झापा, मोरङ र सुनसरी जिल्लामा सतार/सन्थाल जातिको बसोबास रहेको छ । मेहनती र सोझो जाति सतार आफूलाई सन्थाल भन्न रुचाउँछन् । यिनलाई सौताल पनि भनेको पाइन्छ । राजवंशीले यिनलाई मितुआ भन्छन् । २०३८ सालको जनगणनाले सतार र सन्थाललाई बेग्लाबेग्लै भाषिक जातिमा राखेको थियो । त्यो समय सतारको जनसङ्ख्या २२ हजार ४०३ र सन्थालको पाँच हजार ८०४ थियो । २०७८ सालको जनगणनामा सन्थालको जनसङ्ख्या ५७ हजार ३१० पुगेको छ ।
भारतको पश्चिम बङ्गालबाट नेपालमा सतार भित्रिएको बताइन्छ । यी जाति भारतको सिन्ध र सन्ताल परगाङमा बसोबास गर्दै आएका छन् । बङ्गलादेश, श्रीलङ्का र माल्दिभ्समा समेत यो जातिको बसोबास रहेको छ । डोरबहादुर विष्टले ‘सबै जातको फूलबारी’ कृतिमा विहारको सन्थाल प्रगन्नामा बस्ने सन्थाली र यी सतार एउटै वर्गका मानिस हुन् तथा यिनीहरूको भाषा, संस्कृति र आर्थिक जीवन पनि एउटै प्रकारको छ भनेका छन् ।
शरद्चन्द्र शर्माको ‘नेपाल र यसका निवासी’ कृतिमा “यस जातिको माउ थलो भारतको विहार राज्यको दक्षिणमा पर्ने सन्थाल परगना हो” भनिएको छ । उनले ‘सन्थाल’ शब्दकै अपभ्रंश ‘सतार’ भएको र सन्थाल परगनाका आदिवासी सन्थालसँग सतार सम्बन्धित भएको उल्लेख गरेका छन् ।
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ अनुसार सूचीकृत ५९ आदिवासी/जनजातिमध्ये ५४ नम्बरमा सतार/सन्थाल जाति रहेको छ । सरकारी कामकाजका भाषामा जाति बुझाउने थरमा सतार प्रयोग भएकोमा सन्थाल जातिले आपत्ति जनाउँदै आएका छन् । टीकाराम शर्माले २०५४ सालमा प्रकाशन गरेको अनुसन्धनात्मक कृति ‘नेपालका सतार’ मा भनिएको छ, “यिनको जातीय स्वभाव जङ्गलमा बस्न रुचाउने र नयाँ फँडानी गरी बसोबास गर्ने हुनाले यी आदिकालदेखि निरन्तर बसाइँ सर्दै हिँडेका आदिवासी हुन् । यिनको वास्तविक जातीय नाउँ सन्थाल हो ।”
हिन्दीभाषीले सन्थाल, बङ्गाली र आसामियाले साउताल र सोतेल भन्ने गरेको पाइन्छ । लगन राई र दुर्गा हाँस्दाको सन्थाल जातिको चिनारी पुस्तकमा सन्थाल नामकरण बारे नै मतभेद रहेको चर्चा गरिएको छ । सन्थालले पिल्चु हाडाम पिल्चु बुढ्हीलाई (शाब्दिक अर्थ बूढो मान्छे र बूढी मान्छे) जस्ता आदिम मानवसँग आफ्नो नाता साइनो रहेको बताउँछन् । त्यस सम्बन्धमा सन्थाल समुदायमा लोककिंवदन्ती रहिआएको छ ।
सन्थालको नेपाल प्रवेश
उन्नाइसौँ शताब्दीको अन्त्यतिर ब्रिटिस सरकारले उत्तर विहार र उत्तर बङ्गालसम्म रेलवे विस्तार गर्दा सन्थाल परगना तथा दुमका जिल्लाका सतार रेलवे विस्तारमा काम गर्दै नेपाल पसेको ‘नेपालका सतारहरू’ पुस्तकमा टीकाराम शर्माले उल्लेख गरेका छन् । तराईको पटेर जङ्गल फँडानीका लागि भारतको ब्रिटिस सरकारसँग मागी राणा शासकले सतारलाई नेपाल ल्याएको शर्माको पुस्तकमा उल्लेख छ ।
गरिबी, भोकमरी, महामारीको समयमा समेत बसाइँ सरी झापाको घनाजङ्गलतिर सतार बसेको बताइन्छ । सन् १८५७ को भारतीय स्वतन्त्रता सङ्ग्रामका समयमा पनि सतारहरू पलायन भई नेपाल प्रवेश गरेको शर्माले उल्लेख गरेका छन् । मदनप्रसाद कटेलबाट सतारहरू आफ्नो थलो छाडेर नेपाल आउनुमा केही फरक कारणसमेत उल्लेख गरिएको छ । उनका अनुसार महामारीबाट बच्न बस्ती छाडेर परिवारै हिँड्नु, अनिकाल, समाजविरुद्धका क्रियाकलाप, जीवनयापनमा कठिनाइ जस्ता कारणले जातीय थलो छाडी सतारहरू हिँडेका हुन् ।
सोही क्रममा नेपालको पूर्वी तराईका जङ्गलले घेरिएका मोरङ र झापा जिल्लाका उब्जाउ जमिनमा सतारले बसोबास थालेको उनको कथन छ ।
सतारको संस्कार, संस्कृति
नेपालका थारू, कुमालसँग सतार/सन्थालको शारीरिक बनोट मिल्छ । दक्षिण अफ्रिकी जस्तै कपाल घुम्रिएको, छालाको रङ कालो हुन्छ । झुरुप्प बस्ती बनाएर एकै ठाउँमा बस्ने यो जातिका घर बाँसका भाटा, काठ, खरले बनाइएको देखिन्छ । घरलाई लिस्याइलो माटोले लिउन हालेका हुन्छन् । यिनका घर अघिल्तिर बाबरी फूल, रुख, बयर रोपेको पाइन्छ ।
शिकारमा औधी सिपालु र रुचि राख्ने यो जाति मुख्य रूपमा कृषि पेशामा निर्भर रहेको छ । मुसा र बकुल्ला शिकार गर्न रुचाउने यो जातिका महिलाले घरघरमा तान बुन्छन् । सालघारीमा बस्न रुचाउने यो जाति गर्मी र औलोसँग जुध्दै आएको छ । पुरुषले धोती, लँगौटी, कछाड, गन्जी तथा महिलाले सारी, चोलो लगाउँछन् ।
यिनीहरूको आफ्नै जातीय परम्परामा आधारित धर्म छ । उनीहरू मुख्य रूपमा ठाकुर देवता मान्छन्, मराङबुरुको आराधना गर्छन् । मराङबुरुले सतार जातिको उत्पत्तिमा मुख्य भूमिका रहेको विश्वास उनीहरूको छ । यिनीहरू अग्नि देवताको पनि पूजा गर्छन् । आटो बाङ्गा यिनीहरूको ग्राम देवता हो । यिनीहरू हिन्दु धर्ममा मानिने दुर्गा काली पनि उत्तिकै मान्छन् । खासगरी पितृ देवता ‘मानस’ लाई खुसी राख्ने प्रयत्न गर्छन् ।
सतार जातिमा ‘सोहराई’ र ‘वहा’ पर्व धूमधामले मनाइन्छ । धान भित्र्याएपछि (मङ्सिर महिनामा) सोहराई चाड मनाउँछन् । चाडपर्वमा राँगा, कुखुरा, सुँगुर, बोका काटेर भोज खान्छन् । वसन्त ऋतुको आगमनसँगै वहा पर्व मनाउँछन् । शिकारमा सफलता मिलोस् भनेर वहा पर्व मनाउने गरिन्छ ।
सतार जातिमा १२ थर मुख्य मुर्म, सेरेन, किस्कु, चोडे, ढुडु, माडी, बेसरा, हास्दा, बेधा, पौडियार, बास्ने, हेम्कने छन् ।
लोकतान्त्रिक अभ्यास
अन्य समुदायभन्दा टाढा जङ्गल क्षेत्र आवाद गरी बसोबास गर्न रुचाउने सन्थाल जातिले परम्परागत रूपमा प्रजातान्त्रिक अभ्यास गर्दै आएको पाइन्छ । यो समुदायले जहाँ बस्ती बसाउँछन् त्यहाँ सबैभन्दा पहिला सामाजिक सुशासन, न्याय–दण्ड व्यवस्था कायम राख्न नेतृत्व चयन गर्छन् । पारिवारिक समस्या, झगडा, अंशबन्डा जस्ता काम तिनै नेतृत्वले गर्छन् । यस्तो नेतृत्वलाई ‘मन्झी हाडाम’ भनेर सन्थाल जातिको चिनारी (राई, हास्दाः ०७५) मा उल्लेख गरिएको छ ।
सो पुस्तक अनुसार सन्थाल समुदायमा ‘मन्झी पारगाना’ परिवारभन्दा माथिको संरचना हो । यो पदको कुनै समयावधि नभए पनि चित्तबुझ्दो काम नगरेमा गाउँभेलाले सामूहिक निर्णय गरेर हटाउन सक्छ । अन्यथा वंशाणुगत रूपमा पनि यो जिम्मेवारी हस्तान्तरण हुँदै जान्छ । सो पुस्तकमा उल्लेख भए अनुसार सन्थाल समुदायमा परम्परागत सामाजिक संरचना तथा न्याय प्रणालीमा मन्झी हाडाम, प्राणीक, जगमन्झी, नायकी, कुडोमनायकी र गुडित रहन्छन् । धेरै गाउँ मिलेर निर्माण गरिने बृहत्तर संरचना चाहिँ ‘पारगाना’ हो ।
गाउँको प्रमुख व्यक्तिलाई मन्झी हाडाम भनिन्छ । उसले गाउँमा भएका विवाद, झैझगडा, मुद्दाको फैसला गर्ने गर्दछ । सन्थाल समाजमा सामान्य झैझगडा, विवाद प्रहरीसम्म पुग्नै पाउँदैन । उनीहरूले दण्ड, सजायका आफ्नै नियम परम्परागत रूपमा चलाउँदै आएका छन् ।
यो समाजमा विचार सभाको पनि व्यवस्था गरिएको हुन्छ । अहिले खासै प्रचलनमा नरहेका गाउँसभा, परगना (प्रगन्ना) सभा र शिकार सभा जस्ता अभ्यास सन्थाल समुदायमा थियो ।
केटाकेटीलाई हल्दी र तेल दल्ने
सन्थाल जातिमा छोरा र छोरीमा खासै भेदभाव पाइन्न । जन्मिएको बच्चाको नाम भोलिपल्टै बुवाले राख्ने चलन छ । यसरी नाम राख्दा महिना, बार, दिन र आफ्नै परिवारका कुनै एक सदस्यको अघिल्तिरको अक्षरबाट राख्ने परम्परागत चलन छ । नाम राख्ने कार्यलाई ‘निम्दामडी’ भनिन्छ र इष्टमित्र डाकी भोज खुवाइन्छ ।
सन्थाल जातिमा एउटै थरमा बिहेवारी चल्दैन । विवाह (वाप्ला) परिवारको सहमतिमा मागेर गरिएको छ भने सगुन वाप्ला भनिन्छ । यसरी गरिने विवाहमा गाउँले जम्मा भएर केटाकेटीलाई हल्दी र तेल लगाउने प्रचलन निकै रमाइलो हुन्छ । त्यसका लागि केटीको घरमा मण्डप बनाइन्छ ।
विवाहको दोस्रो दिन सम्धी सम्धिनीबीच परिचयात्मक कार्य हँस्यौलीठट्यौलीबीच हुन्छ । सम्धिनीहरूले पुरुषको भेष धारण गरी नाच्ने, गाउने गर्छन् । यो समुदायमा गर्भवती केटीलाई केटा खोजी गरिने विवाह, बहुविवाह, केटाले जबरजस्ती सिन्दूर हाली गरिने विवाह, घरबाट भागेर गरिने विवाह, घर छाडेकी वा पतिको मृत्यु भएकी एकल महिला विवाह पनि प्रचलनमा थियो । यो समुदायमा केटीले समेत मन परेको केटासँग जबरजस्ती विवाह गर्न सक्छ ।
