• ११ असोज २०८१, शुक्रबार

क्यान्सर रोगको उपचार अन्तर्राष्ट्रियस्तरमा स्तरोन्नति गर्नुपर्छ : राष्ट्रपति पौडेल

blog

राष्ट्रपति रामचन्द्र पौडेल भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको बिहीबार आयोजित २५ औँ वार्षिकोत्सव तथा २० औँ राष्ट्रिय क्यान्सर सतर्कता दिवस समारोहलाई सम्बोधन गर्नुहुँदै । तस्बिर : राष्ट्रपतिको सचिवालय

वसन्त पराजुली
नारायणगढ, असोज १० गते  ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा क्यान्सर रोगको उपचार अन्तर्राष्ट्रियस्तरमा स्तरोन्नति गर्न नेपाल सरकारलाई आग्रह गर्नुभएको छ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको २५ औं वार्षिकोत्सव तथा २० औं राष्ट्रिय क्यान्सर सतर्कता दिवसका अवसरमा बिहीबार भरतपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले क्यान्सर रोगको उपचार, रोकथाम तथा नियन्त्रण र अध्ययन अनुसन्धानमा आवश्यक जनशक्ति उत्पादन गर्न आवश्यक रहेको बताउनुभयो ।

राष्ट्रपति पौडेलले भन्नुभयो, “अस्पतालको सेवालाई चुस्तदुरुस्त र अन्तर्राष्ट्रियस्तरमा स्तरोन्नति गर्न नेपाल सरकारलाई विषेश ध्यान पु र्‍य ाउनु आग्रह गर्दछु ।” उहाँले स्वास्थसम्बन्धी पूर्वाधारको विकासमा पनि जोड दिनुभयो ।

“स्वास्थ्य सेवालाई संविधानले मौलिक हकका रुपमा प्रत्याभूत गरेको छ । यसलाई कार्यान्वयन गर्न गरिब तथा निमुखा जनतालाई केन्द्रमा राखेर स्वास्थ्य सेवा प्रदान गर्नु स्वास्थ्य सेवा प्रदायक संस्थाहरूको जिम्मेवारी र दायित्व हो ।,” उहाँले भन्नुभयो, “दक्ष जनशक्ति, अत्याधुनिक उपकरण, सहज एवम् प्रभावकारी नवीनतम प्रविधिका माध्यमबाट बिरामीलाई गुणस्तरीय र उत्कृष्ट सेवा प्रदान गर्नेतर्फ सरकार र निजी क्षेत्रले ध्यान दिने मैले विश्वास लिएको छु ।”


प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला क्यान्सर रोगबाट ग्रसित भई विदेश गएर उपचार गर्नुपरेकाले नेपालीहरूले नेपालमै यस रोगको उपचार गर्ने सुविधासम्पन्न क्यान्सर अस्पतालको परिकल्पना गर्नुभएको स्मरण गर्नुहुँदै राष्ट्रपति पौडेलले २०४९ सालमा तत्कालीन सरकारले लिएको विकेन्द्रीकरणको नीतिलाई कार्यान्वयन गर्ने एक उत्कृष्ट उदाहरणका रुपमा यो क्यान्सर अस्पताल निर्माण भएको जानकारी दिनुभयो ।

राष्ट्रपति पौडेलले राष्ट्रियस्तरको यो अस्पताल हाल क्यान्सरका बिरामीहरुको सेवामा मात्र सीमित नभई अध्ययन, अनुसन्धान र प्रशिक्षणमा अगाडि बढेको जानकारी पाउँदा आफूलाई खुशी लागेको बताउनुभयो । उहाँले क्यान्सरको उपचारमा नयाँ प्रविधि भित्र्याई बिरामीको उपचारमा विशिष्टता अभिवृद्धिमा ध्यान दिन पनि सुझाव दिनुभयो । उहाँले स्वास्थ्यसम्बन्धी पूर्वाधार र प्रविधिसँगै चितवन स्वास्थ्य सेवाको केन्द्र (हब) का रुपमा विकास हुनु लागेकोमा खुसी व्यक्त गर्नुहुँदै यसबाट उपचारका लागि राजधानी नै धाउनुपर्ने अवस्थाको अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो ।