• ११ असोज २०८१, शुक्रबार

महिला राजनीतिज्ञको समाचार 'कभरेज'मा गोरखापत्र सबैभन्दा अगाडि

blog

मिडिया एड्भोकेसी ग्रुप (म्याग) द्वारा बिहीबार काठमाडौँमा आयोजना गरिएको ‘महिला पत्रकारका लागि राजनीतिक रिपोर्टिङ’ विषयक प्रशिक्षणात्मक तथा अन्तरक्रिया कार्यक्रम ।

काठमाडौँ, असोज १० गते। एक पछिल्लो सर्वेक्षण अनुसार महिला राजनीतिज्ञको समाचार 'कभरेज'मध्ये गोरखापत्र दैनिक सबैभन्दा अगाडि देखिएको छ। 

मिडिया एड्भोकेसी ग्रुप (म्याग) द्वारा बिहीबार काठमाडौँमा आयोजना गरिएको ‘महिला पत्रकारका लागि राजनीतिक रिपोर्टिङ’ विषयक प्रशिक्षणात्मक तथा अन्तरक्रिया कार्यक्रममा म्यागका अध्यक्ष अनिता बिन्दुले सो सर्वेक्षण प्रस्तुत गर्नुभएको हो। 

जनवरी २०२३ देखि मार्च २०२३ सम्म गरिएको एक मिडिया अध्ययन अनुसार कुल प्रकाशित राजनीतिक सामग्री तीन हजार १७६ मध्ये महिला राजनीतिज्ञको १९२ वटा अर्थात् ६.०४ प्रतिशत समाचार 'कभरेज' भएको थियो।    

राष्ट्रिय दैनिकमध्ये कान्तिपुर दैनिकमा ११.५ प्रतिशत, अन्नपूर्ण पोष्टमा १२.५, नयाँ पत्रिकामा ८.३, दि काठमाडौँ पोष्टमा ११.५, दि हिमालयन टाइम्समा ६.८, माइ रिपब्लिकामा ५.७, दि राइजिङ नेपालमा १७.७ र गोरखापत्र दैनिकमा २५.५ प्रतिशत महिला राजनीतिज्ञको समाचार 'कभरेज' भएको तथ्याङ्क छ।  

उक्त अध्ययन अनुसार पेजका आधारमा फ्रन्ट पेजमा ५१ प्रतिशत, भित्री पृष्ठमा ४१ प्रतिशत, सम्पादकीय र विचार पृष्ठमा ४/४ प्रतिशत मात्रै समाचार 'कभरेज' भएको छ।  

महिला राजनीतिज्ञको समाचार लख्नेमा महिला पत्रकारको सङ्ख्या बढी ६१ प्रतिशत र पुरुष पत्रकार ३० प्रतिशत रहेका छन्।  जसमा महिला राजनीतिज्ञको समाचार लेख्ने ९ प्रतिशत भने खुलाइएको छैन।  

अध्यक्ष बिन्दुले नेपालको राजनीतिको महत्त्वपूर्ण निर्णयमा पुरुष राजनीतिकर्मीको मात्रै सहभागिता एवम् भूमिका रहने गरेको बताउनुभयो।  यस्तै पुरुष राजनीतिज्ञलाई समग्र समसामयिक विषयमा प्रश्न गरिने तर महिलालाई प्रायजसो महिलाका मुद्दामा मात्रै प्रश्नहरू गरिने पाइएको उहाँको भनाइ छ। 

यसअघि जुलाई २०२१ देखि डिसेम्बर २०२१ सम्म गरिएको मिडिया अध्ययनले महिला राजनीतिज्ञको समाचार कभरेज ५.८४ प्रतिशत भएको तथ्याङ्क देखाएको थियो। 

कार्यक्रममा पत्रकार डा. महेन्द्र विष्टले प्रशिक्षण दिनुभएको थियो भने म्यागका कार्यकारी निर्देशक बबिता बस्नेतले सहजीकरण गर्नुभयो।   

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।