इलाम जिल्लामा लेप्चा जातिको बसोवास रहेको छ । आफ्नै भाषा, वेशभूषा, संस्कृति, जनजीवन र परम्परा रहेको यो जातिका कतिपय विषयमा खोज र अनुसन्धान हुनै बाँकी छ ।
भारतको सिक्किममा समेत मिल्दोजुल्दो जनजीवन, भाषा, संस्कृति भएका लेप्चा जातिको बसोवास रहेको छ । सिक्किम र इलामका लेप्चाको जीवन, रहनसहन, रीतिरिवाज एकै किसिमको छ भन्न सकिन्न तर उनीहरूमा धेरै समानता पाउन सकिन्छ । जियोफ्रे गोरेरले ‘हिमालयन भिलेज’ पुस्तकमा लेप्चा जातिको विषयमा चर्चा गरेको पाइन्छ ।
अम्बिकादेवी पौड्यालले स्नातकोत्तर दोस्रो वर्षमा ‘नेपालमा लेप्चा जातिको सामाजिक, सांस्कृतिक र आर्थिक अवस्था’ बारे इलाम जिल्ला फिक्कल गाउँ विकास समितिमा बसोवास गर्ने लेप्चा जातिलाई आधार बनाएर शोध (२०७२) गरेकी थिइन् । सो अनुसार इलाम जिल्लाका विभिन्न ठाउँमा परापूर्वकालदेखि बसोवास गरिरहेका लाप्चा नेपालका एक आदिवासी हुन् ।
जनस्तरमा ‘लाप्चो’, ‘लाप्चा’, ‘लोप्चे’ भनेर सम्बोधन गरिने जातिको मौलिक नाम ‘रोङ’ भएको स्थानीय लाप्चाले बताउँछन् ।
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ अनुसार सूचीकृत ५९ जातजातिमध्ये लेप्चा जाति लोपोन्मुख सूचीमा पर्दछ । राष्ट्रिय जनगणना २०६८ मा लेप्चा जातिको जनसङ्ख्या तीन हजार ४४५ थियो । जनगणना २०७८ मा आइपुग्दा लेप्चाको जनसङ्ख्या तीन हजार ५७८ पुगेको छ । यसमध्ये पुरुषको सङ्ख्या एक हजार ७६९ र महिलाको सङ्ख्या एक हजार ८०९ रहेको छ ।
यो जातिको जनसङ्ख्या इलामको सूर्योदय नगरपालिकामा बढी छ । इलामको सूर्योदय नगरपालिकामा एक हजार ६४०, रोङ गाउँपालिकामा ९९०, माईजोगमाई गाउँपालिकामा १९७ र इलाम नगरपालिकामा १५६ जनसङ्ख्या यो जातिको छ ।
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको वेबसाइटमा लेप्चा जातिबारे यसरी लेखिएको छ, “कञ्चनजङ्घा हिमालको फेदीमा आदिमकालदेखि बस्दै आएको यो जाति नेपालको इलाम जिल्ला र भारतको सिक्किम, कालिम्पोङ र दार्जिलिङ क्षेत्रमा बसोवास गर्दछ । यिनीहरू कञ्चनजङ्घालाई देवता मान्दछन् । आफूलाई राजखलक भन्दछन् ।”
आदिवासी जनजाति प्रतिष्ठानका अनुसार यिनीहरूको (लेप्चा) भाषा भोट बर्मेली परिवारमा पर्दछ । साथै लिपि र धर्म ग्रन्थ पनि छ । यिनीहरूको आफ्नै प्राकृतिक धर्म छ तर अचेल बौद्ध धर्म र क्रिस्चियन धर्म पनि मान्दछन् । अस्ताच्यो यिनीहरूको धार्मिक ग्रन्थ हो । जाँड रक्सी चोखो वस्तु मानिन्छ । मरेपछि शवलाई घरको भित्ता फोरेर निकालिन्छ र गाडिन्छ । सामाजिक सङ्गठन रोङसेनुङ्ठी हो । यिनीहरू लोक्नेन नाच नाच्दछन् । खेती किसानी र व्यापार यिनीहरूको मुख्य पेसा हो ।
