हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), कात्तिक ७ गते । गत भदौ महिनामा उपल्लो मुस्ताङको लो–घेकर दामोदर कुण्ड गाउँपालिकाको बस्ती नजिकै एउटा बैंस हिउँ चितुवा भेटियो । गत वैशाख महिनामा वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५,धार्काजुङ गाउँमा गोठमै च्याङ्ग्रा मार्यो । गत वर्ष वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३, छुसाङको समरमा खोरबाट हिउँ चितुवालाई उद्धार गरी सुरक्षित बासस्थानको रूपमा लोमान्थाङ गाउँपालिका–५,थर्लुङ फाँटमा छोडियो ।
आहाराको खोजीमा समर गाउँमा आएको हिउँ चितुवालाई नेपालमै पहिलोपटक खोरमा ट्याप गरी नियन्त्रणमा लिएको थियो । हिउँ चितुवा भेटिएको समर र थर्लुङ फाँटमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), इलाका संरक्षण कार्यालय लोमान्थाङले दुर्लभ हिउँ चितुवाको बसस्थान, आनीबानी र उपस्थितिबारे बुझ्न १५ वटा क्यामेरा जडान गरिएको थियो । मुस्ताङमा हरेक वर्ष हिउँ चितुवाले गोठ तथा बस्तीमा पालिएका पशूचौपायालाई आहारा बनाउने गरेको छ ।
तल्लो र उपल्लो मुस्ताङमा मानव–हिउँ चितुवा द्वन्द्वलाई कम गर्न तथा घर पालुवा जनावरमाथिको आक्रमण रोक्न नियमित क्यामेराबाट बासस्थानको पहिचान गरी आहाराको संरक्षणमा केन्द्रित हुने गरेको छ । एक्याप इलाका संरक्षण कार्यालय लोमान्थाङका प्रमुख उमेश पौडेलले बताउनुभयो । प्रमुख पौडेलले भन्नुभयो, ‘‘हिउँ चितुवा भेटिएको क्षेत्रमा थप संरक्षणका कार्यहरू गर्ने गरेका छौ,आहाराको खोजीमा मानब बस्तीसम्म आउँदा हुने नोक्सानीको समेत कृषकलाई क्षर्तीपूर्ति दिन्छौ ।’’
एक्याप लोमान्थाङ प्रमुख पौडेलका अनुसार गत आर्थिक वर्षका हिउँ चितुवा तथा अन्य बन्यजन्तुले पशुचौपायामा पुर्याएको क्षतिबापत १४ लाख नगद वितरण गरिएकोमा बाँकी रहेको २६ लाख रुपियाँ कात्तिक महिनाको दोस्रो सातादेखि नै वितरण गरिने छ ।
पोथीबाट अलग भएर भालेको आक्रमणबाट जोगिन बयस्क हिउँ चितुवा भौतारिँदै बस्ती आसपासमा आउने र पशुचौपायालाई आक्रमणको मौका छोपेर केहीदिन आसपासकै क्षेत्रमा बस्ने गर्दछ । भाले चितुवाको बच्चा पनि आक्रमक नै हुन्छ ।
सामान्य गोठमा राखिएका पशुचौपायालाई सजिलै आक्रमण गर्ने पोथी नभई भाले हिउँ चितुवा नै धेरै भएको एक्यापको विभिन्न अध्ययनबाट देखिएको छ । पोथी हिमचितुवा धेरै हिँड्डुल नगर्ने, पुरुष जाति भने लामो दूरीसम्म पुग्न सक्ने भएकाले पनि हिउँ चितुवा र पशुबिचको द्वन्द्व बढ्दै जान थालेको छ ।
‘हिउँ चितुवाको बासस्थान अर्थात ‘कोर एरिया’मा आहाराको कमी भएपछि खोज्दै बस्ती आसपासका क्षेत्रमा देखिने भएकाले बासस्थानको सुरक्षा र प्रयाप्त आहारा नै प्रमुख चुनौती रहेको एक्यापले जनाएको छ । मानिसको नजरमा बिरलै देखिने हिउँ चितुवा चरन क्षेत्रमा आफ्नो मुख्य आहारा नाउर र हिमाली फ्याउ मुसा भए पनि झारल, घोरल, जङ्गली कुकुरका साथै बस्ती र चरन क्षेत्रमा रहेका चौरी, याक लगायत अन्य पशुचौपायाको खोजीमा भौतारिँदै बस्ती आसपासमा आउँछ ।
