• १० असार २०८२, मङ्गलबार

विपतका बेला उच्च सतर्कता अपनाउन मुख्यमन्त्रीको निर्देशन

blog

वर्षाजनित विपत् पूर्वानुमान तयारी अवस्था र सहजीकरण सम्बन्धी बैठक। तस्बिर : मुख्यमन्त्रीको सचिवालय

अविनाश चौधरी

धनगढी, असार १० गते। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विपतका बेला उच्च सतर्कता अपनाउन मातहतका निकायलाई निर्देशन दिनुभएको छ। 

वर्षाजनित विपत् पूर्वानुमान तयारी अवस्था र सहजीकरण सम्बन्धी मङ्गलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकमा उहाँले सुरक्षा निकायका प्रमुख तथा मातहतका निकायलाई उच्च सतर्कता अपनाउन निर्देशन दिनुभएको हो। विपतका भयावह स्थिति आउन नदिनका लागि वडास्तरबाटै जनप्रतिनिधिसँग समन्वय गर्नु आवश्यक रहेको मुख्यमन्त्रीको भनाइ थियो। उहाँले राहत तथा उद्धारका सामग्री तयारी अवस्थामा राख्न साझेदार संस्थालाई आग्रह गर्नु भएको छ। 

बैठकमा जिल्ला र सुरक्षा निकायका प्रमुखले विपत्ले चालु आर्थिक वर्षमा पारेको प्रभाव, भएको क्षति र अबको पूर्वतयारी अवस्थाका बारेमा जानकारी गराएका थिए। यसवर्ष सुदूरपश्चिममा सरदरभन्दा बढी वर्षा हुने र तापक्रम बढ्ने बताइएको छ। वर्षाबाट कैलाली, कञ्चनपुर, डोटी र अछाम बढी प्रभावित हुने बैठकमा जनाइएको थियो। यसैगरी, सरदरभन्दा बढी तापक्रमबाट अछाम र बाजुरा प्रभावित हुने बताइएको छ। 

बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री हीरासिंह सार्की, मन्त्रालयका सचिव, प्रमुख जिल्ला अधिकारीहरू, साझेदार निकायका प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको थियो।