नेपाली बृहत् शब्दकोषमा नेपालको मेची अञ्चलको इलाम तथा नेपालबाहिरका दार्जिलिङ, सिक्किम र पश्चिम भुटानमा बसोवास गर्ने लेप्चा जाति, उक्त लेप्चा जातिको भाषा रोङ भाषा भनी उल्लेख छ ।
भाषा आयोगद्वारा प्रकाशित लाप्चा भाषाको इतिहास (२०७५) मा उल्लेख भए अनुसार इलाम जिल्लाको पनि पूर्वमा यिनीहरूको आदिम कालदेखि बसोबास रहँदै आएको पाइन्छ । इलामको सूर्योदय नगरपालिका, रोङ गाउँपालिका, माईजोगमाई गाउँपालिका, इलाम नगरपालिकामा लाप्चाहरूको बसोबास छ । इलाम जिल्लाको विभिन्न गाउँपालिका र नगरपालिकामा गरी कुल तीन हजार ६५ (स्रोत रोङ सेजुम ठी २०७२ को गणना) को सङ्ख्यामा लाप्चाहरूको बसोवास रहेको छ ।
मेचीदेखि महाकाली (भाग १, २०३१) मा लाच्चा जातिबारे चर्चा गरिएको छ । सो पुस्तकमा ‘लाप्चाहरू सिधा, परिश्रमी, मिलनसार र रमाइलो प्रवृत्तिका हुन्छन्’ भनिएको छ ।
पुस्तकमा भनिएको छ, “उनीहरू साधारणतः आशावादी हुन्छन् तथा खानपिन र नाचगानमा विशेष आनन्द लिन्छन् । आपसी मायाप्रीतिको सम्बन्धमा पनि खानेकुराले ठुलो भूमिका खेलेको हुन्छ । चाडपर्व, जन्म, मरण आदि अवसरमा भोज भत्यार चल्दछ । उनीहरू सबै किसिमका जङ्गली जनावर र कन्दमूल खान्छन् ।”
शिकारमा उनीहरू खासगरी मृग मार्ने गर्दछन् । पहिले पहिले पासो थापेर भालु समात्ने र त्यसको मासु खाने पनि गर्दथे । भालुलाई पासो थाप्ने शिकारीले तीन महिनासम्म यौनक्रियामा संलग्न हुनु हुँदैन, होइन भने भालु सिकार लाग्दैन भन्ने विश्वास उनीहरूमा रहेको सो पुस्तकमा उल्लेख गरिएको छ ।
केटीको घरमा कामदार
लाप्चाको बिहेबारी हुँदा आमाबाबुले कहिले पनि केटी माग्न जाँदैनन् । केटी माग्न जाने काम केटाको काका अथवा काका पर्नेले गर्दछ तर खास कुराकानी बेक्–बु (लमी) ले नै गर्दछ ।
केटाको तर्फबाट एक जना बेक्–बु (लमी) केटीको गाउँमा गई तिनको ‘बेक्–बु’ सित बिहेको कुरा चलाउँछन् । केटीका आमाबाबुले केटाको बारेमा सोधपुछ गर्दछन् । दुई पटकसम्म कुरा गर्न आउँदा आनाकानी गरिन्छ र तेस्रो पटक पनि केटीका बाबुआमाले आनाकानी गरेमा बिहेको कुराकानी त्यहीँ टुङ्गिन्छ ।
कुराकानी अघि बढेमा केटाकेटीको चिना देखाउने काम हुन्छ । यतिसम्म हुने गतिविधिलाई लेप्चाहरू ‘कुच्युङ’ भन्दछन् । त्यसपछि केटाकेटीबिच आसेक (मगनी) हुन्छ । आसेक गर्न केटी पक्षबाट केटा पक्षलाई उपहार पठाउनु पर्छ । यस्तो आसेक उपहारमा दुई वटा सुङ्गुर, तामाको एउटा ठुलो भाँडा, केही कपडा वा त्यसको सट्टामा पैसा राखिन्छ ।
