काठमाडौँ, कात्तिक २२ गते । सरकारले संस्थागत अर्थात् वैदेशिक रोजगार व्यवसायी कम्पनीमार्फत नेपाली श्रमिकलाई विशिष्ट सिपयुक्त कामदार (स्पेसिफाइड स्किल वर्कर – एसएसडब्ल्यु) श्रमिकको माग प्रमाणीकरण सुरु गरेको छ । जापानस्थित नेपाली दूतावासले जापानमा एसएसडब्लु अन्तर्गतका श्रमिक लैजाने प्रमाणीकरण गर्न थालेसँगै श्रमिक पठाउने प्रक्रिया सुरु भएको हो ।
पछिल्लो समयमा मलेसिया र मध्यपूर्वी देश (खाडी) मा नेपाली श्रमिकको माग घटिरहेको अवस्थामा जापानमा एसएसडब्लु अन्तर्गतका श्रमिक पठाउने प्रक्रिया सुरु भएको हो । यसबाट केही राहत अनुभूति गराएको वैदेशिक रोजगार व्यवसायी बताउँछन् ।
जापानमा एसएसडब्लु अन्तर्गत एक वर्षमा करिब २० हजार नेपाली श्रमिक पठाउन सकिने अनुमान व्यवसायीले गरेका छन् । एसएसडब्लु अन्तर्गतका श्रमिकको मासिक न्यूनतम तलब करिब दुई लाख रुपियाँ रहेको छ ।
जापानमा निश्चित सिपयुक्त श्रमिक ल्याउने सम्बन्धमा प्रचलित कानुन, नियमावली, निर्देशिका र अन्य सम्बन्धित कानुनी प्रावधान, विधि र प्रक्रियाबमोजिम मागपत्र प्रमाणीकरण गर्ने कार्य आरम्भ गरिएको भन्दै नेपाली राजदूतावासले प्रमाणीकरणका लागि आवश्यक कागजातका सम्बन्धमा राजदूतावासको वेबसाइटमा राखेर सहजीकरण गरेको बताएको छ ।
एसएसडब्लु अन्तर्गत नर्सिङ, स्याहारसुसार, निर्माण, भवन सरसफाइ तथा व्यवस्थापन, पानीजहाज निर्माण र पानीजहाज मेसिनरी उद्योग, अटोमोबाइल, औद्योगिक मेसिनरी उत्पादन तथा इलेक्ट्रोनिक्स उद्योग, होटेल, उड्डयन, खाना र पेय पदार्थको उत्पादन उद्योग, खाद्यसेवा उद्योग, कृषिलगायतका १४ क्षेत्रमा श्रमिक पठाउन सकिने बताइएको छ ।
नेपाल र जापानबिच सन् २०१९ मा नै सम्झौता भए पनि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कार्यविधि नबनाउँदा समस्या थियो । श्रम मन्त्रालयले २०८० फागुनमा जापानमा निश्चित सिपयुक्त श्रमिक पठाउनेसम्बन्धी कार्यविधि, २०८० स्वीकृत गरेको थियो ।
श्रम मन्त्रालयका सहसचिव पीताम्बर घिमिरेले केही ढिला भए पनि जापानको रोजगारी सुनिश्चित गर्न कार्यविधि अनुसार दूतावासले माग प्रमाणीकरण सुरु भएपछि श्रमिक जाने बताउनुभयो । मन्त्रालयका अनुसार जापानस्थित राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीले नेपालबाट श्रमिक लैजाने सबै सर्त पूरा गरिसकेकाले वार्षिक २० हजारभन्दा बढी दक्ष नेपाली श्रमिकको माग गर्ने आकलन छ ।
वैदेशिक रोजगार विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले श्रम स्वीकृति लिएर विदेश गएका श्रमिकमध्ये जापानबाट खासै गुनासो नआउने गरेकाले उत्कृष्ट र नेपालीले रुचाएको श्रम गन्तव्य भएको बताउनुभयो ।
पाँच वर्षअघि जापानको श्रम बजारमा नेपाली लैजाने विषयमा समझदारी भएपछि धेरै नेपाली युवाले तालिम र भाषा परीक्षा सिकेर बसेका छन् । विभागको तथ्याङ्क अनुसार आव २०८२/८३ को पहिलो तीन महिनामा जापानका लागि करिब छ हजार नेपालीले श्रम स्वीकृति लिएर गएका छन् । यसमध्ये सबैभन्दा धेरै रेस्टुरेन्ट व्यवसायमा श्रमिकका रूपमा कार्यरत छन् ।