काठमाडौँ, असार १० गते । राष्ट्रियसभा सदस्य एवं नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले डेङ्गी रोग नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ।
राष्ट्रियसभाको बैठकमा उहाँले स्वास्थ्य सेवा विभागका अनुसार २०८१ पुस १८ देखि हालसम्म एक हजार चार सय तीन जना डेङ्गी सङ्क्रमित भएका तथ्याङ्क प्रस्तुत गर्दै महामारीको सम्भावनालाई समय हुँदै नियन्त्रण गर्न माग गर्नुभएको हो।
सांसद् पौडेलले हरेक दिन एक दुई जना डेङ्गी सङ्क्रमित उपचारका लागि आउने गरेको र सङ्क्रमण ७३ जिल्लामा फैलिसकेको जानकारी गराउनुभयो। उहाँले भन्नुभयो, “२०८० मा देशभर झण्डै ५२ हजार भन्दा बढी डेङ्गी सङ्क्रमण पुष्टि भई २० जनाको मृत्यु समेत भएको थियो। २०७६।७७ मा महामारीकै रूप लिएको स्मरण गराउँदै पुनः महामारीको रूप लिन सक्ने सम्भावनालाई ध्यानमा राख्न माग गर्दछु।”
सांसद् पौडेलले तीनै तहका सरकारका अतिरिक्त स्थानीय स्वास्थ्य संस्था, टोल विकास समिति, विद्यार्थी, शिक्षक, राष्ट्रसेवक कर्मचारी, स्थानीय क्लब लगायत आम नागरिक समेतको सहभागितामा डेङ्गी नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाउन, जनस्वास्थ्य विभागद्वारा निगरानी र रोकथामका कार्यक्रम तीव्र बनाउन तथा सङ्क्रमितलाई सहज र सरल रूपले उपचारको व्यवस्था मिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो।
राष्ट्रियसभा सदस्य पौडेलले जलविद्युतमा दुई तिहाइभन्दा बढी निजी क्षेत्रको योगदान रहेको तथ्य प्रस्तुत गर्नुभयो । उहाँले भन्नुभयो, “तर बजेटको बुँदा नम्बर २२७ मा उल्लेखित ‘रन अफ रिगर’ आयोजनाको ‘टेक एन्ड पे’ अवधारणा अनुरुप विद्युत खरीद सम्झौता गरिने प्रावधानले निजी क्षेत्रलाई निकै हतोत्साहित बनाएको छ । तसर्थ, तत्कालै सुधार्न माग गर्दछु ।”
राष्ट्रियसभाको जेठ २३ गतेको बैठकमै उहाँले जलविद्युत आयोजनामा टेक एन्ड पे अवधारणा हटाउन माग गर्दै सरकार र अर्थमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो।