• १९ फागुन २०८२, मङ्गलबार

अन्तरगृह परिक्रमासँगै १५ दिने मिथिला मध्यमा परिक्रमा समापन

blog

१५ दिने मिथिला मध्यमा परिक्रमाको अन्तिम दिन जनकपुरधामको अन्तरगृह परिक्रमा । तस्बिर : लक्ष्मी चौधरी

लक्ष्मी चौधरी

जनकपुरधाम, फागुन १९ गते । अन्तरगृह परिक्रमासँगै मिथिलाको धार्मिक पदयात्रा १५ दिने मिथिला मध्यमा परिक्रमा आज विधिवत् रुपमा समापन भएको छ ।

परिक्रमावासीले मंगलबार जनकपुरधाममा १२ किलो मिटरको दुरीमा अवस्थित जनकपुरधामको गोलाकार परिक्रमा अन्तरगृह (पंञ्चकोशी) गरेसँगै विश्वकै लामो धार्मिक पदयात्रा मानिने १५ दिने मिथिला मध्यमा परिक्रमा समापन भएको हो । 

परिक्रममा धार्मिक आस्था, सांस्कृतिक एकता र परम्परागत साथ सम्पन्न भएको यस परिक्रमामा नेपाल र भारतका लाखौं श्रद्धालु भक्तजनहरूको उल्लेखनीय सहभागिता रहेको थियो । मिथिला क्षेत्रको सांस्कृतिक पहिचानको प्रतीक मानिने यो परिक्रमा प्रत्येक वर्ष श्रद्धालुहरु भक्तजनहरु उल्लासपूर्ण सहभागी हुने गर्दछन् । परिक्रमामा सहभागी भई श्रद्धापूर्वक दर्शन गर्दा मनोकामना पूरा हुने जनविश्वास समेत रहँदै आएको छ ।

जनकपुरधाम नजिक कचुरीस्थित मिथिलाबिहारी मठबाट विधिवत डाला निकालेपछि १५ दिने मिथिला मध्यमा परिक्रमा भएको थियो । मिथिलाबिहारीको डोला र अग्निकुण्डबाट किशोरीजीको डोलासहित झाँकी–कीर्तनका साथ यात्रा प्रारम्भ भएको थियो । पहिलो विश्राम जनकपुरधामको हनुमाननगरमा हुन्छ भने दोस्रो र तेस्रो दिन भारतको कलानेश्वर र गिरिजास्थानमा बसाइँ गरिन्छ, जहाँ राम–सीतासँग सम्बन्धित धार्मिक विश्वास जोडिएका छन् ।

भारतका दुई विश्रामपछि यात्रा महोत्तरी प्रवेश गर्छन् । मटिहानी, जलेश्वर (जलेश्वरनाथ मन्दिर), मडई, ध्रुवकुण्ड र कञ्चनवनमा क्रमशः विश्राम गरिन्छ । कञ्चनवनमा राम–सीताले होली खेलेको विश्वाससँगै मिथिलामा सोही दिनबाट होली पर्वको सुरुआत मानिन्छ ।

त्यसपछि यात्रा धनुषा जिल्लामा प्रवेश गरी पर्वता (क्षीरेश्वरनाथ मन्दिर दर्शन), धनुषाधाम, सतोषर र औरहीमा विश्राम गर्छन् । पुनः भारतको करुणा र बिसौल हुँदै यात्रा कलानेश्वरबाट जनकपुरधाम फर्कि भोलिपल्ट अन्तरगृह (पञ्चकोशी) परिक्रमापछि १५ दिने मिथिला मध्यमा परिक्रमा विधिवत समापन हुन्छ ।

नेपाल र भारतको करिब १ सय २८ किलोमिटरको दूरीमा अवस्थित भारतको चार र नेपालको ११ पडाव स्थल पर्दछन् । जुन नेपालको धनुषा र महोत्तरीमा पर्छन् । यो यात्रा धार्मिक सहिष्णुता, सांस्कृतिक निरन्तरता र नेपाल–भारत सांस्कृतिक सम्बन्धको प्रतीक मानिन्छ ।

परिक्रमा अवधिभर सुरक्षा व्यवस्थालाई कडाइ गरिएको थियो भने विभिन्न पडावस्थलमा सम्बन्धित स्थानी तहका जनप्रतिनिधिहरुले आवश्यक प्रशासन, सुरक्षा निकाय तथा स्वयंसेवकहरूले यात्रालाई व्यवस्थित र सुरक्षित बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । बाटोमा खानेपानी, स्वास्थ्य शिविर र विश्रामस्थलको समेत व्यवस्था गरिएको थियो ।