नवराज कट्टेल
विराटनगर, चैत ५ गते । विराटनगर–११ स्थित आरोग्य खाद्य उद्योग (कुटानी–पिसानी मिल) का सञ्चालक विजय बरालले गत वर्ष चार हजार पाँच सय रुपियाँ प्रतिमन तोरी खरिद गरेर पाँच हजार प्रतिमनले बिक्री गर्नुभयो । आफ्नै मिलमा तोरी पेलेर निकालेको तेल चार सय रुपियाँ प्रतिलिटरमा बिक्री भएको थियो ।
मोरङ, सुनसरी, झापामा उत्पादन हुने तोरी खरिद गरेर कच्चा वा तेल बिक्री गर्ने गरेका बरालले यस वर्ष भने कच्चा तोरी अभाव झेल्नु परेको छ । कच्चा तोरी खरिद गर्दा पनि छ हजार पाँच सय प्रतिमन मूल्य किसानको खेतमै बुझाउनुपर्ने भएको छ । कच्चा तोरी विराटनगरमा बिक्री गर्दा सात हजार प्रतिमन पुग्छ । बरालका अनुसार किसानको खेतबाट तोरी उठाएर मिलसम्म ल्याउने ढुवानीको खर्चसमेत जोड्दा यसपछि तोरीको मूल्य सात हजार पुग्ने छ । अहिलेसम्म भने तोरी छ हजार पाँच सयमा नै बिक्री गरिरहेको उहाँको भनाइ छ । १५ दिनअगाडिसम्म तोरी पाँच हजार सात सय प्रतिमन किसानको खेतमा बिक्री भइरहेको थियो ।
मध्यपूर्व तनावका कारण अहिले सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योगमा समेत कच्चा तोरी प्रशस्त छैन । यहाँ खानेतेलमा झन्डै प्रतिलिटर १५ रुपियाँ मूल्यवृद्धि भइसकेको छ । बागमती बयलका सञ्चालक एवं नेपाल उद्योग वाणिज्य महासङ्घका सदस्य देवकीनन्दन अग्रवालका अनुसार अहिले सूर्यमुखी तेलमा प्रतिलिटर २५ रुपियाँ वृद्धि भएर २७५ उत्पादन मूल्य पुगेको छ । यसै गरी सोयाबिनमा १५ रुपियाँ वृद्धि भएर २६५ र तोरी तेलमा १५ रुपियाँ वृद्धि भएर २८८ उत्पादन मूल्य पुगेको छ ।
इरानसँग अमेरिका–इजरायलको युद्धले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यवृद्धि भएको उहाँको भनाइ छ । कच्चा तेलका निर्यातकर्ताले आयातकर्ताको अर्डर लिन छाडेको उद्योगीहरूको गुनासो छ । लोडिङ र सिपमेन्ट गर्नसमेत समस्या परिरहेको उहाँको भनाइ छ ।
मोरङ उद्योग व्यापार सङ्घका वरिष्ठ उपाध्यक्ष अनिल शारडाका अनुसार मध्यपूर्वको मुख्य सामुद्रिक मार्ग स्ट्रेट अफ हर्मुजको अवरोधले नेपालका धेरै उद्योगमा समस्या देखिएको छ । जसबाट कच्चा तेलको मूल्य, आपूर्ति र ढुवानीमा असर बढ्दो भने प्याकेजिङका उद्योगले कच्चा पदार्थ पाउने स्थिति कमजोर बन्दै गइरहेको छ ।
उद्योगी शारडाका अनुसार खासमा नेपाल आउने सामान सामुद्रिक मार्ग स्वेज क्यानलबाट ढुवानी हुन्छ । स्ट्रेट अफ हर्मुज ठप्प भएपछि स्वेज क्यानलमा मालवाहक जहाजको ट्राफिकिङले समस्या बढिरहेको हो । हर्मुजबाट स्वेजमा मालवाहक जहाजको रुट बदलिएको छ ।
उद्योगीका अनुसार कच्चा तेलका आपूर्तिकर्ताले निर्यातको अर्डर लिनसमेत मान्न छोडेका छन् । युद्ध सुरु हुनुभन्दा अघि टनको एक हजार २२० डलर रहेको भटमासको कच्चा तेलको पन्ध्र दिनअगाडि नै मूल्य एक हजार २८० पुगेको थियो । भटमासको कच्चा तेल अर्जेन्टिना र ब्राजिल नेपालमा आयात हुन्छ । युक्रेन र अर्जेन्टिनाबाट आयात हुने सूर्यमुखीको कच्चा पदार्थ टनको एक हजार चार सय डलर रहेकोबाट एक हजार ५२० पुगेको छ ।
श्याम एग्रो तेल उद्योगका सञ्चालक श्रवण अग्रवालका अनुसार नेपालमा उत्पादन हुने तोरी यहाँका ठुला उद्योगले खरिद गर्दैनन् । ठुलो परिमाणमा आयात गरेर त्यसको प्रशोधनपछि बजार पठाउने उद्योगीलाई अहिले कच्चा पदार्थको अभाव भइरहेको छ । स्थानीय किसानले उत्पादन गरेको तोरी उद्योगीले आयात गरेर ल्याउनेभन्दा पनि महँगो बनेको उहाँको भनाइ छ । अग्रवालले अहिले पनि भारतबाट आयात गरिने तोरीको मूल्य उद्योगमा ल्याइपु¥याउँदा प्रतिमन पाँच हजार दुई सय पर्छ । स्थानीय किसानको खेतमा पुगेर खरिद गर्दा त्योभन्दा महँगो छ ।
यस पटक भने तोरी लगाएपछि हिउँदभर पानी कम परेका कारण उत्पादनसमेत कम भएको किसान बताउँछन् । मोरङको सुन्दरहरैँचा नगरपालिका–१, हरैँचाका किसान गङ्गा कोइरालाका अनुसार समयमै पानी नपर्दा गत वर्ष १० मन उत्पादन भएको क्षेत्रमा यस पटक पाँच मन मात्रै राम्रो दाना भएको तोरी उत्पादन भएको छ । “मङ्सिरमा तोरी छर्ने बेलामा पानी परेपछि हिलो भयो, त्यो सुकेर लगाउँदा चिसो बढ्यो, तोरी फस्टाएन,” कोइरालाले बताउनुभयो ।