सुनील पुरी
वस्तुतः
खुसीका सुकोमल अश्रुसिन्धुहरू
बग्दैछन् खड्कुलो र डेक्चीहरूमा
र भरिँदै भरिँदै गइरहेको छ
पीडाको अकल्पनीय भण्डार,
क्रमशः
बाँच्ने क्रममा जारी छन् मान्छेहरू
आ–आफ्नै शैली, भाषा र परिस्कारबाट
र अनुभूत प्रत्याभूत हुन्छन्
आफैँसित तीतामीठा
अनुभवको संवेष्टन,
जीवनको शब्दकोशमा
पर्याय शब्द खोज्दैछु
तर थाहा छैन
कहाँ छ यो मानव मन
जन्म
र मृत्युको दूरीमा अल्झिएको छ
जीवनको तुना
तुना कैले चुँडिन्छ
तुना कैले बाँधिन्छ
यसरी नै तुनासँगै अल्झिएको छ मानव जीवन
अन्ततः
कैले रित्ता भाँडाहरू बज्छ
राग ध्वनि
कैले खुसीका पटकथाहरूमा बज्छ
संवादको अनुक्रम
कैले विश्रान्तिको गाथामा
लम्किन्छ, लम्किरहन्छ,
आत्मरतिमा यो एक्लो मन !