आसेकपछि मात्र विवाह पक्का भएको मानिन्छ । यति भएपछि केटीले माइतीमै बसेर बच्चा जन्माए पनि सामाजिक मान्यता प्राप्त हुन्छ । आसेक लिएपछि कुनै कारणले विवाह हुन नसके केटा पक्षले लिएको उपहार सबै फिर्ता गर्नुपर्छ वा अर्को केटीको व्यवस्था गर्नुपर्छ । आसेक लिएर केटीको घर जाँदा केटाले काका, मामा, दाजु लिएर जान्छन् । तीन चार दिन नै केटीको घरमा केटा बस्छ । यस अवधिमा केटाकेटी सँगै बस्ने, खाने, सुत्ने गर्दछन् । केटाकेटीको कतिको मिल्ती छ ? कस्तो भावनात्मक सम्बन्ध छ ? भन्ने कुराको अन्यले ख्याल गरिराखेका हुन्छन् ।
आसेकपछि विवाह नहुन्जेलसम्म सासूससुराले बोलाएका बखत केटाले केटीको घरमा गएर काममा सघाउनु पर्दछ । सासूससुराले बिदा दिएपछि मात्र केटाले घर फर्कन पाउँछ । आसेक गरेको १८ महिनासम्ममा विवाह गरिन्छ । विवाहको दिनमा बेहुलाले लमीलाई साथमा लिएर सासूका लागि सुङ्गुरको एक साप्रो कोसेली बोकेर जान्छन् । यसरी जाँदा बेहुलीका दिदीबहिनीले तर्साएर भगाउन खोजेजस्तो गर्दछन् अनि केटाले केही उपहार दिएर खुसी बनाउँछन् । त्यसपछि दुलाहा आफ्नो घर फर्कन्छन् ।
दुलाहा फर्केपछि दुलहीसहित दुलहीको घरबाट जन्ती हिँड्छ । त्यसमा दुलहीसमेत करिब १२ जना हुन्छन् । साथमा एक भारी च्यि (जाँड), एक भारी भुटेको मकै र एउटा सुङ्गुर दुलहीको तर्फबाट कोसेलीमा लगिएको हुन्छ । जन्तीमा बाबुआमा जान्नन् र उनीहरू घरैमा बसिरहन्छन् । दुलाहाको घर पुग्नुअगाडि सो जन्ती तीन ठाउँमा रोकिन्छ । रोकिएको ठाउँमा खानपिन गर्दै जान्छन् । पहिलो रोकिने क्रमलाई चाङ्युक, दोस्रोलाई लोङ्सो र तेस्रोलाई गोरसुन भन्दछन् । जन्तीलाई बाटोभरि खुवाउने पिलाउने जिम्मेवारी दुलाहातिरको हुन्छ ।
गाड्ने कि फाल्ने
लाप्चा जातिमा व्यक्तिको देहान्त भएपछि सो मृत्यु गराउने भूतप्रेतले अर्को व्यक्तिमाथि जाई नलागोस् र मृत व्यक्ति पनि पूर्णरूपले पन्छियोस् भन्नेतिर लाप्चाहरू लाग्दछन् । लाप्चाहरूले शवलाई जलाउने, गाड्ने अथवा नदीमा फाल्ने गर्दछन् । शवलाई के गर्ने भन्ने कुरा लामाले मृत व्यक्तिको चिनाको आधारमा र मृत्यु भएको अवस्थालाई हेरी निर्णय लिन्छन् ।
लामालाई कहिले पनि गाडिन्न । उनीहरूलाई प्रायः जलाइन्छ र वर्षायाम भए नदीमा फालिन्छ । साधारण मानिसलाई कहिल्यै जलाइन्न । साना केटाकेटी मरेपछि नदीमा सेलाइदिन्छन् । शवलाई ढोकाबाट निकाल्ने चलन यो जातिमा छैन । लामाले कुन दिशातिर लैजाने भन्ने निर्देशन दिएपछि घरको भित्ता अथवा पर्खाल फोरेर शव निकाल्छन् र तुरुन्त सो ठाउँलाई बन्द गर्दछन् ।
