• १० असार २०८२, मङ्गलबार

विदेह नगरपालिकाको बजेट ५० करोड ५१ लाख

blog

विदेह नगरपालिको १० औं नगर सभामा सहभागीहरू । तस्बिरः धर्बेन्द्र झा

धर्बेन्द्र झा 

जनकपुरधाम, असार १० गते । धनुषाको विदेह नगरपालिकाले अगामी आर्थिक वर्ष २०८२–८३ का लागि जम्मा ५० करोड ५१ लाख ५२५ रुपियाँको बजेट प्रस्तुत भएको छ । 

विदेह नगरपालिका नगर प्रमुख बेचन दासको अध्यक्षतामा भएको सो नगरपालिको १० औं नगरसभाको उद्घाटनसत्रमा नगर उपप्रमुख आशादेवी झाले अगामी आर्थिक वर्ष २०८२–८३ का लागि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुभयो । 

प्रस्तुत बजेटमध्ये चालुतर्फ ३४ करोड ८४ लाख ८४ हजार ५२५ रुपियाँ र पुँजीगत तर्फ १५ करोड ६६ लाख १६ हजार रुपियाँ रहेको छ । नगरपालिकाले अगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटको स्रोत मध्ये आन्तरिक राजस्वबाट ४ करोड ५ लाख, राजस्व बाँडफाँटबाट १० करोड ९४ लाख १९ हजार ५२५ र अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट ३५ करोड ५१ लाख ८१ हजार रहेको छ ।

उक्त १० औँ नगरसभाको उद्घाटन गर्दै प्रमुख अतिथि एवम नेकपा (एमाले) का प्रदेशसभा सदस्य लखन दासले स्थानीय सरकारले किसानहरूको सहजताका लागि खरिद केन्द्रको स्थापना गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले किसानहरूले उत्पादन गरेका धान गहुँको साथै तरकारीको व्यवस्थित बजारीकरण नहुँदा किसानलाई समस्या भइरहेको भन्दै किसानले उत्पादन गरेका वस्तुलाई स्थानीयतहले खरिद गरी व्यवस्थितरूपमा बिक्री वितरण गर्नुपर्नेमा जोड दिनुभयो । 

उहाँले दलित, अल्पसङ्ख्यक र पिछडा समुदायका बालबालिका अझै पनि विद्यालय बाहिर रहेको चर्चा गर्दै तिनीहरूलाई विद्यालयमा टिकाइ राख्न प्रोत्साहन भत्ताको व्यवस्था गरिनुपर्नेमा जोड दिनुभयो । नगर सभाको अध्यक्षता गर्नुभएका नगरपालिका नगर प्रमुखले अगामी आर्थिक वर्षमा कृषि, शिक्षा र स्वास्थ्यको क्षेत्रलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।