काठमाडौँ, असोज २ गते । व्यस्त जीवनशैलीका कारणले मानिसमा तनाव बढ्दो छ । कामको दबाब, आर्थिक समस्या, पारिवारिक विवाद तथा सामाजिक प्रतिस्पर्धाका कारणले तनाव बढ्दै गएको मनोचिकित्सक बताउँछन् ।
वरिष्ठ मनोचिकित्सक डा. वासुदेव कार्कीका अनुसार तनाव कुनै पनि कारणले व्यक्तिको मनमा पार्ने नकारात्मक असर हो । यसले गर्दा मानिसको सोचाइ, भावना र व्यवहारमा परिवर्तन ल्याउने अवस्था तनावको भन्ने गरिन्छ । तनाव जुनसुकै उमेर समूहका मानिसमा हुने गर्छ ।
तनावको समयमा व्यवस्थापन गर्न नसक्दा मानसिक तथा शारीरिक रूपमा गम्भीर असर पुर्याउने डा. कार्कीको भनाइ छ । उहाँका अनुसार तनावले १६ सेकेन्डभित्र शरीरले प्रतिक्रिया देखाउने गर्छ । तनावले टाउको, पेट दुख्ने, अनिन्द्रा थकान महसुस हुने, धड्कन बढ्नेजस्ता शारीरिक स्वास्थ्य समस्या निम्त्याउँछ । त्यसैगरी, मानसिक रूपमा चिन्ता, उदासी, चिडचिडापन, ध्यान केन्द्रित गर्न गाह्रो हुने, निन्द्रा नलाग्नेजस्ता समस्या निम्तिने गर्छ।
उहाँ भन्नुहुन्छ, “तनाव शरीरको स्वाभाविक प्रतिक्रिया हो । तनाव लामो समयसम्म रह्यो भने शारीरिक तथा मानसिक रूपमा गम्भीर समस्या निम्त्याउने गर्छ । यसले अनिन्द्रा, उच्च रक्तचाप, मुटु रोग, मधुमेह र डिप्रेसनको खतरा बढाउँछ ।”
उहाँका अनुसार तनाव सकारात्मक र नकारात्मका गरी दुई प्रकारका हुन्छन् । तनाव बढ्दै गएपछि एन्जाइटि, डिप्रेसन, ध्यान केन्द्रित गर्न नसक्ने जस्ता दीर्घ मानसिक स्वास्थ्य समस्या निम्तन्छ । टाउको दुख्ने, शरीर झमझम गर्ने, सोच्न नसक्ने, निन्द्रा नलाग्नेजस्ता स्वास्थ्य समस्या निम्तिने उहाँ बताउनुहुन्छ ।
लामो समयसम्म तनाव व्यवस्थापन गर्न नसक्दा दीर्घ स्वास्थ्य समस्या निम्तिने गर्छन् । तनावको कारणले दैनिकी, जीवनशैली वा सम्बन्धमा असर गर्यो भने मनोचिकित्सकसँग परामर्श गर्न उहाँको सुझाव छ ।
व्यायाम, ध्यान, सन्तुलित खानपान र पर्याप्त निन्द्रा र नजिकका मानिससँग कुराकानी गर्नाले तनाव व्यवस्थापन गर्न सकिन्छ । पछिल्लो समय मानिसमा बढ्दैगएको तनावको विषयमा केन्द्रित भई मानसिक अस्पतालका वरिष्ठ मनोचिकित्सक डा. वासुदेव कार्कीसँग गरिएको भिडियो संवाद :
भिडियो : मनोजरत्न शाही र केशव गुरुङ