काठमाडौं, असोज १५ गते । स्वास्थ्यका हिसाबले मासु महत्वपूर्ण पोषणको स्रोत मानिन्छ । पोषणविद् प्राडा. उमा कोइरालाले मासुमा उच्च गुणस्तरको प्रोटिन पाइने बताउनुहुन्छ ।
मासुमा पाइने प्रोटिन, भिटामिन र खनिज प्रदार्थले शरीरमा शक्ति र उर्जा प्रदान गर्ने उहाँको भनाइ छ । उहाँका अनुसार शरीरको सामान्य विकासदेखि दैनिक कार्य गर्नको लागि मासुमा पाइने पोषण तत्व आवश्यक पर्छ ।
उहाँ भन्नुहुन्छ, “मासुमा पाइने पोषणतत्वले शरीरमा शक्ति र उर्जा प्रदान गर्नुका साथै मांसपेशीको विकास, कोषिकाको मर्मत तथा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न सहयोग गर्छ ।” मासुबाट प्रोटिन बाहेक भिटामिन, ओमेगा फ्याटी एसिड, जिंक आइरनजस्ता पोषण तत्व प्रशस्त मात्रामा पाइने हुँदा स्नायु प्राणली, मस्तिष्क स्वास्थ्य र हड्डी बलियो बनाउन मद्दत गर्छ ।
शरीरलाई प्रोटिनका अलाव कारबोहाइड्रेड, भिटामिन, प्रोटिन, मिनिरल लगायतका तत्वको आवश्यक पर्ने हुँदा मासु खाँदा सन्तुलन मिलाएर खान डा. कोइरालाको सुझाव छ ।
उहाँ भन्नुहुन्छ, “मासु मात्र खाँदा स्वास्थ्यमा नकारात्मक असर पर्नसक्छ । त्यसैले, मासुका साथमा हरियो सागपात, फलफूल, गाजर, काक्रो, मुलाको, सलाद समावेश गर्दा शरीरलाई आवश्यक पर्ने सही पोषण तत्व प्राप्त गर्न सकिन्छ ।”
पकाएर लामो सयमसम्म फ्रिजमा राखेर मासु नखान उहाँको आग्रह छ । उहाँ भन्नुहुन्छ, “ मासु पकाएर धेरै दिनसम्म राख्द ब्याक्टेरिया बढ्ने सम्भावना हुने हुँदा मासु खाँदा जटिल स्वास्थ्य समस्या निम्तिने गर्छन् । त्यसैले लामो समयसम्म राखेर मासु नखानुनै उपयुक्त मानिन्छ । ”
पोलेको, काचो मासु सकेसम्म नखान उहाँको अनुरोध छ । उहाँ भन्नुहुन्छ, “पोलेको मासुमा विभिन्न किसिमका क्यान्सर बनाउने तत्व हुन्छ । काचो, पोलेको मासु खानुभन्दा मासु राम्रोसँग पकाएर रस राखेर खानु स्वास्थ्यका हिसाबले फाइदा पुग्छ ।”
श्वासप्रश्वासको समस्या भएकाले दशैँमा अत्यधिक चिल्लो पिरो, पोलेको भुटेको मासु नखान छातीरोग विशेषज्ञ डा. रवी महतको सुझाव छ । प्रशोधित खानेकुरा, तारेको भुटेको खानेकुरा, कोक, फेन्टाजस्ता चिसो पेय प्रदार्थ पिउनाले स्वास्थ्यमा नकारात्म असर पर्ने भन्दै यस्ता खानेकुरा नखान उहाँको आग्रह गर्नुभयो । मादकपदार्थ र सोडाजन्य पेयपदार्थ सट्टा कागतीको सर्बत, फलफूलको रस बनाएर पिउन उहाँको सुझाव छ ।
वरिष्ठ मुटु र तथा फोक्सो शल्यचिकित्सक डा. किरण श्रेष्ठले सुगर, प्रेसर, कोलेस्ट्रोल, कलेजो, मुटु रोग भएका दीर्घा रोगीले मासु खाँदा विचार पु¥याएर खान आग्रह गर्नुभयो । चिल्लो कम भएको मासु खान उहाँको सुझाव छ । उहाँ भन्नुहुन्छ, “सकेसम्म मासु कम खाने, यदि खानै परेमा ताजा, चिल्लो कम भएको मासु थोरै मात्र खाने । प्रशस्त मात्रामा तरकारी, फलफुलको मात्रा सेवन गर्नुहोस ।”