मधेशी आयोगले द्वितीय तथ्याङ्कमा आधारित भई २०७८ सालमा नेपालमा मधेशी समुदायको थर सूचीकरण अध्ययन प्रतिवेदन सार्वजनिक गरेको थियो ।
मुख्य गरी नेपालको कोशी र मधेश प्रदेशमा बसोवास गर्ने धानुक जातिको भारत, बङ्गलादेश र पाकिस्तानमा समेत बसोवास रहेको छ । यो जातीय समूहलाई धानुक, धानुका, धनिक, धेनिक, धानका, धानकिया, धनूर आदि थरले समेत चिनिन्छ ।
धानुक जातिमा गाउँको जान्ने बुझ्ने नेता छान्ने चलन छ । यस्तो नेतालाई ‘माइनजन’ भनिन्छ । यस्ता व्यक्तिले गाउँका बूढापाका व्यक्तिसमक्ष आफ्ना समस्या प्रस्तुत गरी समाजका कार्य अघि बढाउने गर्दछ ।
यस जातिमा धार्मिक क्रियाकलापको नेतृत्व ‘धामी’ लाई दिइएको हुन्छ । धानुक जातिको भाषा, संस्कृति संरक्षण र सङ्गठित गर्न धानुक सेवा समाज, धानुक विद्यार्थी समाज, डिक्का महासङ्घ जस्ता संस्था सक्रिय छन् ।
धानुक जातिमा लोककलाको पनि महत्त्वपूर्ण स्थान छ । धानुकको घरमा लोककला कोरिएको पाइन्छ । छठ, छठिहार, छेवर, विवाह, दीपावली, कृष्णअष्टमी, तिलासङ्क्रान्ति, सत्यनारायण पूजामा धानुक महिला चित्र कोर्दछन् । उनीहरू यस्ता लोककला कोर्न सिपालु हुन्छन् । चित्र लेख्ने कार्यलाई उनीहरू ‘लिखनाई’ भन्छन् । चित्र लेख्ने कार्यमा प्रायः महिला हुने भएकाले चित्र लेखिकालाई ‘लिखनिहारी’ भनिन्छ ।
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ अनुसार सूचीकृत ५९ आदिवासी जनजातिमध्ये धानुक जाति अति सीमान्तकृत समूहमा पर्दछ । धानुक जाति तराई क्षेत्रमा बसोबास गर्ने आदिवासी जनजाति हुन् ।
मधेशी आयोगले द्वितीय तथ्याङ्कमा आधारित भई २०७८ सालमा नेपालमा मधेशी समुदायको थर सूचीकरण अध्ययन प्रतिवेदन सार्वजनिक गरेको थियो । सो प्रतिवेदन अनुसार धानुक जातिका थर मण्डल, महतो, सदा, चौधरी, गराइन, नेपाली, कापर, निराला रहेको छ ।
राष्ट्रिय जनगणना, २०७८ अनुसार धानुक जातिको जनसङ्ख्या दुई लाख ५२ हजार १०५ रहेको छ । जसमा पुरुषको सङ्ख्या एक लाख २६ हजार ६७१ र महिलाको एक लाख २५ हजार ४३४ छ । प्रदेशगत हिसाबले धानुक जातिको बसोवास मधेश प्रदेशमा बढी छ । त्यसमा पनि सिराहा, सप्तरीमा धानुक जातिको उपस्थिति बढी पाइन्छ ।
महोत्तरी, सर्लाही, धनुषा, रौतहट, बारा, पर्सा, झापा, मोरङ र सुनसरी जिल्लामा धानुकको बसोवास रहेको छ । राष्ट्रिय जनगणना, २०६८ मा धानुक जातिको जनसङ्ख्या दुई लाख १९ हजार ८०८ देखाइएको थियो । यसरी तुलनात्मक रूपमा यस जातिको जनसङ्ख्या बढेको पाइन्छ ।