मुस्ताङमा हालसम्म हिमचितुवाको एकीन तथ्याङ्क सङ्कलन भएको छैन । मुस्ताङमा हिमचितुवाले लोमान्थाङ, लोघेकर दामोदरकुण्ड, वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ क्षेत्रको उच्च भेगमा हिउँ चितुवाको बासस्थान रहेको छ । इलाका कार्यालय जोमसोम र लोमान्थाङले हरेक वर्ष हिउँ चितुवाबाट पशुचौपायामा भएको क्षतिको विवरण सङ्कलन गरी राहत प्रदान गर्ने गरेको छ । हिउँ चितुवाले क्षति पुर्याएपछि स्थानीयको निवेदनपछि स्थलगत निरीक्षणपछि मात्रै उपलब्ध गराउने गरिएको एक्याप जोमसोमका प्रमुख राजेश गुप्ताले बताउनुभयो ।
एक्यापले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा ३३ ‘क’ले दिएको अधिकार प्रयोग गरी वन्यजन्तु क्षति निर्देशिकाका आधारमा प्रहरी, संरक्षण व्यवस्थापन समिति र पशु भेटेरिनरी अस्पतालका पशु चिकित्सक लगाएको उपस्थिति क्षति लागत अनुमान गरी राहत वितरण गर्ने गरिन्छ ।

क्यामेराबाट हुन्छ हिउँ चितुवाको खोजी
एक्याप इलाका कार्यालय लोमान्थाङले हाल उत्तर र दक्षिण क्षेत्रमा चार वटा क्यामेराबाट हिउँ चितुवाको अध्ययन गरिरहेको छ । लोमान्थाङ गाउँपालिका क्षेत्रमा धेरे हिउँ चितुवा भेटिने सर्वसाधरणको भनाइ पछि अहिले आधुनिक क्यामेरा जडान गरिएको छ ।
उक्त क्यामेराबाट केही नतिजा आएमा हिउँ चितुवाको बासस्थानलाई सुरक्षित गर्न आवश्यक थप तयारी समेत एक्यापले गरेको छ । यसवर्ष इलाका कार्यालय जोमसोमले तल्लो मुस्ताङमा हिउँ चितुवा र पहाडी भेगमा पाइने चितुवाको बासस्थनको अध्ययन गर्न थासाङ, घरपझोङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको उच्चलेक, खर्क तथा बनजङ्गलमा हिउँ चितुवा, चितुवा र आहारा प्रजातिको क्यामेरा जडान गरी अध्ययन गरेको थियो ।
मुक्तिनाथ, झोङ, लुप्रा, छुसाङ, समर, तेताङ, बाजुङ, जोमसोम लेक, मार्फा बतासे लेंकका साथै छिमेकी जिल्ला म्याग्दीसँग सिमाना जोडिएको घाँसाको उच्च हिमाली क्षेत्रमा पाँच–पाँच किलोमिटरको दूरीमा क्यामेराबाट सङ्कलन भएको विवरणपछि थप योजना बनाएर चितुवा र आहाराको संरक्षण गर्ने एक्यापले जनाएको छ । एक्यापले बासस्थान आसपासका क्षेत्रमा पाँच–पाँच बर्गमिटरको दूरीमा ४४ ग्रीडहरू बिछ्याउने गरेको र एक ग्रीडमा दुई वटा क्यामेरा हुने एक्याप जोमसोम प्राकृतिक स्रोत संरक्षण सहायक दिपक ओलीले बताउनुभयो ।
यसवर्ष एक्यापले मनाङ जिल्लामा हिउँ चितुवाको अध्ययनका लागि छिमेकी जिल्ला मनाङमा १ सय ८ क्यामेरा जडान गरेको छ । लजालु स्वाभाव हिउँचितुवाको समुद्री सतहको ३५ सय मिटरदेखि ५५ सय मिटरको अग्लो उचाईमा मुख्य बासस्थान मानिन्छ । नेपालसहित विश्वका १२ देशमा मात्र पाइने हिउँ चितुवालाई स्वच्छ हिमाली पर्यावरणको सूचक मानिन्छ । हरेक वर्ष अक्टुवर २३ मा अन्तर्राष्ट्रिय हिउँ चितुवा दिवस मनाउने गरिन्छ ।