• १२ असोज २०८१, शनिबार

रेबिजविरुद्ध दिवस

‘बेवास्ता गर्दा धेरैको अदृश्य रूपमा ज्यान जान्छ’

blog

काठमाडौँ, असोज १२ गते । पछिल्ला केही वर्षमा जनावरको टोकाइबाट सर्ने रेबिज रोग प्रमुख जनस्वास्थ्यको समस्याका रूपमा देखा परेको छ । विश्व स्वास्थ्य सङ्गठनको प्रतिवेदनअनुसार विश्वमा हरेक वर्ष रेबिजको कारणले लगभग ६० हजार मानिसको मृत्यु हुने अनुमान गरेको छ । 

एसियामा मात्र रेबिजका कारणले ३५ हजार भन्दा बढी मानिसको मृत्यु हुने गर्छ । ४० प्रतिशत १५ वर्ष मुनिका बालबालिका रेबिजबाट प्रभावित हुने उक्त प्रतिवेदनले देखाएको छ ।  इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार नेपालमा हरेक वर्ष एकसय जनामा रेबिज देखिने गर्छन् भने लगभग आधा जनसङ्ख्या रेबिजको उच्च जोखिममा छन् । 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आएकामध्ये ५० प्रतिशत बिरामी जनावरको टोकाइबाट आउने गर्दछन् । अस्पतालका निर्देशक डा. युवानिधि बसौलाका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा ५४ हजार २४३ ले रेबिजविरुद्धको खोप लगाएको जानकारी दिनुभयो । 

उहाँका अनुसार सोही समयमा १४ जनाको मृत्यु भएको थियो । डा. बसौलाका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा नौ हजार ५७२ जना रेबिजविरुद्धको खोप लगाउन अस्पतालमा आएका छन् भने सोही समयमा दुई जनाको मृत्यु भएको छ । 

कस्तो रोग हो ?

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार रेबिज एक प्रकारको भाइरल इन्फेक्सन हो । रेबिज भाइरस जनावरको टोकाइबाट मानिसमा सङ्क्रमण सर्नेगर्छ । 

रेबिज भएका कुकुर, बिरालो, स्याललगायतका जनावरको टोकाइबाट रेबिज रोग लाग्ने उहाँको भनाइ छ । रेबिज रोग लागेका जनावरले टोकेमा र्‍यालको माध्यमबाट मानिसमा सर्ने गर्छ । यस्ता सङ्क्रमित जनावरले घाउ भएको ठाउँमा, चोटपटक लागेको छालामा चाटेमा वा र्‍याल परेमा रेबिज सर्ने डा. पुन बताउनुहुन्छ । 

सङ्क्रमित जनावरको र्‍यालमा जीवाणु हुन्छन् । जति धेरै र्‍यालमा जीवाणु हुन्छन् । त्यति नै छिटो घाइतेको शरीरमा प्रवेश गर्छ । छिटो सङ्क्रमण फैलन सक्छ । सुरुमा घाउ हुन्छ । सङ्क्रमित र्‍याल स–साना नसा हुँदै मस्तिष्कमा जान्छ । मस्तिष्कमा पुगेपछि यो विरुद्धको खोपले काम नगर्ने डा. पुन बताउनुहुन्छ । 

रेबिजका लक्षण 

रेबिज भएका जनावरले टोकेको एकदेखि तीन महिनामा रेबिजका लक्षणहरू देखिने डा. पुन बताउनुहुन्छ । रेबिजको सङ्क्रमण भएको जनावरले टोकेमा सुरुवाती चरणमा लक्षण नदेखिने डा. पुनको भनाइ छ ।   

उहाँ भन्नुहुन्छ, “रेबिज भएका जनावरले टोकेको एकदेखि तीन महिनामा रेबिजका लक्षणहरू देखिन्छन् । कुनै समयमा एक वर्षमा पनि यसका लक्षण देखिने गर्छ ।” डा. पुनका अनुसार रेबिज मानिसअनुसार लक्षण फरक–फरक देखिने गर्दछन् । सुरुवाती चरणमा हल्का ज्वरो आउने, शरीर दुख्ने, झम्झमाउने जस्ता लक्षण देखाउँदा धेरैले बेवास्ता गर्ने उहाँको भनाइ छ । 

रेबिज भाइरस शरीरमा प्रदेश गरेपछि ढाड दुख्ने, शरीरको तल्लो भाग दुख्नेजस्ता लक्षण देखिन्छ । यस्तो लक्षण देखिएको दुई तीन दिनपछि हावा र पानीसँग डर लाग्ने, छटपटी हुने, आक्रामक हुने जस्ता लक्षण देखिने डा. पुनले जानकारी दिनुभयो । 

