• २४ मंसिर २०८१, सोमबार

पहाडका घुम्तीमा रबिना बनिन् महिला ‘ड्राइभर’

blog

सार्वजनिक सवारी चलाउँदै २० वर्षीया रुबी चन्द । तस्बिर सौजन्य: नारायण सार्की

गोकर्ण दयाल
बैतडी, कात्तिक १५ गते । 
बैतडीकी रबिना चन्द (रुबी) २० वर्षको उमेरमै सार्वजनिक सवारी साधन चलाउने जिल्लाकै साहसी महिला ‘ड्राइभर’ बन्नु भएको छ । रुबीले सार्वजनिक सवारी हाँकेको देखेर सर्वसाधारण मात्रै होइन, ट्राफिक प्रहरीसमेत छक्क पर्ने गरेका छन् ।

पञ्चेश्वर गाउँपालिका–४, निङलाडकी रुबी पालिकादेखि प्रदेश राजधानीसम्म सार्वजनिक यातायात चलाउँदै आउनुभएको छ । रुबी वैधानिक हिसाबले सवारी चालक अनुमति पत्र (लाइसेन्स) को परीक्षा पास गरेर सार्वजनिक यातायात चलाउने ‘ड्राइभर’ बन्नुभएको हो । 

प्रवीणता प्रमाणपत्र तहको अध्ययन सकेर पञ्चेश्वरस्थित नवप्रभात संयुक्त क्याम्पसमा पहिलो वर्षमा अध्ययनरत रुबीले घरायसी जिम्मेवारी बहन गर्न ड्राइभर बनेको बताउनुभयो ।

रुबीले चलाउँदै आएको म १ ज ३३३ नम्बरको सार्वजनिक जिप पछिल्लो समय पञ्चेश्वर गाउँपालिका, शिवनाथ गाउँपालिका, मेलौली नगरपालिका हुँदै प्रदेश राजधानी कैलालीसम्म यात्रु बोकेर हिँड्ने गर्नुभएको छ । 

महिलाले जिप हाँकेको देख्दा सर्वसाधारण मात्रै होइन, ट्राफिक प्रहरीसमेत सवारी चालक अनुमति पत्र हेरेपछि मात्रै पत्याउने गरेको रुबीले अनुभव सुनाउनुभयो । 

“टिकट काटेर गाडीमा बस्ने अधिकांश सर्वसाधारण ड्राइभर खोइ ? भन्छन्,” अनुभव सुनाउँदै रुबीले भन्नुभयो, “मै हो नि ! ड्राइभरभन्दा आम मानिस पत्याउँदैनन् । बैतडीबाट प्रदेश राजधानी धनगढी जाँदा बाटोमा सवारी चेकजाँच गर्ने ट्राफिक प्रहरीसमेत छक्क पर्छन । सवारी चालक अनुमति पत्र ओर्काइफर्काइ हेर्छन् । विश्वास नलागेर होला, मेरो फोटोसमेत खिचेर राख्ने गरेका छन् ।”

रुबीका पाइला यसरी मोडिए ड्राइभरतिर

रुबी चन्द छ दिदीबहिनी मध्येकी माहिली हुनुहुन्छ । स्वदेशमा रोजगारी नपाउँदा जेठी दिदी मञ्जु चन्द वैदेशिक रोजगारीका क्रममा साउदीमा हुनुहुन्छ । आमा यशोदा चन्द र बुवा डबलबहादुर चन्द गाउँमै किराना पसल चलाएर बसेको रुबीले बताउनुभयो । 

रोजगारी खोज्न विदेश जानुभन्दा स्वदेशमै केही गरेर देखाउने अठोट लिएपछि बुवा आमाले पैसाको जोहो गरे बोलेरो जिप किनिदिएको उहाँले बताउनुभयो । महाकाली यातायात समितिमा दर्ता यात्रु बोक्ने बोलेर जिपको अहिले रुबी चन्द लोकप्रिय ड्राइभर बन्नुभएको छ । छोरीले गाडी चलाउने सपना देखेपछि जिप किनीदिएको पिता बडलबहादुर चन्दले बताउनुभयो ।

ड्राइभर बनेपछि पारिवारिक जिम्मेवारी र पढाइ खर्च राम्रोसँग चलिरहेको रुबीले बताउनुभयो । लाइसेन्स लिएर पाँच महिनादेखि नियमित गाडी चलाउँदा मासिक ३० भन्दा बढी आम्दानी हुन थालेको उहाँले बताउनुभयो ।