निर्मला बोहोराले ‘धानुक जातिको सामाजिक तथा आर्थिक अवस्था’ (२०७३) विषयमा शोध गरेकी छन् । यस शोधमा झापा जिल्लाको गौरादह गाउँ विकास समितिलाई आधार मानिएको छ । शोध अनुसार धानुकमा मण्डल, चौधरी, महतो, सदा, धानुक, धनकर, डिसी (धानुक क्षेत्री) आदि प्रचलित थर रहेका छन् । सिरोट, मगहिया, दुधवार, राजवंंशी र सुर गरी पाँच वटा शाखामा विभाजित धानुक जातिको सगोत्री जातिमा कुर्मी, केवट, अमातलगायत गनगाईसमेत छन् ।
यिनीहरूको प्राचीन भाषाको अहिलेसम्म पहिचान हुन सकेको छैन । धानुकले मैथिली, अवधी, भोजपुरी, नेपाली तथा बसाइसराइसँगै ग्रहण गरेका भाषा बोल्ने गर्दछन् । वर्तमानमा यो जातिका मानिस नेपालका काठमाडौँ तथा पूर्वको झापादेखि बारा, पर्सालगायतका जिल्लामा बसोवास गर्दछन् (धानुक दर्पण, २०६८) ।
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको वेबसाइटमा राखिएको ‘नेपालका आदिवासी जनजाति धानुक जातिको सङ्क्षिप्त परिचय’ मा उल्लेख भए अनुसार यस जातिमा मण्डल, चौधरी, महतो, सदा धानुक, धनकर आदि थर प्रचलित छन् । सिरौढ, मगहिया (मधैया), दुधवार र सुर गरी चार वटा शाखामा फैलिएको धानुक जातिको सगोत्री जातिमा कुर्मी, केवट र अमात हुन् ।
खेतीपाती गर्नेलाई सिरौढ, पशुपालन गरी दुध उत्पादन बिक्री गर्ने हुँदा दुधवार, मजदुरी तथा जमिनदारको रखबारी, पहरेदार गर्नेलाई सपोलिया र मधैया नामकरण भयो । धानुक जातिमा गोत्रको प्रचलन नभए पनि कतिपयले कश्यप र शाण्डिल गोत्र भन्ने गरेको पाइन्छ । विवाहमा गोत्रको खासै अर्थ रहँदैन । उनीहरूमा रक्तसम्बन्ध केलाएर विवाह गर्ने परम्परा छ ।
विवाह
धानुक जातिमा मागी विवाह, प्रेम विवाह, विधवा विवाह, सट्टापट्टा (गोलट) विवाह गरेको देखिन्छ । बालविवाह र बहुविवाह यो जातिमा पहिले भए पनि अहिले यस्तो प्रायः देखिँदैन ।
पहिले पहिले धानुक जातिमा विधवा विवाहको चलन रहेको थियो । यस जातिमा दाजुको मृत्युपछि भाउजूको विवाह देवरसँग गर्ने परम्परा रहेकोमा वर्तमानमा यस्तो परम्परा विरलै देख्न पाइन्छ । साथै अध्ययन क्षेत्रका धानुकमा यस्तो किसिमको विवाह भएको पाइएन (बोहोरा, शोध, २०७३) ।
चाडपर्व, परम्परा र चालचलन
धानुक जातिको विवाह, संस्कार, यज्ञ, पूजा जस्ता कर्मकाण्डमा मैथिल ब्राह्मण लगाउने गरिन्छ । उनीहरूले हिन्दु धर्मलाई नै पछ्याउँछन् । धानुक समाजमा धामीझाँक्री, तन्त्रमन्त्र, भूतप्रेत र टोनाटापरमा विश्वास राखेको देखिन्छ । उनीहरूमा कुस्ती खेल लोकप्रिय छ ।
धानुक जातिले कुल देवताका रूपमा गहिल, गोरिया, धर्मराज, विषहरा, काली, अन्दी र मीरालाई पुज्ने गर्दछन् । उनीहरूमा असारही पूजा, वटसावित्री पूजा, भगवती पूजा, जितियापर्व, सिरुवापर्व, समाचकेवापर्व, भ्रातृद्वितीया, सीताराम, राधाकृष्ण, शिवपार्वतीको पूजा गर्ने प्रचलन छ । दशैँ, दीपावली, छठ, समाचकेवा पनि उनीहरूले मनाउँछन् । उनीहरूले मुख्य रूपमा नेवान, मकर सङ्क्रान्ति, शिवरात्रि, होली, रामनवमी, जुडशीतल, नागपञ्चमी, रक्षाबन्धन, कृष्णअष्टमी, गणेश चतुर्दशी जस्ता पर्व मनाउने गर्छन् ।
