• ७ कात्तिक २०८२, शुक्रबार

सप्तरीमा प्लास्टिकको फूलमाला खुलेआम बिक्री, प्रशासन मौन

blog

राजविराज बजारमा प्रतिबन्ध लगाइएको प्लास्टिकजन्य फूलमाला खुलेआम बिक्री हुँदै । तस्बिर : सुधा देव

सुधा देव
भारदह(सप्तरी), कात्तिक ७ गते ।
राजविराज बजारमा प्रतिबन्ध लगाइएको प्लास्टिकको फूल, माला खुलेयाम बिक्री भइरहदा समेत स्थानीय प्रशासन मौन रहेको छ ।

जिल्ला प्रशासन कार्यालय सप्तरीले तिहार अगाडि एक सूचना जारी गर्दै प्लास्टिकजन्य फूल माला प्रयोग नगर्न, बिक्रीवितरण नगर्न आग्रह गर्दै त्यसो गर्नेलाई कारबाही गर्ने भनिए पनि खुलेआम बिक्री हुँदा समेत प्रशासन मौन रहेको स्थानीयले बताए ।

यसपालि मखमलि र सयपत्रीको फूल बजारमा विगत वर्षको तुलनामा मागभन्दा न्यून भित्रिएकाले मूल्य आकाशिएपछि निषेधित भनिएको प्लास्टिकका फूलमाला किन्न बाध्य भएको राजविराज नगरपालिका १५ का शान्ति देवी साहले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘यसपालि तिहारमा घरका सबै सदस्यले प्लास्टिकको माला दाजुभाइलाई लगाएर तिहार मनायौं ।’’ आउन लागेको छठ पूजामा समेत सजावट प्रयोजनका लागि पनि प्लास्टिकको माला प्रयोग गर्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘प्लास्टिकको फूल माला सस्तो भएकाले किन्न सहज छ । फूलको माला गत वर्ष बजारमा ५० रूपियाँदेखि ७० रूपियाँ प्रतिगोटा किने पनि यसपालि एक सय ५० रूपियाँ प्रति गोटा दोब्बर मूल्यमा बिक्री हुँदै आएको छ ।’’

प्लास्टिकजन्य फूल, मालालगायत सामग्री बिक्री वितरण नगर्न भनि सूचना निकालेपछि प्लास्टिकको फूल माला बेच्न र प्रयोग गर्न हुँदैन भन्ने विषयमा स्थानीय उपभोक्ता सचेत भएको जिल्ला प्रशासन कार्यक्रम सप्तरीका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘फूलको अभाव र महँगीका कारण सामान्य रूपमा बिक्री भइरहेको जानकारीमा आए पनि कारबाही गरिहाल्नुभन्दा पनि यसको न्यूनीकरणका लागि समय समयमा सचेत गर्न आवश्यक छ ।’’

उहाँले भन्नुभयो, ‘‘सूचना प्रकाशित गरेपछि व्यापारी मात्र नभएर सर्वसाधारण सचेत हुनु उपलब्धि हो ।’’