कुनै–कुनै रेबिजका लक्षण देखिएका बिरामीले सामान तोडफोड गर्ने, समाल्नै नसक्ने जस्ता आक्रामक व्यवहार देखाउने डा.पुन बताउनुहुन्छ । लक्षण देखिएपछि बिरामीको सत प्रतिशत मृत्यु हुने पुनको भनाइ छ । डा. पुनका अनुसार रेबिजको लक्षण देखिएको पाँच–छ दिनमा मृत्यु हुने गर्छ । उहाँ भन्नुहुन्छ, “रेबिजको लक्षण देखिएपछि उपचार हुँदैन । बिरामीको शतप्रतिशत मृत्यु हुने गर्छ । सामान्यतया लक्षण देखिएको पाँच–छ दिनमा बिरामीको मृत्यु हुन्छ ।” 

ज्यान लिँदै रेबिजले 

डा. पुनका अनुसार वर्षौँदेखि रेबिजको सङ्क्रमणले अदृश्य रूपमा धेरै मानिसको ज्यान लिइरहेको छ । विश्वभर रेबिज उपेक्षित रोगका रूपमा लिने गरिन्छ । उहाँ भन्नुहुन्छ, “रेबिज एक उपेक्षित रोग हो । यसले अदृश्य रूपमा धेरै मानिसको ज्यान लिइरहेको छ । जसलाई जनावरले टोक्छ त्यही मानिसले उपेक्षा गर्दा मृत्यु हुने गर्छ ।” 

रेबिजविरुद्धको भ्याक्सिन हुँदा पनि विगतको तुलनामा यसबाट हुने मृत्युदर बढ्दो छ ।  रेबिजको लक्षण देखिएपछि शतप्रतिशत बिरामीको मृत्यु हुने गर्छ । डा. पुनका अनुसार सामान्यतया लक्षण देखिएको पाँच–छ दिनमा बिरामीको मृत्यु हुन्छ ।” 

खोप नलगाउनुको कारण 

जनावरले घाउ नभएको छालामा चाट्दा रेबिजविरुद्धको खोप लगाउन नपर्ने डा. पुन बताउनुहुन्छ । यदि कुकुर, बिरालोलगायत अन्य जङ्गली जनावरले टोकेमा रेबिजविरुद्धको खोप लगाउन आवश्यक पर्ने डा. पुन बताउनुहुन्छ । खोप हुँदाहुँदै पनि हेलचेक्राई गर्दा धेरैले खोप नलगाउने उहाँको भनाइ छ । 

वृद्धवृद्धाले जनावरको टोकाइलाई हेलचेक्राई गर्दा, बालबालिकाले प्राय: आमाबुवाले गाली गर्ने डरले जनावरले टोकेको नभन्ने, घरमा पालेको जनावर त हो नि किन खोप लगाउनु पर्‍यो भनेर हेलचेक्राई गर्दा, खोप केन्द्र टाढा भएर, जनावरले टोकेमा टिटी विरुद्धको लगाए पुगिहाल्छ नि भनेर हेलचेक्र्याइँ गर्दा, सानो घाउ त हो नि भनेर हेलचेक्र्याइँ गर्दा धेरैले यो विरुद्धको खोप लगाउन छुट्टाउने गरेको डा. पुन बताउनुहुन्छ । 

जनावरले टोक्नसाथ हेलचेक्राई नगरी, यो विरुद्धको खोप लगाउन डा. पुनको सुझाव छ । सरकारले रेबिजविरुद्धको खोप स्वास्थ्य संस्थामा मार्फत निःशुल्क प्रदान गर्दैआएको छ । 

 रेबिज भएको कसरी थाहा पाउने 

पशु सेवा विभागका सूचना अधिकृत डा. सुधीरकुमार सिंहले रेबिज भएका जनावर अलग्गै र  अध्यारोपमा बस्न रुचाउने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “रेबिज भएका जनावर अलग्गै र  अध्यारोपमा बस्न रुचाउन, स्नायुसम्बन्धी समस्या देखिन्छ । पुच्छर पेट तल लुकाउने, जे पनि टोक्ने, र्‍याल बगाउने, आफ्नो मालिकलाई नचिन्ने, कराउनेजस्ता लक्षण देखाउने गर्छ ।” हरेक वर्ष ३० हजार पशुलाई रेबिजविरुद्धको खोप लगाउने गरेको सिंहले जानकारी दिनुभयो । 

बच्ने उपाय  

रेबिज हुनबाट बच्नका लागि चिकित्सकले विभिन्न सुझाव दिएका छन् । शङ्कास्पद कुकुर र जङ्गली जनावरले टोकेको घाउलाई १० देखि १५ मिनेट साबुन पानीले सफा गर्न डा. पुनको सुझाव छ । शङ्कास्पद जनावरले टोकेमा तुरुन्त रेबिजविरुद्ध खोप लगाउन उहाँको सुझाव छ । घरपालुवा कुकुरलाई वर्षमा एक पटक अनिवार्य रेबिजविरुद्ध खोप लगाउन डा. पुनले सुझाव दिनुभयो । 

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।