभयो । उहाँले चुनावमा खर्च धेरै भयो भन्ने गुनासो गर्ने गरेको सुनेको थिएँ । बिदेसिनु नै भयो ।” 

चौहानका अनुसार बोखिमका आफन्त पनि सिङ्गापुरमै छन् । उहाँले भन्नुभयो, “विदेश जाने तयारी गरेका व्यक्तिले निर्वाचन नलडेको भए पनि हुने थियो । वडाध्यक्ष जितेको व्यक्ति हिँडेपछि वडा र गाउँपालिकाकै काममा समस्या आइरहेको छ ।” 

दाङको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले वडा नं. ८ का वडाध्यक्ष चन्द्रबहादुर गुरुङ पनि वडा सदस्यलाई जिम्मेवारी दिएर बेलायत पलायन भएको बताउनुभयो । उहाँले भन्नुभयो, “गुरुङ बेलायत गएको छ महिना भयो, हामीसँग सम्पर्क भएको छैन, नेपाल फर्कने वा नफर्कने कुनै टुङ्गो छैन ।”

उपनिर्वाचन गर्न समस्या

संविधानले कुनै पनि जनप्रतिनिधिको मृत्यु भएमा वा आफ्नो पदबाट राजीनामा दिएमा उक्त पदमा उपनिर्वाचन गर्ने व्यवस्था गरिएको छ । अध्यक्ष विष्टले वडाध्यक्ष गुरुङ विदेश गएपछि सम्पर्कविहीन हुँदा उपनिर्वाचनको प्रक्रियामा जान समस्या भएको बताउनुभयो । 

२०७४ मा स्थानीय तहको निर्वाचनबाट निर्वाचित कालीकोटको तिलागुफा नगरपालिकाका उपप्रमुख दन्ता नेपाली (दर्शना) पनि आफ्नो कार्यकाल बाँकी छँदै अमेरिका पलायन हुुनुभएको थियो । कार्यक्रममा सहभागी हुन अमेरिका जानुभएकी नेपाली नेपाल नफर्की उतै बस्नुभयो । 

त्यस्तै २०७४ कै स्थानीय तहमा निर्वाचनमा जितेका मकवानपुरको भीमफेदी गाउँपालिका–८ का वडाध्यक्ष जगतमान घिसिङ पनि डिभी चिट्ठा परेर अमेरिका जानुभयो । 

निराशाले बिदेसिए

नेपाल नगरपालिका सङ्घका अध्यक्ष भीमप्रसाद ढुङ्गानाले एकाध जनप्रतिनिधि मात्र आफ्नो कार्यकाल नसकिँदै बिदेसिएको बताउनुभयो । उहाँले भन्नुभयो, “चुनावअघि जनतालाई धेरै सपना देखाइएको हुन्छ । निर्वाचित भइसकेपछि सोचे अनुसार काम हुन सक्दैन । काम गर्न खोज्दा कहिले सङ्घीय सरकार बाधक बन्छ, कहिले प्रदेश सरकार । जनतासमक्ष गरेका वाचा पूरा गर्न नपाउँदा जनप्रतिनिधिमा नैराश्य बढेकाले विदेश गएका हुन् ।” जनप्रतिनिधि कार्यकाल नसकी विदेश जाने क्रम बढ्दै गए पनि कति जनप्रतिनिधि विदेश पलायन भएका छन् भन्ने एकिन तथ्याङ्क कुनै पनि निकायसँग छैन ।