रामकृष्ण बोहरा
बागलुङ, कात्तिक ७ गते । विकासे योजनामा बजेट पारिदिएको भन्दै संघ र प्रदेश सांसदले सामाजिक सञ्जालमा पोष्ट्याएर जस लिने होडबाजी गर्छन् र जनताको बधाई समेत खान भ्याउँछन् । तर ती योजना कार्यान्वयनको अवस्था र विनियोजित बजेट सदुपयोग भए–नभएबारे बेवास्ता गर्दा गत आर्थिक वर्षमा झण्डै डेढ अर्ब बजेट फ्रिज भयो ।
जिल्ला तहमा वर्षको एक पटक हुने विकास निर्माणको वार्षिक समीक्षा बैठकमा समेत सांसद उपस्थित हुँदैनन् । सांसदहरुले कुन योजना सञ्चालनमा आयो, कुन सञ्चालन भएन भन्ने हेक्का नराख्दा वर्षेनी करोडौंका योजना अलपत्र पर्ने गरेका छन् । सरोकारवाला सांसदले चासो नलिएपछि जिल्ला समन्वय समितिमार्फत गरिएका अनुगमनले भने बिग्रन लागेका पूर्वाधार निर्माणका काम भने सुधार आएको छ ।
‘‘म समेत रहेको अनुगमन समितिका सांसदले एकपटक पनि योजनाहरुको अनुगमन नहुँदा कतिपय योजनाको वास्तविकता थाहा नै पाउन सकिएको छैन’’ जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर बहादुर थापाले भन्नुभयो, ‘‘के प्रयोजनका लागि अनुगमन समिति बनेको हो भन्ने समेत जनप्रतिनिधिलाई बुझाउन सकिएन ।’’ अनुगमन समिति सक्रिय नहुँदा धेरै योजनाहरुको गुणस्तर परीक्षणमा समेत असर परेको थापाको भनाइ छ ।
जिल्ला समन्वयले आयोजना गरेको तीन दिने वार्षिक समीक्षामा जिल्लाको प्रतिनिधित्व गर्ने तीन जना सङ्घीय सांसद र ११ जना प्रदेश सांसदमध्ये गण्डकी प्रदेशका सांसद दिपेन्द्र बहादुर थापामात्रै तीन दिन उपस्थित हुनुभएको थियो । सङ्घीय सांसद देवेन्द्र पौडेल, प्रदेश सांसदद्वय डिल्लीराम सुवेदी र कुशुम बुढा मगर उद्घाटन कार्यक्रममा मात्रै सहभागी भएको समन्वय प्रमुख थापाले बताउनुभयो । कार्यक्रममा अनुपस्थित सांसद र स्थानीय तहका प्रमुखले समीक्षाबारे बुझ्ने प्रयास समेत नगरेको थापाको गुनासो थियो ।
जिल्लाभित्र ६ वटा गैरसरकारी संस्थाले पनि विकास निर्माण, सामाजिक विकास तथा अन्य क्षेत्रमा काम गरेको प्रतिवेदन बुझाएका छन् । उनीहरुले कृषि, जलवायु परिवर्तन, स्वास्थ्य र पर्यटनको क्षेत्रमा काम गरेका हुन् । स्थानीय तहले भने प्रगती प्रतिवेदनसँगै प्रस्तावित रकम अनुसार विकास प्राप्त गर्न नसकेको र त्यसका लागि दक्ष जनशक्ती अभाव समेत देखाएका छन् । त्यस्तै बसाइ सराई, सडकका कारण बाढी पहिरो निम्तेको, अख्तियारी अनुसारको बजेट पाउन नसक्नु जस्ता समस्या देखाएका छन् ।
जनप्रतिनिधिकै बेवास्ताले जिल्लाका लागि विनियोजित एक अर्ब ३३ करोड ८० लाखभन्दा बढि बजेट खर्च हुन नसकेर फिर्ता भएको छ । संघ र प्रदेश सरकारबाट प्राप्त १२ अर्ब ४७ करोड ८५ लाख बजेट प्राप्त भएको हो ।
आर्थिक वर्ष २०८१/०८२ मा संघबाट प्राप्त १० अर्ब २८ करोड ६१ लाख २६ हजारमध्ये नौ अर्ब २७ करोड ९३ लाख २७ हजार खर्च हुँदा एक अर्ब ६७ लाख ७८ हजार फिर्ता भएको छ भने प्रदेशबाट जिल्लालाई दुई अर्ब १९ करोड २४ लाख बजेट आएकोमा एक अर्ब ९६ करोड १२ लाख १५ हजार खर्च भई ३३ करोड १२ लाख रुपियाँ फिर्ता भएको छ ।