• ११ पुस २०८१, बिहिबार

बालापनको दसैँ

blog

बाल्यकालमा दसैँमा मिठो कसरी खान पाइन्छ, राम्रो कसरी लगाउन पाइन्छ भन्ने मात्रै सोचिन्थ्यो । यस्तै लुगा हुनु पर्छ भन्ने हुँदैन थियो तर नयाँ चाहिँ हुनु पथ्र्याे । नयाँ लुगा लगाएपछि निकै रमाइलो लाग्थ्यो । दसैँमा किनेको लुगा वर्षभरि लगाउनुपर्ने भएकाले निकै जतनसाथ लगाइन्थ्यो । फाट्यो भने टालो हाल्ने चलन हुन्थ्यो । 

दसैँमा गरिब वा धनी सबैले नयाँ लुगा सिलाउँथे । लुगा सिलाउन सूचिकारलाई भ्याइनभ्याइ हुन्थ्यो । धनीहरूको लुगा सूचीकारले पहिला नै सिलाइदिन्थे तर गरिबको भ्याइँदैन भनेर दसैँपछि सिलाइदिन्थे । पछिसम्म लगाउन मिल्छ, छोटो हुँदैन भनेर लुगा सिलाउँदा प्रायः ठुलो सिलाइन्थ्यो । केटाले प्रायजसो दौरासुरुवाल, कमिज सुरुवाल, केहीले सर्ट पाइन्ट सिलाएर लगाउँथे । महिलाले फरिया, चोलो र पटुका लगाउने चलन थियो ।

त्यो बेला जुत्ता लगाउने चलन एकदमै कम थियो । त्यो बेला मामाघर, ससुराली घर जानेमध्ये थोरैले मात्र जुत्ता लगाउँथे । मोजा लगाउने कुरा त दुर्लभ जस्तै हुन्थ्यो । मैले ३ कक्षा पढ्ने बेलामा जुत्ता लगाउन पाएको थिएँ । यो कुरा आजभन्दा झन्डै ८५ वर्षअघिको हो । बजारमा जुत्ता एकदमै कम किन्न पाइन्थ्यो । सार्कीले सिलाएका जुत्ता लगाउने चलन थियो । जुत्ता पनि सूचीकारले जस्तै पालो कुरेर सिलाउने चलन थियो ।   

टीका लगाउँदा दुई/तीन पैसा दक्षिणा दिन्थे । पाँच पैसा पाउनु ठुलै कुरा हुन्थ्यो । पाँच पैसाले धेरै कुरा किन्न पुग्थ्यो । मिठाई, मिस्री, छोकडा, नरिवल, चकलेट किनिन्थ्यो । एक पैसाको १२ टुक्रा सुपारी आउँथ्यो । आमाबाले दक्षिणा जम्मा गरेर जुत्ता चप्पल किन्नू भनेर फकाउनुहुन्थ्यो ।  नयाँ लुगा लगाएर मामाघर जान पाउनु निकै रमाइलो हुन्थ्यो । केटाकेटीका लागि मामाघर अत्यन्तै प्यारो हुने रहेछ । हामी मामाघर हिँडेर चार/पाँच घण्टामा पुग्थ्यौँ । उसै दिन फर्किएर घर आउन सम्भव हुँदैन थियो । मामाले दक्षिणबापत दुई पैसा दिएको सम्झना छ ।  अरू बेला मासु खान मुस्किलले पाइन्थ्यो । 

चैत दसैँ वा बडादसैँमा मात्रै मासु खाइन्थ्यो । दसैँमा मात्र पेटभरि मासु खान पाइन्थ्यो । चैते दसैँमा एक दिन मात्रै मासु खाइन्थ्यो भने बडादसैँमा पूर्णिमासम्म मासु खाने चलन थियो । दसैँमा मासु भात, भुटन, रगती खाने गरिन्थ्यो । चिउरा पनि खाइन्थ्यो ।  

गाउँमा पिङ हालेपछि बल्ल दसैँ आयो जस्तो हुन्थ्यो । पिङ हाल्न पोहर सालको डोरी कसका घरमा छ भनेर खोजिन्थ्यो । घर घर गएर पिङका लागि बाबियो मागेर ल्याउँथ्यौ । बाँस मागेर पाइँदैन थियो । त्यसैले बाँस किन्नै पथ्र्यो । हाम्रो गाउँमा प्रायः लिङ्गे पिङ हाल्ने चलन थियो । काँठ क्षेत्रमा प्रायः रोटे पिङ र जाते पिङ हाल्दैन थिए । काँचो इँट वा माटोले बनाएको घर वर्षभरिको घामपानीले खुइली सकेको हुन्थ्यो । त्यसैले हरेक दसैँमा घर रङ्ग्याउने चलन थियो । त्यो बेला घर प्रायः दुईतले हुन्थे । रातो माटो घोलेर रङ बनाइन्थ्यो । 

मुना

Author
वीरेन्द्र ओली

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।