सन्थाल जातिमा मृत्यु संस्कार गाड्ने वा पोल्ने दुवै चलन छ । गाउँमा मृतक पर्नासाथ छिमेकीले कुखुराको भाले र खर लिएर आउँछन् । पुरुषले बन्चरो र महिलाले धान लिएर आउने चलन पनि छ । मृत्यु भएको दिन गाउँमा सबैले जुठो बार्छन । मृतक परेको १४ दिनमा श्राद्ध (भाण्डाल) गरिन्छ । श्राद्धमा कुखुरा, राँगा, खसी, सुँगुर आदि चढाइन्छ । श्राद्धमा रक्सी र मासु खाई आनन्द गरिन्छ तर नाच्न गाउन निषेध छ ।
सतार हैन सन्थाल
झापा जिल्ला समन्वय समितिको २०७९ साल चैत १३ गतेको बैठकले सतारको सट्टा सन्थाल शब्द प्रयोग गर्ने गराउने निर्णय गरेको थियो । सीमान्तकृत सन्थाल समुदायको पहिचान र आत्मसम्मानको कदर गर्दै सतार शब्दको सट्टा सन्थाल थर प्रयोग गर्ने निर्णय गरिएको भनिन्छ । बैठकले यसअघि सतार थर प्रयोग भएकोमा त्यसलाई सच्याउन तिनै तहका सरकारलाई पत्राचार गर्ने समेत निर्णय गरेको थियो ।
सन्थाल जातिलाई सतार शब्द प्रयोगले समुदायलाई होच्याउने, अपमानित गर्ने र भावनामा ठेस पुर्याउने भएकाले शब्दकोश, नागरिकता, सरकारी दस्तावेज, पुस्तकमा सतारको ठाउँमा सन्थाल शब्द सच्याउनसमेत सन्थाल संन्स्थाले माग गर्दै आएका छन् ।
मोरङ जिल्लाको सुनवर्षी नगरपालिका–१ मा कार्यालय रहेको रिलोमाला सन्थाली आखडा नेपालले आफूहरू सतार होइन भन्दै २०७८ साल पुस ७ गते विरोध प्रदर्शन गरेका थिए ।
‘हाम्रो पहिचान सन्थाल हो, सतार होइन’ भन्दै उनीहरूले सन्थाल जातिको अधिकार, अस्तित्व, इतिहास र पहिचानलाई तोडमोड गरी लेख र अभिलेखमा राखिएको भन्दै विरोध प्रदर्शन गरे । झापा र मोरङबाट जम्मा भएका सन्थाल समुदायले जिल्ला प्रशासन कार्यालय अघिल्तिर पुगेर धर्नासमेत दिएका थिए । रिलोमाला सन्थाली आखडा नेपालका अध्यक्ष श्यामलाल बेख्रा र सचिव हखन हास्दासहितको टोलीले झापा जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई आठबुँदे मागसहित ज्ञापनपत्र बुझाएको थियो । उनीहरूले सन्थाल समुदायमा १२ वटा थर हुने र नामका पछाडि थर उल्लेख गर्न आग्रहसमेत गरे ।
ज्ञापनपत्रमा सन्थालको जात, धर्म, भाषा, संस्कार र संस्कृति स्पष्ट उल्लेख हुनुपर्ने माग राखिएको थियो । कोष्ठ, कमा, ड्यास, हाइफन, योजक राखेर (सतार/सन्थाल) समेत सतार शब्द प्रयोग नगरी स्पष्ट रूपमा सन्थाल मात्र लेख्न भनिएको छ । जातमा सन्थाल, भाषामा सन्थाली, लिपिमा अलचिकी र धर्ममा सारना राखिनुपर्न माग उनीहरूको छ ।