राममणि दाहाल
हेटौँडा, असोज २४ गते । मकवानपुरको भीमफेदी गाउँपालिका –१ मा भीरबाट खसेको ढुङ्गा बसको अगाडिको भागको सिसामा लागेर फुट्न गई दाहिने हातमा र पेटमा चोट लागेर घाइते भएकी एक बालिकाको उपचारको क्रममा मृत्युभएको छ ।
त्रिभुवन राजपथ सडक खण्डको मकवानपुरको भीमफेदी गाउँपालिका –१ सुन्दरीमाईमा हेटौँडाबाट ईचुङतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ख ३३१० नं. को यात्रु बोकेको लोकल बसमा सवार घाइते रिङ्कु थिङको बिहीबार बिहान उपचारको क्रममा मृत्युभएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ ।
मकवानपुरगढी गाउँपालिका वडा ८ की १२ वर्षीया थिङ बसमा बसेको अवस्थामा मङ्गलबार दिउँसो सिटमा अचानक माथि भिरबाट ढुङ्गा खसेर बसको अगाडि भागमा लागी सिसाले दाहीने हातमा र पेटमा चोट लागेर घाइते भएपछि उपचारका लागि हेटौँडा अस्पताल ल्याइएकोमा थप उपचारका लागि सोही दिन पुरानो मेडिकल कलेज भरतपुर चितवन पठाइएको थियो ।
पुरानो मेडिकल कलेजबाट पुनः थप उपचारका लागि नयाँ मेडिकल कलेज गएकोमा बिहीबार ३:१० बजेको समयमा उपचारको क्रममा मृत्यु भएको जनाउँदै प्रहरीले बस र बसका चालक नियन्त्रणमा लिएको जनाएको छ ।