मलामबाट फर्केर आउँदा बाटोमा सानो आगो बालेर राखिन्छ र मलामीहरू त्यसलाई नाघेर आउँछन् । घरको ढोकानिर एउटा चक्कु र फलामको केही टुक्रा पनि राखिन्छ तथा उनीहरूले त्यसलाई कुल्चेर हिँड्छन् । यसबाट मलामीहरू कालको चक्रबाट बच्छन् भन्ने लाप्चाहरूको विश्वास छ ।
धर्म, संस्कृति र चाडपर्व
लेप्चा जातिले आफूलाई बौद्ध धर्मावलम्बी भन्न मन पराउँछन् । यिनीहरूमा आफ्नै प्रकारको धार्मिक संस्कार र विश्वास पाइन्छ । आफ्नै लिपि भाषामा धार्मिक पुस्तक, भविष्यवाणी र उपचार विधिका पुस्तकसमेत यो जातिसँग छ । नेपालका लेप्चाले लिपिबारे विस्तारै जानकारी राख्न थालेका छन् । सिक्किमबाट लिपि जान्नेहरू बोलाई अध्ययन गर्ने गरेको पाइन्छ । लामा पुरोहितको सङ्ख्या कमी हुनुले कतिपय लेप्चाले ब्राह्मण पुरोहित पनि लगाउने गरेका छन् । अम्बिकादेवी पौड्यालका अनुसार लेप्चाहरूको संस्कृतिको आधारमा धर्मलाई ‘वुङथिङ्लोम र मनलोम’ भनिन्छ । यो यथार्थ धर्म नभई सामाजिक रीतिथितिको विधि मात्र हो ।
‘वुङथिङ्लोम’ भन्नाले पुरुष पुरोहित वा ‘विजुवा’ र ‘मत वुङथिङ’ भन्नाले स्त्री विजुवानी भन्ने बुझिन्छ । पितृप्रधान र मातृप्रधान सामाजिक संस्कारको आधारमा हेरिन्छ ।
उनका अनुसार लेप्चाको धर्मग्रन्थलाई ‘नामथर’ भनिन्छ । सबै गाउँमा उनीहरूको परम्परा अनुसार पूजाआजा र संस्कार सम्पन्न गराउने पुरोहित (बुङथिङ) को अभाव, मुखैले गर्ने चलन र मुद्रणको व्यवस्था नगरिएकाले ‘नामथर’ सबैसँग छैन । केही सीमित व्यक्तिसँग मात्र हस्तलिखित पुस्तक छन् ।
लेप्चाको आफ्नो लिपि र भाषा पढ्ने व्यवस्था नभएकाले लामासँग नै तिब्बती लिपि पढ्छन् । पूजाआजामा तिब्बती लिपिका ‘दोमाङ्ग’ ‘नैठी’ आदि पुस्तक पढ्ने र पढाउने गरिन्छ । त्यसैले लेप्चाको धार्मिक विधि मिश्रित किसिमको छ । लेप्चा जातिमा झारफुकको प्रभाव ज्यादा पाइन्छ । यिनीहरू ‘वुङथिङ’ बाट झारफुक तथा जडीबुटी उपचार गराउँछन् ।
लेप्चा जातिको आइत–छर्यो र नामथर जस्ता पवित्र धार्मिक ग्रन्थ छन् । लेप्चा र लिम्बूको देवदेवतामा धेरै नै सामीप्य छ भन्ने भनाइ छ । यिनै धार्मिक ग्रन्थका आधारमा विजुवा–विजुवानीले पूजाआजा र संस्कार सम्पन्न गराउँछन् ।
लेप्चा जातिमा कामका आधारमा गुम्बा लामा, हिसा लामा र अहिसा लामा गरी तीन थरीका लामा हुन्छन् । उनीहरू आफ्नो धार्मिक संस्थालाई अत्यन्तै सम्मान र विश्वास गर्दछन् तथा धार्मिक कार्य गर्दा सामूहिक रूपमा गर्छन् । कुनै एउटा लेप्चाको परिवारमा हुने धार्मिक कार्यमा सबैले फलफूल, अक्षता, रक्सी र अन्य वस्तु लगेर चढाउने चलन छ । उनीहरू यस कार्यलाई आफ्नो भाषामा ‘मिण्डे’ भन्छन् ।