धानुक जातिको बसोवास रहेको गाउँको छेउ डिहीवार थान हुन्छ । जहाँ सम्पूर्ण गाउँले भेला भई बर्सेनि पूजा गर्दछन् । वैशाख १ गतेलाई नयाँ वर्षका रूपमा धुमधामसँग मनाउने परम्परा छ । यस पर्वमा संलग्न हुँदा धानुक समुदायले आफ्नो गाउँको ग्रामथानमा भेला भएर सामूहिक पूजा गर्दछन् । प्रत्येकले आआफ्नो घरमा कुलदेवताको पूजा गर्छन् । नववर्ष मनाउने क्रममा ग्रामथान र कुलदेवताका अतिरिक्त दुर्गापूजा, कालीपूजा र अन्य देवीदेवताको समेत पूजा गरिन्छ ।
धानुक समुदायले जितिया पर्व मनाउँछन् । जितिया पर्व विवाहित धानुक महिलाले मनाउने गरेको पाइन्छ । यस पर्वको पहिलो दिन कोदोको रोटीका साथ माछा खाने चलन छ । राति स्वादिष्ट परिकार बनाई खाने गरिन्छ । बिहान सूर्योदय हुनुअगावै व्रतालुले परिवारका साथमा खाने गर्छन् । जसलाई अठिगन भनिन्छ ।
धानुकले माघेसङ्क्रान्तिको बिहान सबेरै उठी नजिकको नदीमा गएर नुहाउने अनि ग्रामथान, ठाकुर ब्राह्मणीको थानमा विधिविधान अनुसार पूजा गर्दछन् । नागप्रति धानुक जातिको अत्यन्त आस्था र विश्वास छ । नागपञ्चमीका दिनमा गोबरले घर घेरी बिच बिचमा गोबरको नाग बनाउँछन् । नागलाई देवताका रूपमा मानी आदर सम्मान गर्दछन् । धानुकले साउन सलोनी पूर्णिमाका दिन रक्षाबन्धन चाड मनाउँछन् । यस दिनमा पूजा विधिद्वारा पवित्र पारिएको बेसारमा रङ्गाइएको धागो दाजुभाइलाई बाँधिदिन्छन र मिष्ठान खुवाउँछन् । धानुक जातिको प्रमुख चाड छैठ पनि हो ।
धानुक गाउँमा कीर्तन मण्डली पनि हुन्छ । मण्डलीले सत्यनारायण, तुलसी, सुरदास, मीरा र विधापति गाउने गर्दछन् । धानुक महिलामा मिथिला र थारू संस्कृतिको प्रभाव पाइन्छ ।
लोकसंस्कृति र लोकगायनमा धानुक जाति धनी छ । जुडशीतलमा खेलिने धुरखेल, सुकरातमा खेलिने हुर्राहुर्री, फागुमा होली, समाचकेवा, जाटजाटिन जस्ता मनोरञ्जनात्मक खेल, कला धानुक समाजमा संस्कृतिकै रूपमा स्थापित छ ।
धानुक जातिमा लोकगीत, ऋतु गीत, स्तुति, धामी, नृत्यु, विरह, संस्कार गीत गाउने चलन छ । उनीहरूमा सोरठी, बृजमान, लौटी मनियार, बिसहरा, सहलेस नाच, रसलीला नाच प्रचलनमा छ । उनीहरू गोसाउनी, भगत, नचारी, सांहर, समदौन, वटगमनी र बारहमासा गीत, समाचकेवा, जारजटिन, होरी गाउने गर्दछन् ।
जन्म र मृत्यु संस्कार
