• ५ चैत २०८२, बिहिबार

छोराछोरी स्कुल पठाएर उद्योगतिर आमा

blog

गुलरिया समाचारदाता

गुलरिया (बर्दिया), चैत ५ गते । एक वर्षअगाडि ठाकुरबाबा नगरपालिका–८, भुड्कैयाका महिला छोराछोरी विद्यालय पठाएपछि मोबाइल चलाएर दिन बिताउँथे । अहिले दुनाटपरी उद्योग खोलेपछि दिनभर उद्योगमा व्यस्त हुने गरेका छन् । 

छोराछोरी विद्यालय गएपछि खाली समयमा दुनाटपरी उद्योग सञ्चालन गरेर भुड्कैया महिला समूहका १५ जना महिलाले राम्रो आम्दानी गरिरहेका छन् । सिन्का चिर्न, सालको पात केलाउन र टपरी लगाउन महिला व्यस्त देखिन्छन् । कोही टपरीको आकार दिनका लागि मेसिन चलाइरहेका हुन्छन् भने कोही प्याकिङ गर्न व्यस्त देखिनुहुन्छ । 

“उद्योगमा आएपछि समय बितेको थाहै हुँदैन,” स्थानीय नीलम चौधरीले भन्नुभयो, “पहिले चल्छ कि चल्दैन भनेर सुरु गरेका थियौँ अहिले राम्रै चलेको छ ।”  दुनाटपरी उद्योग सञ्चालन भएपछि समूहका १५ जना महिलाले प्रत्यक्ष रोजगारी पाएका छन् भने महिलाले सालको पात सङ्कलन गरेर उद्योगमा ल्याएर बेच्ने गरेका छन् । समूहका अध्यक्ष मञ्जु थारूले उद्योगलाई अझ राम्रो बनाउँदै लैजान रकम समूहको कोषमा राखिरहेको बताउनुभयो । नगरपालिकाको सहयोग भएमा अरू उपयोगी घरेलु र हातले बनाउने सामानको उत्पादन गर्ने र कोसेलीघर सञ्चालन गर्ने योजना रहेको उहाँले बताउनुभयो । 

बजारमा पाइने प्लास्टिकका प्लेट विस्थापित गर्न बर्दियाको ठाकुरबाबा नगरपालिका र दलित महिला उत्थान सङ्घको सहयोगमा दुनाटपरी उद्योग गत साउनदेखि सञ्चालनमा आएको हो । जङ्गलमा खेर गइरहेको सालको पातलाई सङ्कलन गरी दुनाटपरी बनाउने गरिएको छ । 

दुनाटपरी उद्योग सञ्चालनका लागि ठाकुरबाबा नगरपालिकाले दुई लाख ७९ हजार रुपियाँ बराबरको दुनाटपरी बनाउने मेसिन सहयोग गरेको छ । तालिमका लागि आवश्यक सामग्री र एक लाख ६० हजार बिउ पुँजी दलित महिला उत्थान सङ्घ बर्दियाले सहयोग गरेको छ । 

ठाकुरबाबा नगरपालिका उपप्रमुख बिना भट्टराईले प्लास्टिकका प्लेट विस्थापन गर्नका लागि दुनाटपरी उद्योग सञ्चालन गरिएकोबताउनुभयो । ठाकुरबाबा नगरपालिकामा बर्दियाको मुख्य पर्यटकीय क्षेत्र बर्दिया राष्ट्रिय निकुञ्ज पर्छ । पर्यटकीय क्षेत्र भएको हुनाले पनि नगरपालिकाले जैविक विविधताको संरक्षण गर्नका लागि प्लास्टिकजन्य वस्तु प्रयोगमा निरुत्साहित गरेको छ ।