वासिङ्टन, फागुन १९ गते । बढ्दो तनावका बिचमा संयुक्त राज्य अमेरिकाले मध्यपूर्व र खाडी मुलुक स्थित दुतावास तथा कूटनीतिक मिसन बन्द गर्ने घोषणा गरेको छ भने तनावग्रस्त देशमा रहेका कर्मचारी र नागरिकलाई देश छोड्न आदेश दिएको छ ।
साउदी अरबको रियादस्थित अमेरिकी दूतावासमा मङ्गलबारदेखि अर्को सूचना नआउन्जेल सम्मका लागि सबै कार्यहरु बन्द गरिएको छ । सामाजिक सञ्जाल एक्समा दूतावासले साउदी अरबमा रहेका अमेरिकी नागरिकलाई दुतावास परिसरबाट टाढा रहन आग्रह गरेको छ । यस अघि साउदी अरबका अधिकारीले रियादमा रहेको दूतावासमा दुई वटा ड्रोन प्रहार गरेको पुष्टि गरेका थिए ।
कुवेतस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जाल एक्समार्फत अर्को सुचना जारी नभएसम्म सम्पुर्ण सेवा निलम्बन गरेको छ । अमेरिकी विदेश विभागले गैर-आवासिय कर्मचारी उनीहरुका परिवारका सदस्यलाई बहराइन, जोर्डन र इराक छोड्न आदेश दिएको छ । विभागले सरकारी कर्मचारी र उनीहरूका परिवारलाई स्वैच्छिक प्रस्थानको अनुमति दिन बहराइन, जोर्डन र इराकलाई अनुरोधसमेत गरेको जनाइएको छ ।
संयुक्त राज्य अमेरिकाले मध्यपूर्वमा तीव्र रुपमा द्वन्द्व बढिरहेका समयमा यस्तो घोषणा गरेको हो । गत शनिबार इरानमा संयुक्त राज्य अमेरिका र इजरायलले गरेको आक्रमणमा परी इरानका सर्वोच्च नेतासहित कमान्डरको मृत्यु भएपछि द्वन्द्व चर्किएको थियो । प्रतिक्रियामा, इरानले इजरायल र अन्य क्षेत्रीय संरचना विरुद्ध मिसाइल तथा ड्रोन आक्रमण सुरु गरेको छ, जसले द्वन्द्वलाई अझै बढी सक्रिय बनाएको छ । रासस/क्युएनए