धानुक जातिको जन्म संस्कार अनौठो खालको छ । शिशुको जन्मपछि सुत्केरी आमा र शिशुलाई छुट्टै विशेष कोठा व्यवस्था गरिएको हुन्छ । सुत्केरी र शिशुको रेखदेख गर्न चमार जातिको सुँडेनी महिला राखिन्छ ।
जन्मिएको छ दिनमा शिशुको छटिहार पूजा गरिन्छ । जन्मिएको १२ दिनमा शिशुको वरही गरी चोख्याउने चलन छ । त्यसअघि शिशुलाई शुद्ध पानीले आँगनमा नुहाई चोख्याउने कार्य गरिन्छ । छ महिनामा अन्नप्रासन र छोराको कपाल मुण्डन गर्ने संस्कार पनि धानुक जातिमा रहेको छ । शोधकर्ता निर्मला बोहोराका अनुसार धानुक भाषामा जन्म संस्कारलाई जनमकरम भनिन्छ । धानुक जातिमा बालक जन्मिँदा चमिनियाँ (सुँडेनी) बोलाउने चलन छ । वर्तमान समयमा भने अस्पताल लगेको देखिन्छ ।
शिशुको जन्म भएपछि नाभि काटने, नुहाइधुवाई गर्ने, सुत्केरीलाई नुहाइदिने, कपडा लगाइदिने एवं तेल घसिदिने आदि सबै काम चमिनियाँले गर्दछिन् । सुत्केरीलाई बच्चा जन्मेको छ दिनमा चोख्याइन्छ । चमिनियाँले आवश्यकता अनुसार बच्चा र आमाको हेरचाह गर्दछिन् । चमिनियाँले यसरी काम गरी दिएबापत भेटीमा पैसा, अनाज, लत्ताकपडा पाउँछिन् । त्यस्तै धानुकले बच्चा जन्मेपछि आफ्ना छिमेकी, इष्टमित्रलाई बोलाई खुसी बाँड्ने परम्परा छ (बोहोरा, शोधः २०७३) ।
धानुक समाजमा मानिसको दुई थरी मृत्यु हन्छ भन्ने विश्वास छ । एउटा साधारण र अर्को असाधारण वा अप्राकृतिक । साधारण मृत्यु दैवले डाँकेको बेलामा समय पुगिसकेपछि हुने गर्दछ । असाधारण मृत्यु कुनै रोग, दुर्घटना वा जङ्गली जनावरको आक्रमणबाट या भूतप्रेतका कारणले हुने मानिन्छ । धानुक जातिमा पनि १३ दिन जुठो बारी किरिया बस्ने कार्य हुन्छ । प्रेतलोकबाट उतारी स्वर्गलोकमा मृतकको आत्मालाई पठाउने चलन धानुक जातिमा पाइन्छ । मृत्युको अन्तिम घडीमा परिवारका सबै सदस्यले पालैपालो मृतकलाई पानी खुवाउने चलन छ । मृतकको मुखमा सुनको वा चाँदीको वा नभए तामाको चम्चा वा कुनै धातुको टुक्रा राख्ने चलन छ ।
शवलाई घाटमा लानुअघि लुगा फेर्ने, शरीरमा चन्दन र तेलको लेपन गर्ने गरिन्छ । घाटमा शवको खुट्टा नदीमा छुवाएर राखिन्छ । जलाउँदा टाउको उत्तर दिशातिर फर्काइन्छ । पाँच वर्षभन्दा कम उमेरको मृतक भएमा शव गाड्ने चलन छ । मलामीले नदीमा नुहाई भिजेको लुगासहित घर फर्कनु पर्दछ । शोक परेको दुई दिनपछि गरिने विधिलाई दुधिया भनिन्छ । त्यो दिन शव जलाएको ठाउँमा दुध चढाई त्यसलाई माटोले छोपिन्छ । त्यसपछि दाजुभाइ र इष्टमित्रलाई दुधिया भोज (दही चिउरा) खुवाउने चलन छ ।
तेस्रो दिन दही चिउरा सखर ‘तिराइत भोज’ र सातौँ दिन ‘सतधन’ गरिन्छ । गाउँलेलाई र नातेदारलाई दही, चिउरा, सखर खुवाउने कार्य नै ‘सतधन’ हो । तेह्र दिनको कार्यपछि ‘सभा भोज’ गरिन्छ ।
–युवामञ्च