उनीहरू धार्मिक कार्य गर्दा पालैपालो गुम्बामा गएर बत्ती बाल्छन् । पहिला पहिला गुम्बा सञ्चालन काजी, सुब्बा (लेप्चा जातिका ठालु वर्ग) ले नै गर्दथे । २०४६/४७ सालपछि लेप्चा समुदायले सरकारी निकायमा गुम्बा दर्ता गरी संस्थागत रूप दिएका छन् । लेप्चा जातिमा कञ्चनजङ्घा पूजा, फलोफजी रम्फाक, नौलो पूजा, न्वागी पूजा, सिल्ली तङ्वू पूजा, नामवन मुख्य रूपमा मनाइन्छ ।
लेप्चा जाति आफूलाई कञ्चनजङ्घा हिमालबाट उत्पत्ति भएको ठान्दछन् । आफ्नो सृष्टि स्थानलाई पवित्र पर्वत मानी सबैभन्दा पहिला लेप्चा जातिले कञ्चनजङ्घा हिमालको पूजा गर्छन् । लेप्चाले कञ्चनजङ्घालाई ‘इष्टदेव’ मान्दछन् । कञ्चनजङ्घाको विशेष पूजा हरेक वर्षको चौथो महिनाको चौथो दिन पर्वकै रूपमा गरिन्छ । यस पर्वमा नाचगान र भोजसमेत खाइन्छ । लेप्चाले कञ्चनजङ्घालाई ‘किम–चुम जोङ बु’ भन्छन् । नयाँ वर्षको दिन र नयाँ बाली भित्र्याउँदासमेत ‘इष्टदेव’ को पूजा गर्दछन् ।
कञ्चनजङ्घा पूजा गर्दा अग्लो डाँडोमा हिमालय पर्वततिर मुहार पारेर पूजाको वेदी तयार पारी किसिम किसिमका फलफूल, मेवा, मिष्ठान्न, धूपबत्ती चढाएर पूजा गरिन्छ । त्यो बेला वुङथिङले लेप्चाको उत्पत्तिको कथासहित प्रार्थना गर्दछन् । लेप्चा जातिमा नौलो पूजाको चलन पनि छ । दुःख बिमार परेका बेला गरिने पूजामा निश्चित तिथिमिति आवश्यक हुँदैन । घरभित्र थान बनाएर ‘बुङथिङ’ बाट यो पूजा गराइन्छ ।
लेप्चाले न्वागी पूजा पनि विशेष रूपमा मनाउँछन् । अन्न बाली पाकेको समय अर्थात् मङ्सिरदेखि फागुनसम्म यो पर्व मनाइन्छ । उनीहरूमा आफूले फलाएका प्रत्येक अन्नबाली ईश्वरलाई चढाएर मात्र खाने गरेमा दोष नलाग्ने विश्वास छ । पुर्खाको सम्झनामा प्रत्येक लेप्चाको घरमा धनुवाण र गुलेली राख्ने परम्परा रहेको छ । वार्षिक रूपमा धनुवाण प्रतियोगिता गर्ने परम्परा पनि छ । आफ्ना पितापुर्खाले प्रयोग गरेको धनुवाण र गुलेलीको पूजा गरी लेप्चा जातिले सिल्ली तङ्बु पूजा गर्दछन् । यो पूजा बर्सेनि नगरी स्वेच्छाले दुई/तीन वर्षको फरकमा पनि गर्न सकिन्छ ।
लेप्चाले भव्यतासाथ नामवन मनाउँछन् । लेप्चाको विभिन्न संस्कार तथा चाडपर्वमा देवता, राक्षस, भूत, प्रेतलाई बुझाउने, पूजा गर्ने कार्य गरिन्छ । त्यसमध्ये नामवन पनि एक हो । यस चाडमा पनि देवता र राक्षस दुवैलाई पूजाआजा गर्दै मुन्धुम फलाक्दै बुझाउने, बक्साउने र आराधना गर्ने काम गरिन्छ । यो पूजामा सूर्योदय नगरपालिका र रोङ गाउँपालिकाले सार्वजनिक बिदा दिने गरेको छ ।
–युवामञ्च