चन्द्र पन्दाक
ताप्लेजुङ, कात्तिक ६ गते । तिहार (बलिहाङ तङ्नाम) को अवसरमा ताप्लेजुङका लिम्बू समुदायले च्याब्रुङ नाच नाचेर देउसीभैलो खेलिरहेका छन् । तिहार पर्वलाई मनोरञ्जनपूर्ण बनाउने र आफ्नो मौलिक संस्कृतिको संरक्षण साथै प्रवर्धन गर्ने उद्देश्यससहित यहाँका लिम्बू समुदायले च्याब्रुङ नाच (केःलाङ) नाचेर देउसीभैलो खेलेका हुन् ।
सदरमुकाम फुङ्लिङसहित गाउँबस्तीहरूमा लिम्बू समुदायले तिहारको अवसरमा च्याब्रुङ नाचेर देउसीभैलो खेलिरहेका छन् । गाउँ तथा सहरमा रहेका क्लब र समूहहरूले च्याब्रुङ बाजा र झ्याम्टा बजाउँदै छुट्टै अर्थात मौलिक शैलीमा च्याब्रुङ नाच प्रदर्शन गरी देउसी भैलो खेल्ने गरिएको छ ।
लिम्बू समुदायका युवा पुस्ताका पुरुष र महिलाले शैली र लय मिलाएर च्याब्रुङ नाच्छन् । च्याब्रुङ नाचसँगै लिम्बूभाषामा सांस्कृतिक तथा मौलिक गीत गाउने गरिन्छ । यसरी लिम्बू समुदायको मौलिक संस्कृतिमा आधारित च्याब्रुङ नाच प्रदर्शन गर्दै देउसीभैलो खेल्नाले ताप्लेजुङसहित पूर्वमा तिहारको छुट्टै रौनकता थपिने गरेको छ ।
तिहारको अवसरमा च्याब्रुङ नाचेर देउसीभैलो खेल्दा दोहोरो फाइदा हुने याक्थुङ चुम्लुङ नेपाल, ताप्लेजुङकी अध्यक्ष हाङ्माया लिम्बूले बताउनुभयो । अध्यक्ष लिम्बूका अनुसार च्याब्रुङ नाचसहितको देउसीभैलोबाट आर्थिक सङ्कलन हुने र संस्कृति संरक्षणमा टेवा पुग्ने छ । संस्कृति संरक्षण र सामाजिक काममा खर्च गर्नेगरी च्याब्रुङ नाचेर देउसीभैलो खेलिएको क्लबहरूले जनाएका छन् ।
यता तिहारमा च्याब्रुङ नाचसहित खेलिएको देउसीभैलोप्रति सबैको समर्थन रहेको लिम्बूजन्य जातीय संस्थाहरूले जनाएका छन् । पछिल्लो समय लिम्बू मात्र नभई अन्य जाति तथा समुदायका युवा समेत चाडपर्व र उत्सवहरूमा नाचिने च्याब्रुङ नाचमा सहभागी भएर रमाउने गरेका छन् ।
विशेषगरी लिम्बू समुदायले वैवाहिक कार्य, चासोक तङ्नाम (न्वागी पर्व) लगायतको मौलिक कार्जेहरूमा च्याब्रुङ नाच (केःलाङ) प्रदर्शन गर्ने गर्छन् । पछिल्ला पुस्ताले संरक्षण र प्रवर्धनमा चासो नदिँदा कतिपय परम्परागत संस्कार संस्कृतिहरू सङ्कटमा पर्दै गएको बेला च्याब्रुङ नाचप्रति भने नयाँ पुस्ताको आकर्षण क्रमशः बढ्दै गएको पाइएको छ ।